आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

विद्युत् नपुगेका गण्डकीका १२ सय ५ घरधुरीमा सौर्य ऊर्जा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ७ २०८०
विद्युत् नपुगेका गण्डकीका १२ सय ५ घरधुरीमा सौर्य ऊर्जा
फाइल तस्बिर

ऊर्जाको लक्ष्य हासिल गर्नका लागि प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघुजलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ। जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको मन्त्रालयले जनाएको छ।

गण्डकी- राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय ५ घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ। मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली पुर्‍याइएको हो।

प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार बागलुङको ढोरपाटन नगरपालिका-६ का तीन सय ९१ घरधुरीमा सौर्य ऊर्जा जडानको क्रममा छ। तत्काल राष्ट्रिय प्रसारण लाइन जोडिने सम्भावना नभएका ठाउँमा प्रदेश सरकारको अनुदान सहयोगमा सौर्य ऊर्जा जडानको काम भइरहेको छ। 

मन्त्रालयको ऊर्जा शाखाका इन्जिनियर जीवन श्रेष्ठले सौर्य ऊर्जा प्रविधि जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान दिने गरेको बताए। प्रदेश सरकारका मन्त्रालय र सम्बन्धित कार्यालयमा पनि विद्युत् सेवा नियमित गर्न संस्थागत सौर्य ऊर्जा जडान गरिएको उनको भनाइ छ। 

उर्जा मन्त्रालयमा ३०, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा २९, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ४१ र विभिन्न जिल्लामा ९२ किलोवाट गरी कुल एक सय ९२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको हो।

'राष्ट्रिय प्रसारण लाइन नपुगेका र लघुजलविद्युत् आयोजना पनि नभएका ठाउँमा सौर्य ऊर्जा जडान गरिएको हो', इन्जिनियर श्रेष्ठले भने, 'प्रदेशका सबै घरधुरीमा बिजुली पुर्याएर यसै वर्षभित्र उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने सरकारको तयारी छ।'

मन्त्रालयको तथ्याङ्कअनुसार राष्ट्रिय प्रसारण लाइन र नवीकरणीय ऊर्जामार्फत गरी प्रदेशका ९९ दशमलव ५० प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको छ। बाँकी रहेका शून्य दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली पुर्याउने कार्य भइरहेको छ। पछिल्लो आर्थिक सर्वेक्षणअनुसार २८ सय ८४ घरधुरीमा मात्र विद्युत् सेवा नपुगेको देखिएको इन्जिनियर श्रेष्ठले बताए।

ऊर्जाको लक्ष्य हासिल गर्नका लागि प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघुजलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ। जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको मन्त्रालयले जनाएको छ।

ती आयोजनाबाट १५ हजार चार सय ४० घरधुरी लाभान्वित भएका छन्। प्रदेशमा झण्डै चार सय लघुजलविद्युत् आयोजना छन्। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत तीन सय ७१ र बाँकी अरु संस्थाले आयोजना निर्माण गरेका हुन्। सौर्य ऊर्जा र लघुजलविद्युत्बाट प्रदेशको तीन दशमलव ८२ प्रतिशत घरधुरीमा बिजुली पुगेको मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले आफ्नै लगानीमा मनाङको नासो गाउँपालिकामा ३० किलोवाटको भिमताङ लघुजलविद्युत् आयोजना निर्माण गरिरहेको इन्जिनियर श्रेष्ठले जानकारी दिए। अन्ठानब्बे किलोवाटको स्याङ्जाको पुतपुते खोला लघुजलविद्युत् आयोजनाको बिजुली पनि गत वर्ष राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। 

बागलुङ, तनहुँ र नवलपुरका केही ठाउँमा बिजुली पुर्याउन बाँकी रहेको मन्त्रालयले जनाएको छ। ऊर्जा शाखाका अनुसार प्रदेशका पाँच लाख ७४ हजार सात सय ९८ घरधुरी बिजुलीको पहुँचमा छन्। जसमध्ये राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघुजलविद्युत्, नवीकरणीय ऊर्जा आदिको छ। रासस


प्रकाशित : आइतबार, असोज ७ २०८००४:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend