शुक्रबार, जेठ ३२ गते २०८१    
images
images

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता विस्तार, निर्यात परिमाण बढ्ने

images
बुधबार, असोज १० २०८०
images
images
नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता विस्तार, निर्यात परिमाण बढ्ने

१३२ केभी प्रसारण लाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सबस्टेसनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो। नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको थियो।

images
images

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका-१३ साँखे (फुलासी) स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता विस्तार गरेको छ।

images
images
images

२२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभीए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभीएको अटो ट्रान्सफर्मर थप गरिएको हो। थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ। योसँगै २००/१३२ केभी सबस्टेसनको क्षमता अभिवृद्धि भइ ३०० एमभीए पुगेको छ। नेपाल सरकार र प्राधिकरणको लगानीमा रामेछाप (गर्ज्याङ)-नयाँ खिम्ती प्रसारण लाइन आयोजनाअन्तर्गत सबस्टेसनको क्षमता वृद्धि गरिएको हो।

images

१३२ केभी प्रसारण लाइनबाट आएको विद्युतलाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती-ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ। १३२ केभी प्रसारण लाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सबस्टेसनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो।

images

तामाकोशी, खिम्ती र लिखु नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइन हुँदै नयाँ खिम्तीमा समाहित हुँदा सबस्टेसनको क्षमताले नधान्ने अवस्था थियो। यसले गर्दा मुख्य रूपमा लिखु नदीमा निर्माण भएका केही जलविद्युत् आयोजनाहरूको विद्युत् पूर्ण रूपमा प्रवाह हुन सकिरहेको थिएन।

images
images

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ खिम्ती सबस्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै लिखु नदी कोरिडोरमा सञ्चालित जलविद्युत् आयोजनाहरूले बेहोरिरहेको विद्युत् प्रवाहको समस्या समाधान भएको बताए। नयाँ खिम्तीको सबस्टेसनको क्षमताले नधानेपछि लिखु कोरिडोरमा निर्माण भएका केही जलविद्युत् आयोजनाहरूको विद्युत् अल्पकालीन योजनाअन्तर्गत जोड्ने व्यवस्था गरिएको थियो।

‘नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै सबै समस्या समाधान भएका छन्, पूर्वाधार अभावमा विद्युत् प्रवाह हुन नसक्ने अवस्थाको अन्त्य भएको छ', कार्यकारी निर्देशक घिसिङले भने, 'नयाँ आयोजनाहरू आउँदा पनि समस्या पर्दैन, अब भारतर्फ विद्युत् निर्यातको परिमाणसमेत बढ्ने छ।’

तामाकोशी, खिम्ती र लिखु नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई नयाँ खिम्ती सबस्टेसनमा नयाँ पूर्वाधार बनाएर स्थानीय रूपमा आपूर्तिको पनि व्यवस्था गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए। प्रमुख गौतमले सबस्टेसनबाट विद्युत् दिन थालेपछि उपभोक्ताले पर्याप्त, भरपर्दो र गुणस्तरीय आपूर्ति पाएको उल्लेख गरे।

स्थानीय रूपमा आपूर्ति गरी बाँकी रहेको विद्युतलाई २२० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्केबरतर्फ र १३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघू सबस्टेसनतर्फ प्रवाह गरिएको छ।

२२० केभीको नयाँ खिम्ती सबस्टेसन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले निर्माण गरेको थियो। उक्त आयोजनाले १०० एमभीएको मात्र पावर ट्रान्सफर्मर राखेको थियो। स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको १३२/३३/११ केभीको सबस्टेसन गत असारबाट सञ्चालित छ।

नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको थियो। सबस्टेसनको लागत करिब ८० करोड रुपैयाँ रहेको छ।


प्रकाशित : बुधबार, असोज १० २०८००८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend