आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

नारायणीमा बन्दैछ १ अर्ब ६८ करोड लागतमा 'सिग्नेचर पुल'

बुधबार, कात्तिक ८ २०८०
नारायणीमा बन्दैछ १ अर्ब ६८ करोड लागतमा 'सिग्नेचर पुल'

पुल महाशाखाका अनुसार सिग्नेचर पुल अहिले भएको पुलभन्दा उत्तरतर्फ बन्ने छ। उक्त पुल चार वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइने छ।

काठमाडौं- चितवन र नवलपरासी जोड्ने नारायणगढस्थित नारायणी नदीमाथि अत्याधुनिक सिग्नेचर पुल बन्ने भएको छ। उक्त पुलको लागत १ अर्ब ६८ करोड रुपैयाँ अनुमान गरिएको छ। 

सिग्नेचर पुल निर्माणका लागि सर्भेको काम थालिएको छ। सडक विभाग अन्तर्गतको पुल महाशाखाको टोलीले भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकाका प्रमुखसहितको टोलीसँग केही समयअघि स्थलगत निरीक्षण गरी छलफल गरेको हो।

भरतपुर महानगरकाका प्रमुख, गैँडाकोट नगरपालिकाका प्रमुख, पुल महाशाखाको टोली, सडक विभागका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधिसहितको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको थियो। 

पुल महाशाखाका अनुसार सिग्नेचर पुल अहिले भएको पुलभन्दा उत्तरतर्फ बन्ने छ। उक्त पुल चार वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइने छ।

सिग्नेचर पुल निर्माणका लागि तुँदी कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ भने अहिले पुल डिजाइनको काम भइरहेको कम्पनीले जनाएको छ।

चार सय २० मिटर लामो उक्त पुल निर्माणका लागि १ अर्ब ६८ करोड ७६ लाख ठेक्का सम्झौता भएको छ। राष्ट्रिय राजमार्गलाई जोड्ने गरी नारायणी लिफ्टभन्दा उत्तरतर्फबाट गैँडाकोट जोड्ने अर्को पुलको टोलीले फिल्ड सर्भे पनि गरेको छ।

भरतपुर र नवलपरासी जोड्ने अरु दुई पुल निर्माणका लागि स्थलको अवलोकन गरिएको पुल महाशाखाको टोलीले जनाएको थियो। महाशाखाले भरतपुर महानगरपालिका वडा नं २६ को घोसराघाटबाट नवलपुरको प्रगतिनगर जोड्ने पुलको स्थलगत निरीक्षण गरेको महाशाखाले जनाएको छ। यस्तै गोलाघाटबाट नवलपुर जोड्ने गरी ठेक्का सम्झौता भइ स्थगित भएको स्थानको पनि टोलीले अवलोकन गरेको थियो। 

भरतपुर र माडी ठोरी जोड्ने गरी अर्को पुल निर्माणको तयारी गरिएको छ। उक्त पुल भरतपुर महानगरपालिका वडा नं २४ अन्तर्गत ध्रुव र चितवन राष्ट्रिय निकुञ्ज जोड्ने गरी निर्माण गरिने महाशाखाले जनाएको छ। 

यसका लागि ध्रुवको निरीक्षण एवं अनुगमन गर्नुका साथै वातावरणीय अध्ययन प्रतिवेदन (ईआईए) गरी यसै आर्थिक वर्षको अन्त्यसम्म ठेक्का सम्झौता गर्ने तयारी थालिएको छ। पुल महाशाखाका अनुसार तीनवटा नयाँ पुल निर्माण गर्न एकैपटक ठेक्का सम्झौता गर्ने तयारी भएको छ। 


प्रकाशित : बुधबार, कात्तिक ८ २०८००२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend