आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

लुलाङमा तीन महिनापछि बिजुली बल्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक १ २०८०
लुलाङमा तीन महिनापछि बिजुली बल्यो

लमसुङमा रहेको परियोजना २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो।

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका-२ मा तीन महिनापछि बिजुली बलेको छ। मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको विद्युत्गृह असार अन्तिम साता बगाएको थियो। विद्युत्गृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए।

परियोजनाको मर्मत गरेर तीन महिनापछि मंगलबारदेखि विद्युत् आपूर्ति भएको लमसुङका भक्त सिंकिजा पुनले जानकारी दिए। 'दसैँतिहारजस्ता चाडपर्वको समयमा गाउँ उज्यालो हुँदा स्थानीयवासीमा खुसीयाली छाएको छ', उनले भने, 'परियोजना मर्मत गरेर विद्युत् आपूर्ति सञ्चालन भएपछि जनजीवन सहज भएको छ।'

दरखोला दोस्रो लघुजलविद्युत् परियोजना मर्मतका लागि धवलागिरि गाउँपालिकाले पाँच लाख ५० हजार रुपैयाँ र जिल्ला समन्वय समितिले पाँच लाख ५० हजार रुपैयाँ विनियोजन गरेका थिए। उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर गौचनले पहिरोले पुरिएर भत्किएको विद्युत्गृह र उपकरण मर्मत गरेर परियोजना सञ्चालन गरिएको बताए। परियोजना सञ्चालन भएपछि चारवटा बस्तीका तीन सय ७० परिवार लाभान्वित भएका छन्। 

'नहरबाट आएको पानी संकलन हुने ट्यांकी भरिएर बग्दा खसेको पहिरोले विद्युत्गृह र पेनस्टक पाइप बगाएको थियो', गौचनले भने, 'पेनस्टक पाइप, विद्युत्गृह र उपकरण परिवर्तन तथा मर्मत गरेर परियोजना पुुनः सञ्चालन गरेर गाउँलाई उज्यालो बनाएका छौँ।'

विसं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो। लमसुङमा रहेको परियोजना २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो। दरखोला दोस्रो लघुजलविद्युत् परियोजना तेस्रोपटक पहिरोको चपेटामा परेको छ।

केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत् सुविधाका लागि लघुजलविद्युत् परियोजनामा निर्भर छन्। उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको थियो।

परियोजना पुनः सञ्चालन भएपछि विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न सहज भएको छ। धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले पटक-पटक पहिराले लद्युुजलविद्युत् परियोजनामा क्षति गरेकाले लुलाङ, खोरिया, लमसुङ र मरेनीमा जतिसक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताए।  

'नेपाल विद्युत् प्राधिकरणले यसपालि म्याग्दीमा विद्युतीकरण विस्तारका लागि २० करोड बजेटको ठेक्का सम्झौता गरेको छ', उनले भने, 'लुलाङको विद्युत्सम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि केन्द्रीय लाइन विस्तारलाई छिटो कार्यान्वयन गराउन पहल गरेका छौँ।' रासस


प्रकाशित : बुधबार, कात्तिक १ २०८००४:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend