आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बजेट अभावले महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुल सम्पन्न हुने समय लम्बिँदै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २२ २०८०
बजेट अभावले महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुल सम्पन्न हुने समय लम्बिँदै

पुलसँगै पर्यटकीय दृष्टिकोणले पनि रमणीय बनाउन यहाँ पुलको दुवैतर्फ उत्तर र दक्षिण गरी चार पोखरीसमेत निर्माण गरिएका छन्।

कञ्चनपुर- सुदूरपश्चिमको आर्थिक समृद्धिसित जोडिएको कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुल निर्माणको अवधि लम्बिँदै गएको छ। सुरुवातका वर्षमा निर्माणले गति पाए पनि निर्माणको अन्ततिर पुग्दा बजेट अभाव र पुलसँगै बनेका पोखरीको ‘गाइडबण्ड’को ‘डिजाइन भेरिएसन’ नहुँदा लगायतका कारणले पुल निर्माणको अवधि लम्बिँदै गएको हो।

महाकाली पुल योजना कार्यालयका प्रमुख महेन्द्रबहादुर गुरुङले पुल निर्माण कम्पनीलाई बजेट अभावका कारण गरिसकेको कामको समेत रकम भुक्तानी दिन नसकिएको बताए। उनले पुल निर्माण कम्पनी कुमार सिएफइसी जेभीलाई गत आर्थिक वर्षको काम गरे बापतको २३ करोड रकम भुक्तानी दिन नसकिएको जानकारी दिए।

'पुल निर्माण सम्पन्न गर्न अझै ५०/६० करोड रकम आवश्यक पर्छ', प्रमुख गुरुङले भने, 'चालु आर्थिक वर्षमा बजेट झन् घटेर आएको छ।' पुल योजना कार्यालयका अनुसार पुल निर्माणका लागि चालु आवमा १८ करोड ६० लाख बजेट विनियोजित छ।

पुलसँगै पर्यटकीय दृष्टिकोणले पनि रमणीय बनाउन यहाँ पुलको दुवैतर्फ उत्तर र दक्षिण गरी चार पोखरीसमेत निर्माण गरिएका छन्। पोखरीको गाइडबण्डका लागि ठूला ढुङ्गा उपलब्ध नहुँदा डिजाइन परिर्वतन गरिएको थियो। 

पोखरीको गाइडबण्डमा गएको केही दिनयता आएको बाढीले सामान्य समस्यासमेत देखिएकाले सो समस्याको पनि दीर्घकालीन समाधान खोजेर भेरिएसन स्वीकृतिका लागि पहल गरिने प्रमुख गुरुङको भनाइ छ।

'गाइडबण्डमा केही स्थानमा समस्या देखिएपछि काठमाडौँबाट परामर्शदातासहितको टोली निर्माणस्थल आउने छ', उनले भने, 'भरिएसन स्वीकृत भएपछि निर्माण कम्पनी तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न सक्छ।' पुल निर्माण कम्पनी कुमार सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पोखरीको गाइडबण्डको डिजाइन स्वीकृति प्रक्रिया लामो समयदेखि थालिएको बताए।
 
'त्यही कारणले भेरिएसन प्रक्रिया रोकिएको छ', उनले भने, 'यी सबै प्रक्रियागत अल्झन नभएको भए पुलको काम सम्पन्न भइसक्थ्यो।' उनले पुलको ९०/९१ प्रतिशत निर्माण सम्पन्न भइसके पनि आर्थिक रुपले कम्पनीले ८५ प्रतिशत कामको मात्रै भुक्तानी पाएको बताए।

'काम गर्ने वातावरण देऊ समयमै सक्छौँ भन्दा पनि सरकारी स्तरबाटै ढिलाइ भयो', उनले भने, 'अब भेरिएसन नै नगरी काम गर्दा विविध समस्या हुनसक्ने भएकाले काम गर्न सक्ने अवस्था देखिएन।' आगामी चैतसम्म निर्माणको अवधि रहेको जनाउँदै उनले बजेट अभाव नभए समयमै सकिने बताए।

'पुलको दायाँबायाँ डेढ किलोमिटर कालोपत्र, गाइडबण्ड र तारजालीलगायत छिटफुट काम मात्रै बाँकी छ', उनले भने, 'बजेट र भेरिएसका कारण समय लम्ब्याउनु हुँदैन।' पुलको कूल लागत तीन अर्ब २७ करोड रहेको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ २२ २०८०१२:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend