आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

गल्छी-त्रिशुली-मैलुङ-रसुवागढी सडक : ७ वर्षमा ५६ प्रतिशत प्रगति, २ वर्षमा सकिएला काम?

मंगलबार, असोज ९ २०८०
गल्छी-त्रिशुली-मैलुङ-रसुवागढी सडक : ७ वर्षमा ५६ प्रतिशत प्रगति, २ वर्षमा सकिएला काम?

निर्माण सुरु गर्दा यो आयोनजाको कुल लागत १५ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको थियो। यसमध्ये ९ अर्ब ५० करोड सडक निर्माण र ६ अर्ब रुपैयाँ मुआब्जा तथा क्षतिपूर्तिमा खर्च हुनेछ।

काठमाडौं- सरकारले चीनसँग छोटो दुरीको व्यापारिक मार्गको रुपमा गल्छीदेखि स्याफ्रुबेसी हुँदै रसुवागढीसम्म पुग्न सडक निर्माण गर्ने योजना अघि बढायो। २०७२ माघ १७ मा सरकारले गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक आयोजनालाई प्राथमिकता प्रदान गर्दै रुपान्तरणकारी आयोजनामा राखेको हो। 

८२ किलोमिटर लम्बाइको यो आयोजना तीन खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ। आर्थिक वर्ष २०७२/७३ मा सुरु भएको यो आयोजनाको २०७९/८० सम्म आइपुग्दा समग्र प्रगति ५५.९८ प्रतिशत रहेको छ। आयोजना सकिने अवधि २०८१/८२ तय गरिएको छ। 

निर्माण सुरु गर्दा यो आयोनजाको कुल लागत १५ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको थियो। यसमध्ये ९ अर्ब ५० करोड सडक निर्माण र ६ अर्ब रुपैयाँ मुआब्जा तथा क्षतिपूर्तिमा खर्च हुनेछ। गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक आयोजनामा ६५ किलोमिटर कालोपत्र सडक (डेडिकेटेड डबल लेन, ११ मिटर चौडा(११ मिटर डीबीएम र ७ मिटर आस्फाल्ट) निर्माण, ३२ वटा पुल निर्माण र ४ वटा पहिलो नियन्त्रण गर्ने योजना रहेको छ। 

आयोजनाले हालसम्म ८ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेकोमा ५ अर्ब ३३ करोड सडक निर्माणमा र ३ अर्ब २९ करोड रुपैयाँ मुआब्जामा खर्च भएको छ। 

आयोजनाले आव २०७९/८० मा कालोपत्रे (अस्फाल्ट) ९ किलोमिटर, ३.६ किलोमिटर बेस, ३.६ किलोमिटर सबबेस, ३ वटा पुल निर्माण भएको थियो। त्यस्तै ४ वटा पुलको ठेक्का लागेको आयोजनाले जनाएको छ। चालु र आगामी आवमा आयोजनाले २९ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने र ९ वटा पुलको ठेक्का लगाएर निर्माण सक्नुपर्ने छ। 

यो आयोजनाका लागि सरकारले चालु आवका लागि ५१ करोड ३१ लाख रुपैयाँ विनियोजन गरेको छ। यो वर्ष आयोजनाले ९ किलोमिटर सडक कालोपत्रे गर्ने र ८ वटा पुल निर्माण गर्ने लक्ष्य राखेको छ। 

आयोजना कार्यान्वयनमा देखिएका मुख्य समस्याहरू 

गल्छी त्रिशुली मैलुङ सडक खण्ड (४६ किलोमिटर) को पिपलटादेखि ढुंगेसम्म (८ किलोमिटर) सर्वोच्च अदालतबाट परमादेश जारी भएको तर कार्यान्वयनमा सहयोग नभएको। 

गल्छी त्रिशुली मैलुङ सडक खण्ड (४६ किलोमिटर)को वेत्राबती पुलदेखि वेत्राबती वाई-जंसनसम्म (करिब ०.३ किलोमिटर) सडकमा हालसम्म पनि सर्वोच्च अदालतको निषेधाज्ञा रहेको। 

गल्छी मैलुङ सडक खण्डको शान्तिबजारमा (१ किलोमिटर) स्थानीयबाट मुआब्जा र घर/टहराको क्षतिपूर्ति पनि नबुज्ने र निर्माण कार्य पनि हुन नदिने भनि निर्माण कार्य ३ वर्षदेखि रोकिएको। 

मैलुङ स्वाफ्रुवेसी सडक खण्डको (१९ किलोमिटर) निर्माण कार्य निर्माण व्यवसायी भारत कन्स्ट्रक्सन-सिद्धिसाइ जेभीबाट रोकिएको। 

गल्छी त्रिशुली मैलुङ सडक खण्डको निर्माण कार्य करिब ८१ प्रतिशत सम्पन्न भएको र यसै खण्डमा निर्माण हुन बाँकी रहेको स्थानको लागि टेवा पर्खालको परिमाण प्राप्त नभएको। 

समाधानका लागि आयोजनाले गरिरहेको प्रयास

जिल्ला प्रशासन कार्यालय तथा स्थानीयतहहरूसँग समन्वय भइरहेको। 

फैसला कार्यान्वयनको निम्ति जिल्ला प्रशासन कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला मालपोत कार्यालय तगा स्थानीय तहहरूसँग समन्वय भइरहेको।   


प्रकाशित : मंगलबार, असोज ९ २०८०००:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend