आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बजेट नहुँदा महाकाली पुल निर्माण चार महिनादेखि ठप्प

बिहीबार , मंसिर १४ २०८०
बजेट नहुँदा महाकाली पुल निर्माण चार महिनादेखि ठप्प

२०८० चैतभित्र सबै काम सम्पन्न गर्नुपर्ने भए पनि बजेट अभावका कारण आयोजनाको काम पछि धकेलिँदै गएको छ। २०७४ भदौमा ठेक्का सम्झौता भएर काम सुरु भएको पुल निर्माणको भौतिक प्रगति ९२ प्रतिशत छ।

कञ्चनपुर- महेन्द्रनगरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण बजेट अभावले ठप्प भएको छ। पुल निर्माणका लागि पर्याप्त बजेट नआउँदा चार महिनादेखि पुल निर्माण बन्द भएको हो।

निर्माण कम्पनीले गत आर्थिक वर्षकै २२ करोड रूपैयाँभन्दा बढी रकम पाउन बाँकी छ। तर चालु आवमा पुल निर्माणका लागि १८ करोड रूपैयाँमात्रै बजेट आएको र यसले गत वर्षकै भुक्तानी गर्न नपुग्ने भएपछि पुल निर्माण बन्द भएको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका सब-इन्जिनियर दुर्गादत्त अवस्थीले जानकारी दिए। 'गतवर्ष पनि बजेट अभावकै कारण निर्माण व्यवसायीले भुक्तानी पाएका छैनन', अवस्थीले भने, 'चालु आवमा आएको बजेटले निर्माण व्यवसायीलाई तिर्न पुग्दैन।' 

अवस्थीले बजेट थपका लागि विभाग र मन्त्रालयमा माग गरेको बताए। 'बजेट आएन भने अहिले बनेका संरचनासमेत जीर्ण हुँदै जाने अवस्था आउँछ', उनले भने, 'निर्माण लम्बियो भने राज्यलाई आर्थिक भार पर्छ।'

पुल निर्माणको भौतिक प्रगति ९२ प्रतिशत भइसकेको छ। तर पुलसँगै बन्ने अन्य संरचनाका लागि पर्याप्त बजेट विनियोजन नहुँदा निर्माण व्यवसायीले काम गर्नसक्ने अवस्था नरहेको जनाएको छ। 

पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले काम गरेकै पैसा नै भुक्तानी नहुँदा थप काम गर्न समस्या भएको बताए। 'पुल निर्माण सम्पन्न भएर आवागमन भइरहेको छ पुलसँगै बन्ने पहुँचमार्ग र पुलको दुवैतर्फ पोखरी निर्माण सकिएको छैन', पाण्डेयले भने।

विसं २०७४ भदौमा ठेक्का सम्झौता भएर काम सुरु भएको पुल निर्माण २०७७ भदौमा सम्पन्न गर्ने भनिए पनि काम सम्पन्न नहुँदा म्याद थप गरिएको थियो। विसं २०८० चैतभित्र सबै काम सम्पन्न गर्नुपर्ने भए पनि बजेट अभावका कारण आयोजनाको कामपछि धकेलिँदै गएको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर १४ २०८००८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend