आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

पञ्चेश्वरको डीपीआर टुंगो लगाउन नेपाल-भारत संयुक्त विज्ञ समूहको बैठक सुरु

आयोजनाको समग्र पक्षका बारेमा छलफल हुने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १९ २०८०
पञ्चेश्वरको डीपीआर टुंगो लगाउन नेपाल-भारत संयुक्त विज्ञ समूहको बैठक सुरु

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणका क्रममा तीन महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआरलाई अन्तिम रुप दिने सहमति भएको थियो।

काठमाडौं- पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिने उद्देश्यका साथ नेपाल र भारतका उच्च अधिकारीको बैठक सुरु भएको छ।

आज शुक्रबारदेखि काठमाडौंमा सुरु भएको बैठकमा नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारीको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ। यस्तै भारतीय जल आयोग (सेन्ट्रल वाटर कमिशन) का अध्यक्ष कुशविन्दर बोहोरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ।

नेपाल-भारत संयुक्त विज्ञ समूहले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको समग्र पक्षका बारेमा छलफल गर्ने बताइएको छ। सो परियोजनको डिपीआर भारतीय कम्पनी वापकोसले तयार पारेको छ। गत साउन ५ र ६ गते भारतको राजधानी नयाँ दिल्लीमा भएको बैठकपछि भएको प्रगतिलगायत विषयमा विज्ञ समूहको बैठकमा छलफल हुने बताइएको छ।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणका क्रममा तीन महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआरलाई अन्तिम रुप दिने सहमति भएको थियो। प्रधानमन्त्री दाहालले पञ्चेश्वर आयोजनालाई शिघ्र कार्यान्वयनमा लैजान जोड दिँदै आएका छन्। 

प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै गत असार २१ र २२ गते पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको गभर्निङ बडीको बैठक कास्कीको पोखरामा आयोजना गरिएको थियो। सोही बैठकले डीपीआर टुंगो लगाउनका लागि दुवै देशका प्राविधिक सम्मिलित विज्ञ समूहको म्याद थप गरेको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग बिहीबार आयोगका सचिवलगायतका अधिकारीले सोही विषयमा आवश्यक छलफल गरेको थियो। रासस


प्रकाशित : शुक्रबार, असोज १९ २०८०१३:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend