आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

तालचोक-बेगनास सडक अब चार लेन बन्ने, ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २६ २०८०
तालचोक-बेगनास सडक अब चार लेन बन्ने, ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता

तीन दशमलव २८ किमीको चार लेन सडक बनाउने जिम्मा ‘स्वच्छन्द-सपना-वल्र्डवाइड जेबी’ले पाएको इन्जिनियर कोइरालाले जानकारी दिए। 

गण्डकी- पोखरा महानगरपालिका-२७ तालचोकदेखि वडा नं ३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ। गत चैतदेखि सडक निर्माण थालिएकामा करिब दश प्रतिशत भौतिक प्रगति भएको महानगरले जनाएको छ।

'ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल निर्माण सुरु भएको हो', महानगरका इन्जिनियर जगन्नाथ कोइरालाले भने, 'सरासर काम भयो भने विसं २०८१ भित्र सडक बनिसक्छ, निर्माण कम्पनीको प्रतिबद्धता पनि त्यही छ।'

विश्व बैंकको सहयोगमा उक्त सडकको स्तरोन्नति योजना अगाडि बढेको उनले बताए। तीन दशमलव २८ किमीको चार लेन सडक बनाउने जिम्मा ‘स्वच्छन्द-सपना-वल्र्डवाइड जेबी’ले पाएको इन्जिनियर कोइरालाले जानकारी दिए। 

'एक अर्ब ४९ करोड रुपैयाँको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक ७५ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो', उनले भने, 'फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नमूना सडक बन्दैछ।'

सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत आकर्षक पूर्वाधार बनाइने महानगरले जनाएको छ। सडकमा तीन पुल पनि बन्नेछन्। अहिले सडक विस्तार, नाला र पर्खाल निर्माणको काम भइरहेको इन्जिनियर कोइरालाले बताए। दसैँअघि मार्ग खुलेर पनि सडक स्तरीय नहुँदा सो क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए। 

सो सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ। पोखरा-२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले तालचोक-बेगनास सडक स्तरोन्नति महानगरकै गौरव गर्न लायक योजना रहेको सुनाए।  

'विस्तारै कामले गति लिइरहेको छ, केही ठाउँमा जग्गाको मादपण्डबारे स्थानीयले उठाएको मागका विषयमा पनि अध्ययन गर्न समिति गठन गरिएको छ', उनले भने, 'समयमै काम सक्न दातृ निकाय र निर्माण कम्पनीलाई सबैको सकारात्मक सहयोग चाहिन्छ।'

निर्माण कम्पनीले काममा कुनै बाधा नआए तोकिएको समयभित्रै निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष गुरुङले बताए। 'परामर्शदाता कम्पनी पनि काममा कुनै ढिलाइ नहोस् भन्नेमा सचेत देखिन्छ, जनप्रतिनिधिलाई पनि झक्झाइरहनुभएको छ', उनले भने। 

वडाध्यक्ष गुरुङले चार लेनको सडक बनेमा सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासले कोल्टे फेर्ने बताए। तालचोक-बेगनास सडक पोखरा-मुग्लिन राजमार्गसँग पनि जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने उनको भनाइ छ। पोखरा-मुग्लिन सडक पनि अहिले चार लेनमा स्तरोन्नति भइरहेको छ। 

कमसल सडककै कारण पछिल्लो समय बेगनास ताल घुम्न जाने पर्यटक घटेकामा स्तरोन्नति कार्य बेलैमा सक्नुपर्ने बेगनास तालका डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डेले बताए। निर्माणका चरणमा भएकाले पर्यटकका लागि उक्त सडकको यात्रा कष्टपूर्ण बनेको उनले बताए।  

मुख्य पर्यटकीय याममै बेगनास क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या घटेको जनाइएको छ। 'चार लेनको सडक बन्दा बेगनास क्षेत्रको आउजाउ सजिलो बन्छ, यहाँको पर्यटनले पनि नयाँ गति लिन्छ', पाण्डेले भने, 'सडक निर्माणमा ढिलासुस्ती हुन दिनु हुँदैन, महानगर पनि यसमा चनाखो रहनुपर्छ।' रासस


प्रकाशित : शुक्रबार, असोज २६ २०८०१०:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend