सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टेस्लाले जर्मन प्लान्टमा सस्तो मूल्यको कार बनाउने

मंगलबार, कात्तिक २१ २०८०
टेस्लाले जर्मन प्लान्टमा सस्तो मूल्यको कार बनाउने

टेस्लाले २०३० बाट वार्षिक २ करोड विद्युतीय कार बिक्री गर्ने महत्वकांक्षी योजना बनाएको छ। यसका लागि कम लागतको कार अनिवार्य हुन्छ।

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाका सीईओ एलन मस्कले सस्तो मूल्यको विद्युतीय कार ल्याउने घोषणा धेरै पहिले गरेका थिए। अहिले टेस्लाले उत्पादन गर्दै आएका विद्युतीय कार तुलनात्मक रुपमा महँगो मानिन्छ। त्यसैले टेस्लालाई ‘मास मार्केट’ कार उत्पादकका रुपमा लिइँदैन। 

मास मार्केटका लागि प्रतिस्पर्धी तथा सस्तो मूल्यमा कार उत्पादन गर्नुपर्ने दबाबमा टेस्ला सीईओ मस्क छन्। सोही कारण उनले धेरै अघि २५ हजार अमेरिकी डलरको विद्युतीय कार उत्पादन गर्ने घोषणा गरेका थिए। उक्त घोषणालाई जर्मन प्लान्टबाट कार्यान्वयन गर्ने अन्तिम तयारीमा टेस्ला रहेको छ। 

टेस्ला तथा एलन मस्कले २५ हजार युरो (२६ हजार ८ सय ३८ अमेरिकी डलर)को कार कहिलेबाट उत्पादन हुने औपचारिक रुपमा खुलाएको छैन। तर गएको शुक्रबार एलन मस्कले जर्मन प्लान्टको भ्रमण गरेर कर्मचारीले गरेको कडा मेहनतको प्रशंसा गरेको द इकोनोमिक टाइम्सले लेखेको छ। तर सोही भ्रमणमा मस्कले २५ हजार युरोको कार उत्पानका लागि तयार रहन कर्मचारीलाई तयार रहन भनेको समाचारमा उल्लेख छ। 

हाल टेस्लाको जर्मन प्लान्टमा मोडल वाई कार उत्पादन भइरहेको छ। यो कार युरोपको सर्वाधिक बिक्री हुने विद्युतीय कार हो। मस्क तुलनात्मक रुपमा सस्तो विद्युतीय कार उत्पादन गर्न चाहिरहेका छन्। त्यसका लागि प्रविधिको प्रयोग गरेर सस्तो लागतमै विद्युतीय कार उत्पादनका लागि उनको टिम कसरत गरिरहेको छ। 

टेस्लाले २०३० बाट वार्षिक २ करोड विद्युतीय कार बिक्री गर्ने महत्वकांक्षी योजना बनाएको छ। यसका लागि कम लागतको कार अनिवार्य हुन्छ। कम मूल्यको कार बिना यो लक्ष्य भेट्न असम्भव नै छ। टेस्लाको उक्त महत्वकांक्षी योजना पूरा गर्न अहिलेको उत्पादन क्षमतामा १० गुणाले वृद्धि गर्नुपर्छ। 

तर कमजोर देखिँदै गएको विश्व अर्थतन्त्र र उच्च व्याजदरका कारण विद्युतीय कारको मागमा गम्भीर असर देखिन थालिसकेको छ। अहिले नै टेस्ला तथा अन्य कम्पनीहरुले विद्युतीय कारको बिक्री बढाउन मूल्य कटौतीको प्रतिस्पर्धा नै गरिरहेका छन्। उत्पादन लागत नघट्ने हो भने यो प्रतिस्पर्धाले लामो समय काम गर्न सक्दैन। 

टेस्लाले जर्मन प्लान्टबाट वार्षिक १० लाख कार उत्पादन गर्ने योजना बनाएको छ। मार्चयता टेस्लाले सो प्लान्टबाट कति कार उत्पादन गरेको हो स्पष्ट रुपमा खुलाएको छैन। तर केही समयअघि कम्पनीले उक्त प्लान्टबाट सातामा ५ हजार कार उत्पादन भइरहेको बताएको थियो। यो हिसाबले सो प्लान्टको अहिलेको वार्षिक क्षमता २ लाख ५० हजार वटा हुन्छ। यद्यपी टेस्लाले जर्मन प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा नल्याएको पनि हुन सक्छ। 

जर्मनीको स्थानीय प्रशासनले टेस्लासँग अक्टोबरमा प्लान्ट विस्तारलगायतका योजना पेश गर्न भनेको थियो। टेस्लाले योजना पेश गरेको बारे नबताएको भएपनि उसको प्रस्ताव स्थानीय प्रशासनले अध्ययन गरिरहेको स्रोतले बताएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ। टेस्लाले नोभेम्बरबाट लागु हुनेगरि सबै कर्मचारीको सुविधासमेत बढाएको छ। 

टेस्लाले हाल अमेरिका, चीन, जर्मनीलगायत प्लान्टबाट कार उत्पादन गर्दै आएको छ। टेस्लाले उत्पादन भइरहेको प्लान्टको क्षमता विस्तारदेखि नयाँ प्लान्ट स्थापनाका लागि व्यापक गृहकार्य गरिरहेको छ।

टेस्ला भारतमा समेत प्लान्ट स्थापनाको तयारी छ। टेस्लाका विद्युतीय कार नेपाली बजारमा पनि उपलब्ध रहेको छ। अरेटी इन्टरनेसनलले टेस्लाका मोडल वाई र मोडल थ्री नेपाली बजारमा बिक्री गरिरहेको छ। २५ हजार युरोको विद्युतीय कार उत्पादन भएर नेपाल आएमा यसले राम्रो बजार लिने अनुमान गरिएको छ। 


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८००४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend