आइतबार, जेठ ६ गते २०८१    
images
images

काभ्रेका डेढ दर्जन सडक स्तरोन्नति गरिँदै

images
सोमबार, असोज २९ २०८०
images
images
काभ्रेका डेढ दर्जन सडक स्तरोन्नति गरिँदै

चालु आवमा काभ्रेपलाञ्चोक र भक्तपुरमा सडक, सडक पुल, झोलुंगे पुल र ट्रस पुल गरी करिब तीन सय ५० वटा योजनामा काम गर्ने बताइएको छ। यसमध्ये करिब साढे दुई सय योजना मात्रै कार्यान्वयनमा लगिने छ। ती योजनाका लागि दुई अर्ब ३७ करोड रूपैयाँ विनियोजन भएको छ।

images
images

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकमा महत्वपूर्ण सञ्जालका रहेका करिब डेढ दर्जन सडक स्तरोन्नति गरिँदैछ। चालु आर्थिक वर्षमा महत्वपूर्ण मानिएका १६ कच्ची सडक पक्की (कालोपत्र) तथा ग्राभेल गर्न थालिएको छ। प्रदेश सरकारले जिल्लाको पूर्वाधार विकास कार्यालयमार्फत चालु आवमा १८ सडकलाई बहुवर्षीय योजनाका रूपमा अघि बढाएको हो।

images
images
images

कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर राजु श्रेष्ठका अनुसार बहुवर्षीय योजनाका रूपमा रहेका १६ महत्वपूर्ण सडकमध्ये केही सडक गतवर्ष सुरु गरिएका थिए। 'चालु आवमा सञ्चालन हुने योजनाको लागत स्टिमेट तयार गर्नेलगायत काम भइरहेको छ', उनले भने। जनमुक्ति मार्गअन्तर्गत करिब ६२ करोड रूपैयाँको लागतमा १७ किलोमिटर लामो पिन्थली-रजवास-भूमिचुली-बुढाखानी-देवीटार सडकखण्डमा कालोपत्र भइरहेको छ। उक्त सडक कालोपत्र गर्न समपुरक अनुदानतर्फ चालु आवमा संघीय सरकारले २० करोड र प्रदेश सरकारले २० करोड रूपैयाँ विनियोजन गरेको कार्यालय प्रमुख श्रेष्ठले बताए। 

images

उनका अनुसार महाभारत गाउँपालिकाको तीनखुट्टे-देवीटार-घर्तीछापखण्डमा आठ किलोमिटर सडक कालोपत्र गर्ने काम भइरहेको छ। यसका लागि चालु आवमा चार करोड रूपैयाँ विनियोजन भएको छ। यस्तै महाभारतकै देवीटार-घर्तीछाप-गोकुले पाँच किलोमिटर लामो सडकखण्ड कालोपत्र गर्न ३९ करोड रूपैयाँ लागत अनुमान गरिएकामा यस वर्ष सात करोड रूपैयाँ विनियोजन भएको जनाइएको छ।

images
images

यसैगरी यसवर्ष जनमुक्ति मार्गअन्तर्गत नै दोस्रो सडकखण्ड पिन्थली-भूमिचुली सडकका लागि एक करोड, खानीखोला गाउँपालिकाको तालढुंगादेखि शिक्रेदोभानसम्मको सात किलोमिटर सडकखण्ड स्तरोन्नतिका लागि चार करोड विनियोजन भएको छ। यी दुई सडकखण्डमा भने यसैवर्ष ठेक्का लगाइ बहुवर्षीय योजनामा समावेश गर्न पहल गरिने भएको हो।

images
images

यस्तै चालु आवमा रोशी गाउँपालिकाको कटुञ्जेदेखि खार्पाचोक-लेखापाटी-सुङ्गुरे-बुढाखानी-फोक्सिङटार गोकुले-तालढुंगा सडकअन्तर्गतको १४ किलोमिटर सडक कालोपत्र गर्न सात करोड रूपैयाँ विनियोजन भएको छ। सो सडक सम्पन्न गर्न ६९ करोड रूपैयाँ लागत अनुमान गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए। उनका अनुसार यसैवर्ष मण्डनदेउपुर नगरको सिपाघाट-चुरीथुम्का-कात्तिके सडकका लागि पनि आठ करोड विनियोजन भएको छ।

उक्त सडकले काभ्रेपलाञ्चोकसँग सिन्धुपाल्चोक, भक्तपुर र ललितपुर जोड्ने छ। चालु आर्थिक वर्षमा जिल्लाको भुम्लु गाउँपालिकाको हबेली-सापिङ-सिम्थली-बांगो सिमल-बाफल सडक स्तरोन्नति तथा कात्तिके-नगरकोट सडकखण्ड कालोपत्र गर्न चार/चार करोड रूपैयाँ विनियोजन गरिएको छ। यस्तै चाँरीदेउराली गाउँपालिकामा चौरीखोला करिडोर निर्माणका लागि आठ करोड, छेडा-कुर्थली,-सलम्बु-चौरीखोला सडक स्तरोन्नतिका लागि सात करोड, पाँचखाल बोहोरेदोभान सडक कालोपत्रका लागि रु ११ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको कार्यालयले जनाएको छ।

उक्त कार्यालयले चालु आवमा काभ्रेपलाञ्चोकमा १६ महत्वपूर्ण सडकसँगै २० वटा मोटर पुल, एक झोलुंगे पुल निर्माणाधीन अवस्थामा रहेको जनाएको छ। कार्यालयले हाल जिल्लाका स्थानीय तहलाई विनियोजित योजनाबारे जानकारी दिई योजनाको लागत अनुमान तयार गर्ने काम भइरहको जनाउँदै दसैँपछि योजनाको कार्यान्वयन गरिने कार्यालय प्रमुख श्रेष्ठले बताए।

यसैबीच उक्त कार्यालयले चालु आवमा काभ्रेपलाञ्चोक र भक्तपुरमा सडक, सडक पुल, झोलुंगे पुल र ट्रस पुल गरी करिब तीन सय ५० वटा योजनामा काम गर्ने जनाएको छ। यसमध्ये करिब साढे दुई सय योजना मात्रै कार्यान्वयनमा लगिने छ। चालु आवमा कार्यान्वयन हुने ती योजनाका लागि दुई अर्ब ३७ करोड रूपैयाँ विनियोजन भएको छ। रासस


प्रकाशित : सोमबार, असोज २९ २०८००९:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend