आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

६३ मेगावाट क्षमताको कोखाजोर जलाशययुक्त जलविद्युत आयोजना निर्माणमा २७ अर्ब ७४ करोड खर्च हुने

आइतबार, असोज २१ २०८०
६३ मेगावाट क्षमताको कोखाजोर जलाशययुक्त जलविद्युत आयोजना निर्माणमा २७ अर्ब ७४ करोड खर्च हुने

काठमाडौं- बागमती प्रदेशको ३ जिल्लामा निर्माण हुने कोखाजोर जलविद्युत आयोजनामा २७ अर्ब ७४ करोड रुपैयाँ लागत अनुमानसँगै वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ। ६३ मेगावाट क्षमताको जलविद्युत आयोजना बागमती प्रदेशको काभ्रेपलान्चोक, सिन्धुली र मकवानपुर जिल्लामा निर्माण हुने छ।

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १, ३ र ५ तथा मरिण गाउँपालिका वडा नम्बर १ र २, काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर १, ६ र ८ तथा खानीखोला गाउँपालिकाको वडा नम्बर ४ र ५ र मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १, ५ र ९ मा आयोजना निर्माणका लागि प्रस्ताव भएको छ।

आयोजनाबाट वार्षिक उत्पादन ३०५.९६ गिगावाट आवर रहेको छ। आयोजनाको बाँधक्षेत्र समुद्री सतहबाट ४२२ मिटरदेखि ४६० मिटरसम्मको उचाइमा रहने छ। बाँध क्षेत्रको जलाश समुद्री सतहदेखि ४६० मिटरको उचाइसम्म रहनेछ। आयोजनामा ७६७५ मिटर लम्बाइको हेडरेस टनेल, १००.५ मिटर उचाइ र ७ मिटर व्यास भएको सर्ज साफ्ट, ८२५.२५ मिटर लामो पेनस्टक पाइप र विद्युतगृहको लम्बाइ चौडाइ २६ मिटर र उचाइ ३२ मिटर रहनेछ। 

आयोजनाबाट उत्पादित विद्युत करिब ७ किलिमिटर लामो १३२ के.भी डबल सर्किट प्रसारणमार्फत फापरबारी सबस्टेशनमा जडान गरिनेछ। प्रस्तावित आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको क्षेत्र निर्धारण तथा कार्यसुची ११० मेगावाटमा स्वीकृत गरीएको थियो। तर आयोजनाको हाइड्रोलोजिकल  विशलेषण तथा आयोजना लागतको परिवर्तनका कारण ११० मेगावाट बाट ११६ मेगावाट भएको थियो।

त्यसैगरी हाइड्रोलोजिकल परिमार्जन गर्दा प्रस्तावित बाँध क्षेत्रको औसत मासिक बहावमा परिवर्तन भएको र सोअनुसार आयोजनाको जडित क्षमता घटेर ११६ मेगावाट बाट १०४ मेगावाट भएको थियो। आयोजनाको जडित क्षमता १०४ मेगावाट हुँदा पिकिङ अपरेशन सयम ६ घण्टा रहेकोमा हाल १० घण्टाको पिकिङ अपरेशन हुँदा जडित क्षमता ६३ मेगावाट हुने आयोजना लागत कम हुने तर वार्षिक कुल ऊर्जा उत्पादन १०४ मेगावाट र ६३ मेगावाट जडित क्षमतामा करिब बराबर हुने देखिएकोले आयोजनाको जडित क्षमता ६३ मेगावाट कायम गरिएको छ।


प्रकाशित : आइतबार, असोज २१ २०८००९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend