आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सप्तकोशी उच्च बाँधको उचाइ घटाउन भारत सहमत, बिजुली उत्पादन क्षमता ३ हजारबाट २३ सय मेगावाटमा झारिँदै

सोमबार, असोज २९ २०८०
सप्तकोशी उच्च बाँधको उचाइ घटाउन भारत सहमत, बिजुली उत्पादन क्षमता ३ हजारबाट २३ सय मेगावाटमा झारिँदै

प्रस्तावित उच्च बाँधको माथिल्लो भागमा रहेका ठूला भण्डारण आयोजनाहरूले पानी र फोहोरलाई नियमित गर्ने भएकाले बाँधको उचाइलगायत आयोजनाको प्रस्तावित आकार घटाउने निष्कर्ष निकाल्दै उचाइ घटाउने सहमति गरेका हुन्। 

काठमाडौं- नेपाल र भारतले प्रस्तावित सप्तकोशी उच्च बाँधको उचाइ घटाउने सहमति गरेका छन्। लामो समयदेखि अलपत्र परेको उच्च बाँध आयोजनाको बाँधको उचाइ घटाउन दुवै पक्ष सहमत भएका हुन्।

यस परिमार्जनले विस्थापित वा परियोजनाबाट प्रभावित नेपालीहरूमा रहेको डुबानको डरलाई कम गर्ने अपेक्षासहित नेपाल र भारत दुवै पक्षले बाँधको उचाइ घटाउन सहमति गरेका छन्। 

सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण तथा डाइभर्सन आयोजनाको अध्ययन गर्न गठित नेपाल-भारत संयुक्त विज्ञ टोलीको विराटनगरमा असोज ९-११ गते बसेको १७औँ बैठकमा बाँधको उचाइ घटाउने र परिवर्तन गर्न दुवै पक्ष सहमत भएका हुन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विज्ञप्तीमार्फत नेपाल र भारतको सहमती भएको जनाएको छ। 

नेपाली टोलीको नेतृत्व गरेका विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौतका अनुसार ‘बाँधको हाल प्रस्तावित ३ सय ३७ मिटरबाट ३ सय ४ दशमलव ८ मिटर उचाइ झारेर आयोजनाको थप अध्ययन गर्ने सहमति भएको हो।

बाँधको उचाइ घटेसँगै बहुउद्देश्यीय आयोजनाबाट प्रस्तावित जलविद्युत उत्पादनमा पनि कमी आउने छ। आयोजनाको पहिले प्रस्तावित ३ हजार मेगावाट विद्युत उत्पादन क्षमतामा ७ सय मेगावाट घटेर करिब २ हजार ३ सय मेगावाट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ। 

‘सप्तकोशी आयोजनाले डुबानमा परेको क्षेत्र, सप्तकोशीको माथिल्लो क्षेत्रमा प्रस्तावित र सञ्चालित आयोजना र सामाजिक, वातावरणीय र प्राविधिक पक्षलाई ध्यानमा राखी बाँधको उचाइ घटाउने निर्णय गरिएको हो,’ मन्त्रालयले जनाएको छ।

सप्तकोशी, तमोर, सुनकोशी र दूधकोशीका सहायक नदीहरूमा ठूला भण्डारण जलविद्युत आयोजनाको योजना बनाइएकाले नेपालले सप्तकोशी उच्च बाँध आयोजनाको आकार घटाउने प्रस्ताव नेपाल पक्षले गरेको थियो। 

प्रस्तावित उच्च बाँधको माथिल्लो भागमा रहेका ठूला भण्डारण आयोजनाहरूले पानी र फोहोरलाई नियमित गर्ने भएकाले बाँधको उचाइलगायत आयोजनाको प्रस्तावित आकार घटाउने निष्कर्ष निकाल्दै उचाइ घटाउने सहमति गरेका हुन्। 

तमोर नदीमा ७ सय ५६ मेगावाटको तमोर भण्डारण जलविद्युत आयोजनाको योजना बनाइएको छ भने ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजना पनि पाइपलाइनमा छ। नेपाल र बंगलादेशबीच ६ सय ८३ मेगावाटको सुनकोशी ३ जलविद्युत आयोजना निर्माण गर्न सैद्धान्तिक सहमति भएको छ। उर्जा मन्त्रालयका अनुसार प्रस्तावित रि-रेगुलेसन ब्यारेजलाई स्थानान्तरण गर्न दुवै पक्ष सहमत भएका छन्।

press urja.JPG


प्रकाशित : सोमबार, असोज २९ २०८००५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend