आइतबार, असार २ गते २०८१    
images
images

तल्लो सेती जलविद्युतमा एडीबी र जाइकाको चासो

images
मंगलबार, असोज २३ २०८०
images
images
तल्लो सेती जलविद्युतमा एडीबी र जाइकाको चासो

दुई वर्षभित्र तल्लो सेती जलविद्युत् आयोजना निर्माणको चरणमा जानेछ। आयोजनाबाट वार्षिकरुपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ। आयोजनाको लागत २५ अर्ब रूपैयाँ अनुमान गरिएको छ।

images
images

दमौली- तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैंक (एडीबी) ले चासो देखाएका छन्। हाल एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोले निर्माण गर्न लागेको उक्त आयोजनामा लगानी गर्न दुवै सहयोगी संस्था सकारात्मक देखिएका हुन्।

images
images
images

एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् निर्माणका लागि हाल वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम भइरहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार दुई वर्षभित्र तल्लो सेती जलविद्युत् आयोजना निर्माणको चरणमा जानेछ। उक्त आयोजनाको लागत २५ अर्ब रूपैयाँ अनुमान गरिएको छ।

images

तनहुँ जलविद्युत् आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको श्रेष्ठको भनाइ छ।

images

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार विसं २०८१ मा बोलपत्र आह्वानको तयारी गरिएको छ। तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ। आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो।

images
images

परामर्शदाताले पेस गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ। विज्ञ समूहले पेस गरेको आयोजनाको डिजाइनबमोजिम थप केही काम गर्ने तयारी गरिएको छ।

'विज्ञ समूहले सुझाव दिएअनुसार केही काम अगाडि बढाउन खोजिएको छ, वातावरणीय प्रारम्भिक मूल्यांकनको काम पनि सकिएको छ,' भण्डारीले भने। आगामी आर्थिक वर्षमा उक्त क्षेत्रमा केही पूर्वाधार निर्माण सुरु हुनेछ। भवन बनाउने, बाटो बनाउने, पुल बनाउने काम आगामी आर्थिक वर्षमा नै सुरु गर्ने तयारी गरिएको भण्डारीले बताए।

कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ। साथै दातृ निकाय एडीबीबाट प्राप्त करिब तीन दशमलव पाँच  मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी काजगातहरु तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत÷निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो।

आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका-६ र देवघाट गाउँपालिका-३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ। पानीको प्रवाहलाई देवघाट गाउँपालिका-३ र ४ हुँदै छ दशमलव आठ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको संगमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ।

आयोजनाबाट बन्दीपुर गाउँपालिका-६, व्यास नगरपालिका-१३ र १४, देवघाट गाउँपालिका-२, ३ र ४, ऋषिङ गाउँपालिका-१ र ३, आँबुखैरेनी गाउँपालिका-५ र ६, भरतपुर महानगरपालिका-२९ का केही भाग प्रभावित हुनेछ।

देवघाट गाउँपालिका-४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ। उत्पादित विद्युतलाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको दुई सय २० केभी दमौली-नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने छ। यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ।

अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ। आयोजनाबाट वार्षिकरुपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ। आयोजनाको अनुमानित लागि २५ अर्ब रूपैयाँ रहेको छ। रासस


प्रकाशित : मंगलबार, असोज २३ २०८०१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend