आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

धितोपत्र बोर्ड खुला बजार नीतिविपरित हिँड्न लागेकोमा हाइड्रोपावरका लगानीकर्ताको आपत्ति

आईपीओ र हकप्रद सेयर रोक्नु दुर्भाग्यपूर्ण भएको इप्पानको ठहर

शनिबार, मंसिर ९ २०८०
धितोपत्र बोर्ड खुला बजार नीतिविपरित हिँड्न लागेकोमा हाइड्रोपावरका लगानीकर्ताको आपत्ति

पुँजी बजारमा आउने सबै कम्पनीहरुलाई समानरुपमा एकै प्रकारको व्यवहार हुनुपर्नेमा हाइड्रोपावर कम्पनीका लागि मात्र कडा व्यवस्था गरी आईपीओ तथा हकप्रद सेयर निष्कासन गर्न रोक्न नहुने उर्जा उद्यमीहरुको माग रहेको छ।

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासन रोकेको विषयलाई लिएर जलविद्युत उद्यमीले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन्।

बोर्डले आईपीओ र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिन आलटाल गरेपछि ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री कार्यलयदेखि अर्थ मन्त्रालयसम्मको ध्यानाकर्षण गराउने तयारी गरेका हुन्। नेपाल धितोपत्र  बोर्ड खुला बजार नीति विपरित जान लागेको इप्पानका महासचिव बलराम खतिवडाले बताए।

कुनै कम्पनीबाट ऐन नियम विपरीत कार्य भएको भए त्यस्ता कम्पनीलाई आवश्यक सुपरिवेक्षण तथा छानबिन गरी कारबाही गर्नुपर्नेमा समग्र ऊर्जा क्षेत्रलाई नै बदनाम गराउने प्रयास भएको भन्दै बोर्डको पछिल्लो गतिविधिप्रति ऊर्जा उद्यमीहरुले असन्तुष्टि जनाएका छन्। 

केही कम्पनीका संस्थापकहरुले धितोपत्र बिक्री गरेको भन्ने आधारमा सम्पूर्ण कम्पनीलाई धितोपत्र निष्कासन गर्न रोक्न नहुने र यसो गरेमा यो क्षेत्र नै धरासायी भई अर्थतन्त्रमा नकारात्मक असर पर्ने महासचिव खतिवडाको भनाइ छ।

नेपाल धितोपत्र बोर्डबाट विगतमा सहजरुपमा धितोपत्र निष्कासन भइरहेको र हाइड्रोपावर कम्पनीहरुले सहजरुपमा निष्कासन अनुमति पाएपछि यस क्षेत्र उत्साहित भई धेरै कम्पनीहरु निष्कानका लागि निवेदन दिन थालेका थिए। तर हाल धितोपत्रको आपूर्ति बढी भएको भन्ने बहानामा धितोपत्रको सार्वजनिक तथा हकप्रद निष्कासनमा ढिलाइ गरेकोमा उद्यमीहरुको आपत्ति छ।

हाइड्रोपावर कम्पनीहरुले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको अवस्थामा यसको योगदानलाई कदर गरी आवश्यकता अनुसार धितोपत्र जारी गर्न दिनुपर्ने महासचिव खतिवडाले बताए।

पुँजी बजारमा आउने सबै कम्पनीहरुलाई समानरुपमा एकै प्रकारको व्यवहार हुनुपर्नेमा हाइड्रोपावर कम्पनीका लागि मात्र कडा व्यवस्था गरी आईपीओ तथा हकप्रद सेयर निष्कासन गर्न रोक्न नहुने उर्जा उद्यमीहरुको माग रहेको छ।


प्रकाशित : शनिबार, मंसिर ९ २०८००९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend