आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सात पटकसम्म म्याद थप्दा पनि सडक निर्माण अलपत्र

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ४ २०८०
सात पटकसम्म म्याद थप्दा पनि सडक निर्माण अलपत्र

निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरिदिँदा यहाँका नागरिकले समस्या खेप्दै आइरहेका छन्। रेसुङ्गा नगरपालिकासँग जोडिएको मुख्य नाकाको सडक वर्षौँदेखि अलपत्र हुँदा नगरपालिकाले गम्भीररुपमा ध्यानाकर्षण भएको जनाएको छ। 

गुल्मी- गुल्मीको सदरमुकाम तम्घास नजिकैको तीन किलोमिटर सडक कालोपत्रे गर्ने काम गत आठ वर्षदेखि अलपत्र परेको छ। खाम्सेपानी‐नयाँगाउ‐नादी‐सूर्यटारी सडकअन्तर्गत तीन किलोमिटर सडक आठ वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको हो।

निर्माण व्यवसायीले उक्त सडकको काम गर्ने भनी सात पटकसम्म म्याद थप गर्दा पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको पुर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ। यसअघि सडक डिभिजन कार्यालय पाल्पा, तम्घास सिमलटारी प्यूठान, सडक पूर्वाधार विकास कार्यालय शिवपुर कपिलवस्तुले उक्त सडक निर्माणको काम गर्दै आएको थियो। 

सडकको सुरुको खण्डअन्तर्गत तम्घास-खाम्सेपानीदेखि सुपा खोलासम्म साढे दुई किलोमिटर कालोपत्रे हुन बाँकी रहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सचित्तानन्द चौधरीले जानकारी दिए। निर्माण व्यवसायीले पटकपटक म्याद थप गर्ने तर काम नगर्ने गरेकाले सडक निर्माण अलपत्र परेको उनले बताए।

सडक निर्माणको जिम्मा पाएको लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले अन्तिम पटक भन्दै विसं २०८० असारसम्मको म्याद थप गरेको थियो। म्याद थप गरेपनि अहिलेसम्म बाँकी सडक कालोपत्रेको काम सुरु हुन सकेको छैन। विसं २०७१ असार ३१ गते सम्झौता भई विसं २०७२ चैत्र ३० गते सम्पन्न गर्ने गरी सात करोड १९ लाख ८७ हजारमा सम्झौता भएको थियो।

निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरिदिँदा यहाँका नागरिकले समस्या खेप्दै आइरहेका छन्। रेसुङ्गा नगरपालिकासँग जोडिएको मुख्य नाकाको सडक वर्षौँदेखि अलपत्र हुँदा नगरपालिकाले गम्भीररुपमा ध्यानाकर्षण भएको जनाएको छ। 

सडक निर्माण समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि चासो नदेखाएको नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए। उनले कामको जिम्मा लिएर समयमा सम्पन्न नगर्ने, काम अलपत्र पारेर नागरिकलाई सास्ती दिने व्यवसायीलाई सम्बन्धित कार्यालयले कालोसूचिमा राखेर कारबाही प्रक्रिया अघि बढाउनु पर्ने बताए।

सडक कालोपत्रे नहुँदा महँगो भाडा तिरेर सदरमुकामसम्म आउजाउ गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ थियो। 'कालोपत्रेका लागि नाली र ग्राभेलको काम सम्पन्न भैसकेको थियो। लामो समयसम्म काम नहुँदा सडकको ग्राभेल पानीले बगाएर खाल्डा परिसकेको छ', प्रमुख चौधरीले भने। उनका अनुसार वर्षामा हिलो र हिउँदमा धुलोले आवागमनमा सास्ती हुने गरेको छ।

उनले निर्माण व्यवसायीको लापर्बाहीका कारण लामो समयदेखि सडक अलपत्र अवस्थामा रहेको बताए। पटकपटक ताकेता गर्दा पनि काम हुन नसकेको जनाउँदै प्रमुख चौधरीले कार्यालयले बैंक ग्यारेन्टी तान्नका लागि पत्रसमेत काटेको बताए। यसपटक पनि काम सम्पन्न नगरेको खण्डमा ठेक्का सम्झौता तोड्ने कार्यालयले जनाएको छ।

लामो समयदेखि सडक निर्माण अलपत्र परेपछि यस क्षेत्रका नागरिक आक्रोशित बनेका छन्। समयमै सडक निर्माण नहुँदा उक्त सडकबाट तम्घासहुँदै, धुर्कोट र मदाने गाउँपालिका जाने नागरिक थप समस्यामा परेका छन्। रासस


प्रकाशित : बिहीबार , असोज ४ २०८००८:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend