आइतबार, जेठ ६ गते २०८१    
images
images

नागढुंगा-नौबिसे सुरुङमार्गको लागत चार अर्ब बढ्यो, समयमा सम्पन्न हुन कठिन

images
बिहीबार , मंसिर ७ २०८०
images
images
नागढुंगा-नौबिसे सुरुङमार्गको लागत चार अर्ब बढ्यो, समयमा सम्पन्न हुन कठिन

नागढुंगा-नौबिसे सुरुङमार्गको लागत चार अर्ब बढाइएको छ। समयमा काम सम्पन्न हुन नसकेर म्याद थप गरिएको आयोजनाको लागत ४ अर्ब बढाइएको हो।

images
images

काठमाडौं- नागढुंगा-नौबिसे सुरुङमार्गको लागत चार अर्ब बढाइएको छ। समयमा काम सम्पन्न हुन नसकेर म्याद थप गरिएको आयोजनाको लागत ४ अर्ब बढाइएको हो।

images
images
images

सुरुङको लागि १३ अर्ब ३३ करोड रूपैयाँ लागतमा निर्माण सुरु गरिएको थियो। अब उक्त सुरुङ निर्माणका लागि नै १७ अर्ब लागत पुग्ने भएको छ। आयोजनाले सुरुङ खन्ने क्रममा देखिएको भौगर्भिक अवस्था र निर्माण अवधि बढेसँगै लागत बढेको जनाउँदै आएको छ।  

images

सुरुङमार्ग निर्माण गर्ने ठेक्का पाएको जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले निर्माण समयमा सम्पन्न गर्न नसक्दा समय र लागत दुवै थपिएको छ।  

images
images

आयोजनामा जापानी सहयोग नियोग जाइकाले ऋणस्वरूप साढे १६ अर्ब र नेपाल सरकारको करिब ६ अर्ब गरी साढे २२ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। जाइकाले दिने साढे १६ अर्ब ऋणमध्ये १३ अर्ब ३३ करोड सुरुङमार्ग निर्माण र साढे तीन अर्ब परामर्शदाता कम्पनीका लागि तोकिएको छ। नेपाल सरकारको करिब ६ अर्ब मुआब्जामा खर्च हुने छ।

images
images

सुरु ठेक्का सम्झौताअनुसार आयोजना ३० महिनाभित्रै अर्थात् सन् २०२३ अप्रिल २६ भित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो। पहिलो चरणमा आयोजनाको म्याद ८६ दिन मात्रै थपिएको छ। थपिएको समयभित्र निर्माण सम्पन्न नभएपछि फेरि २०२४ अप्रिल २५ सम्म म्याद बढाइएको छ।

refinance.png

आयोजनाका लागि जाइकाबाट ४० वर्षका लागि ऋण लिइएको हो। नेपालले आयोजनाको साँवा २० वर्षपछि तिर्नुपर्ने हुन्छ। ऋणको ब्याजदर ०.०१ प्रतिशत छ। सुरुङ मार्गको मुख्य सुरुङ छिचोल्न अब दुई सय मिटर मात्रै बाँकी छ। २६ सय ८८ मिटर लामो सुरुङ मार्गको २४ सय ८७.४० मिटर खन्ने काम सकिएको छ। सुरुङ मार्गको भुइँ ढलान-कंक्रिट लाइलिङको काम भने एक हजार तीन सय ८५ मिटर अर्थात ५१.५० प्रतिशत भइसकेको छ। 

आयोजनाका अनुसार वर्किङ अडिटतर्फ १२६ मिटर काम भएको छ। त्यसैगरी क्रस प्यासेजतर्फ पनि एक सय २८ मिटर काम भएको छ। सुरुङ मार्गतर्फको भौतिक प्रगति ९६.४० प्रतिशत छ। सुरुङ मार्गको हालसम्मको समष्टिगत भौतिक प्रगति ६५.३५ प्रतिशत र वित्तीय प्रगति ६०.८२ प्रतिशत छ। ‘फ्लाइओभर’ निर्माणका लागि आवश्यक पर्ने जग्गााको ९५ प्रतिशत मुआब्जा र क्षतिपूर्ति वितरण गरिसकिएको छ। 

नागढुंगा सुरुङमार्ग आयोजनाको अध्ययन सन् २०१४ देखि सुरु भएको थियो। ‘डिटेल’ डिजाइन सन् २०१७ र २०१८ मा सम्पन्न भएको थियो भने सन् २०१९ देखि निर्माण सुरु भएको थियो। कुल ५ दशमलव ७ किलोमिटरको एप्रोच मार्गसहितको सडकमा सुरुङमार्ग भने २ दशमलव ६८ किमी हुनेछ।  

आयोजना त्रिभुवन राजमार्गको काठमाडौंस्थित बलम्बुबाट सुरू भई आकाशटोल, त्रिवेणीघाट, दहचोक, टुटीपाखा हुँदै सोही राजमार्गको धादिङ जिल्लास्थित सिस्नेखोलामा जोडिनेछ। नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) बीच यो सुरुङमार्ग बनाउने विषयमा सन् २०१६ मा सम्झौता भएको थियो।   

सुरुङमार्गमा ७ वटा पुल, ११ वटा बक्स कल्भर्ट, दुवैतर्फ सडक दस्तुर संकलन गर्न टोल संरचना, सुरुङमार्गको सम्पूर्ण अवस्थाको अनुगमन गर्न नियन्त्रण कक्ष, छुट्टै विद्युत् लाइन र २ वटा फ्लाइओभर ब्रिज बन्नेछन्। 


प्रकाशित : बिहीबार , मंसिर ७ २०८००२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend