सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

९७४ मा आधारित सिमकार्ड बिक्री रोक्न निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर ८ २०७८
९७४ मा आधारित सिमकार्ड बिक्री रोक्न निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ।

गत कात्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले अनुमतिबिना ९७४ मा आधारित जिएसएम आधारित नम्बर बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो।

टेलिकमले यसअघि सीडीएमएमा प्रयोग हुँदै आएको ९७४ र ९७६ रेञ्जमा आधारित नम्बरलाई जिएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको थियो। त्यसमध्ये ९७४ मा आधारित भएर जिएसएम सेवा दिने विषयमा प्राधिकरणबाट स्वीकृति नलिएकाले तत्कालै उक्त कार्य बन्द गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।

उनका अनुसार सञ्चालक समितिले टेलिकमले स्वीकृतविना नम्बर वितरण गरेकाले एक पटकका लागि सचेत गराउने र आगामी दिनमा सोही प्रकारका कार्य गरेमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही हुनेछ।

यस्तै सञ्चालक समितिले टेलिकमलाई पुनःनम्बर परिवर्तन गर्दा ग्राहकमा पर्न जाने असरलाई मध्यनजर गर्दै ९७४ बाट हाल वितरण भइसकेको नम्बरको अलावा थप नम्बर वितरण नगर्न निर्देशन दिएको हो।

नम्बर प्रयोगकर्तालाई वितरण भएपश्चात् उक्त नम्बर दीर्घकालीनरूपमा प्रयोग हुने भएकाले अस्थायीरूपमा प्रदान गरिएको नम्बरिङ रेञ्ज ९७६ स्थायीरूपमा प्रदान हुनेछ। सीडीएमए प्रविधि बन्द गर्ने तयारीमा रहेको टेलिमकले गत साउनदेखि सीडीएमएबाट जिएसएममा रूपान्तरण हुन ग्राहकलाई प्रोत्साहित गरिरहेको छ। नेपामा हाल करिब तीन लाख २० हजार सीडीएमए प्रयोगकर्ता छन्। रासस


प्रकाशित : बुधबार, मंसिर ८ २०७८१४:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend