सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

स्थानीयवासीले सुरुङमार्गमा बार लगाइदिएपछि घारखोला जलविद्युत् आयोजनाको काम ठप्प

बिहीबार , मंसिर ९ २०७८
स्थानीयवासीले सुरुङमार्गमा बार लगाइदिएपछि घारखोला जलविद्युत् आयोजनाको काम ठप्प

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले काम रोकेर अवरोध गरेका छन्।

काठमाडौं- म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले काम रोकेर अवरोध गरेका छन्। वडा नं ६ घारको प्रभावित क्षेत्रमा पर्ने सडक स्तरोन्नति नगरेको र क्षति पुगेका जग्गाधनीलाई मुआब्जा दिन आयोजनाले आनाकानी गरेको भन्दै स्थानीयवासीले बुधबारदेखि आयोजनाको सम्पूर्ण काम ठप्प पारेका हुन्। 

स्थानीयवासीका जायज मागमा आयोजनाले बेवास्ता गरेको र पटक–पटकको ताकेतालाई समेत सम्बोधन नगरेपछि आन्दोलनमै उत्रिएर आयोजनाको सबै काम ठप्प पार्नुपरेको सङ्घर्ष समितिका संयोजक राजु बरुवालले बताए। बरुवालको नेतृत्वमा आयोजनाको निर्माण कार्य भइरहेको क्षेत्रमा पुगेका दुई दर्जन स्थानीयवासीले सुरुङमार्गमा बार लगाइदिएका छन्। 

त्यसैगरी आयोजनाको स्टोर, क्रसर, सवारी मर्मतस्थललगायत सबै ठाउँको काम ठप्प पारेका छन्। म्याग्दी हाइड्रोपावर कम्पनी प्रवद्र्धक रहेको यस आयोजनामा सुरुङ ब्रेकथु भएर अन्य ड्याम साइट र विद्युत्गृहतर्फको काम अघि बढेको थियो। 

आयोजनाको आन्तरिक पहुँचमार्ग बिरौटाबाट कुरिलाबौरसम्म पर्ने करिब तीन किलोमिटर सडक स्तरोन्नति र यस मार्गका कारण क्षति भएकाको लागि क्षतिपूर्ति तथा मौखिकरुपमा गरिएका सम्झौता आयोजनाले कार्यान्वयन नगरेकाले दबाबमूलक आन्दोलनमा उत्रिनु परेको स्थानीयवासीको भनाइ छ। 

स्थानीयवासीले आन्तरिक पहुँचमार्गलाई ग्याबिन जाली लगाएर मेसिनरी पर्खाल लगाउने, नाली निर्माणसहित दुई लेनको बनाउनुपर्ने र आवश्यकताअनुसार, सोलिङ र ढलानसँगै कालोपत्र गर्नुपर्ने माग गरेका छन्। आयोजनाले पहुँचमार्गको चौडाइ बढाउँदा आवश्यक पर्ने व्यक्तिगत जग्गालाई उचित मुआब्जा दिनुपर्ने, पहुँचमार्गमा पर्ने खोला तथा खोल्सीमा पुल र ह्युम पाइपको व्यवस्था गरिनुपर्ने माग गरिएको छ । 

त्यसैगरी व्यक्तिका तथा सार्वजनिक जग्गा संरक्षणका लागि पहुँचमार्ग निर्माण गर्दा असर पुगेका ठाउँमा आवश्यकतानुसार पर्खाल र ग्याबिन जाली लगाउनुपर्ने, प्रभावित क्षेत्रका खानेपानीका मूल सुक्दै गएको पाइएकाले मूलको अनुगमन तथा संरक्षण गर्नुपर्ने, पहुँचमार्गका कारणले सिँचाइमा असुविधा पुगेकाले वैकल्पिक सिँचाइ सुविधाको प्रबन्ध मिलाउन माग गरिएको छ। 

अन्नपूर्ण–५ शिख र ६ घारको सीमा क्षेत्रमा पर्ने कुरीलाबगरमा बाँध रहने यस आयोजनामा सुरुङमार्गबाट पानी लगेर पोखरेबगरमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ । विसं २०७४ चैतबाट निर्माण सुरु गरिएको यस आयोजनाबाट आगामी असार मसान्तभित्रै विद्युत् उत्पादन गर्ने गरि निर्माण कार्य अघि बढाइएको थियो।

कूल दुई अर्ब ४२ करोड लागत अनुमान गरिएको यस आयोजनामा कोरोनाका कारण निर्माणको काम पछि धकेलिएसँगै लागत बढ्ने देखिएको आयोजनाले जनाएको छ । 
रासस


प्रकाशित : बिहीबार , मंसिर ९ २०७८०२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend