आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त आयोजनाको पीपीए सम्पन्न, ५ वर्षभित्र निर्माण सक्ने लक्ष्य

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ३ २०८०
९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त आयोजनाको पीपीए सम्पन्न, ५ वर्षभित्र निर्माण सक्ने लक्ष्य

आयोजनाको विद्युत वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसामा खरिद बिक्री गर्ने सम्झौता भएको छ।

काठमाडौं- ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ।

तनहुँको भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकामा निर्माण हुने मर्स्याङ्दी नदी जलविद्युत आयोजना आगामी ५ वर्षभित्र निर्माण सम्पन्न हुने प्रवर्द्धक कम्पनी एम ए पावर प्रालीले जनाएको छ।

कात्तिक १ गते सम्पन्न पीपीएमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका अध्यक्ष अनुप आचार्यले हस्ताक्षर गरेका छन्।

आयोजनाको विद्युत वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसामा खरिद बिक्री गर्ने सम्झौता भएको छ।

आयोजनाबाट हिउँदमा १८४ दशमलव ६७ गिगावाट आवर र वर्षायाममा ३७७ दशमलव ९३ गिगावाट आवर ऊर्जा उत्पादन हुने छ।

आयोजनाबाट २०८६ बैशाख २२ गते व्यावसायिक रुपमा विद्युत उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष आचार्यले जनाकारी दिए।

आयोजनाको वातावरणीय प्रभाव अध्ययन (इआईए) अन्तिम चरणमा रहेको र वित्तिय व्यवस्थापनका लागि नेपाली सँगै विदेशी लगानीकर्ताहरुसँग पनि आवश्यक प्रक्रिया अघि बढाइसकिएको कम्पनीका अध्यक्ष आचार्यले बताए।

एम ए पावरले निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत आयोजनाको निर्माण ६ महिनाभित्र सकेर मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको निर्माणमा हात हाल्ने पनि आचार्यले जनाकारी दिए। 


प्रकाशित : शुक्रबार, कात्तिक ३ २०८००६:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend