आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

चक्रपथ विस्तार : एक वर्षपछि मात्रै निर्माणस्थलमा काम सुरु हुने

सोमबार, असोज २९ २०८०
चक्रपथ विस्तार : एक वर्षपछि मात्रै निर्माणस्थलमा काम सुरु हुने

चक्रपथको विस्तार भएको सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन्। चिनियाँ सरकारले आठ लेन सडक निर्माण गरेको थियो। सरकारले मुख्य सडकभन्दा बाहिरपट्टी दुवैतर्फ सर्भिस ट्र्याक निर्माण गर्दा यो सडक १० लेन बनेको हो।

काठमाडौं- चक्रपथको दोस्रो खण्डको विस्तारका लागि मुख्य लेनमा चिनियाँले काम गर्न अझै एक वर्ष लाग्ने भएको छ। चीन सरकारको सहयोगमा विस्तार गर्न लागिएको कलंकी-बसुन्धारा सडकको अध्ययनको काम भइरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ।

अहिले चिनियाँले आफ्नै देशमा विस्तृत परियोजना अध्ययन (डीपीआर) गरिरहेको महाशाखाका प्रमुख डा विजय जैसीले बताए। अध्ययनका लागि अझै ६ महिना लाग्ने र अर्काे ६ महिनामा ठेक्का भएर काम गर्न लाग्ने उनले बताए। उनले भने, 'सबै तयारी सकाएर एक वर्षपछि मात्रै भौतिकरुपमा काम हुनेछ।'

अध्ययन सकिएपछि उनीहरुले नै ठेक्का लगाएर काम गर्ने उनले बताए। गत वर्ष नेपाल आएका चिनियाँले कलंकीबाट बसुन्धारासम्मको सडकको अध्ययन गरिसकेर निर्माण अघि बढाउने बताएका थिए।

चिनियाँले काम सुरु गर्ने समय पहिले नै विभागले मर्मत गर्न खोजेको प्रमुख डा जैसीले बताए। मर्मतका लागि विभागले ठेक्का गर्ने उनले बताए। सबैभन्दा छेउको सर्भिस लेनमा धुलो उड्ने समस्या रहेकाले अहिले चक्रपथ विस्तार आयोजना र डिभिजन सडक काठमाडौंले काम गरिरहेको उनले जानकारी दिए।

चक्रपथको पहिलो खण्डमा जस्तै दोस्रोमा पनि मुख्य आठ लेन चिनियाँले बनाउने हो भने त्योभन्दा बाहिरको एक/एक लेन ‘सर्भिस लेन’ सरकारले बनाउने गरी सम्झौता भएको थियो। बीचको लेनमा काम सुरु भइनसकेको र त्यसले गर्दा सडक धुलाम्मे भएकाले अहिले छेउमा काम सुरु गरिएको विभागले जनाएको छ।

पहिलो चरणको सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ पक्षले कलंकीबाट बसुन्धरातर्फको सडक निर्माण गर्न इच्छा देखाएको थियो। ‘साइड क्लियर’ नहुँदा निर्माणका क्रममा विभिन्न अवरोध आएकाले निर्धारित समयभन्दा केही ढिला सम्पन्न भएको थियो। 

चिनियाँ पक्षले सडक हस्तान्तरण गर्दासमेत नेपाल सरकारले निर्माण गर्ने भनिएको छेउको लेनमा घरटहरा हट्न सकेको थिएन। सोही अनुभवका आधारमा अहिले पहिले नै निर्माणस्थल खाली गरेर मात्रै निर्माण सुरु गर्ने तयारी गरिएको विभागले बताउँदै आएको छ।

चक्रपथको विस्तार भएको सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन्। चिनियाँ सरकारले आठ लेन सडक निर्माण गरेको थियो। सरकारले मुख्य सडकभन्दा बाहिरपट्टी दुवैतर्फ सर्भिस ट्र्याक निर्माण गर्दा यो सडक १० लेन बनेको हो।

सडकको बीचमा चार लेन मुख्य लेन, त्यस बाहिर दुई/दुई गरी जम्मा चार लेन रहेको छ। चक्रपथको पहिलो खण्ड ललितपुर र काठमाडौं गरी दुवै जिल्लामा रहेको छ। दोस्रो खण्ड भने काठमाडौंमा मात्रै रहेको छ।

चिनियाँ पक्षसँग पहिले चाबहिल धोबीखोलासम्म सडक विस्तार गर्नेगरी छलफल भएको थियो। स्वयम्भु, महाराजगञ्जलगायतका स्थानमा निर्माणस्थल खाली गराउँदा विभिन्न अवरोध आएपछि कलंकीबाट बसुन्धारासम्म सडक विस्तार गर्न लागिएको हो। रासस


प्रकाशित : सोमबार, असोज २९ २०८०१२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend