आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बेनी-जोमसोम-कोरला सडकको ८ खण्डको निर्माण सकियो, समग्रमा ७५ प्रतिशत भौतिक प्रगति

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २२ २०८०
बेनी-जोमसोम-कोरला सडकको ८ खण्डको निर्माण सकियो, समग्रमा ७५ प्रतिशत भौतिक प्रगति

जोमसोम-कोरला खण्डको अन्य छवटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकेर निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेका छन्।

म्याग्दी- राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरलासडक योजनाको आठवटा खण्ड स्तरोन्नति गरिएको छ। 

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/०७४ देखि सुरु भएको सो योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति सकिएको हो। 

म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन सात अर्ब ५५ करोड लागत अनुुमान गरिएको सो योजनाका लागि आर्थिक वर्ष २०७९/०८० सम्म छ अर्बभन्दा बढी खर्च भइसकेको छ। योजनाका प्रमुख जगत प्रजापतिले छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र दुुई वटा खण्डको १७ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिँदा समग्र योजनाको भौतिक प्रगति ७५ पुगेको जानकारी दिए। 

'एक सय किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएकामा मुुस्ताङको थासाङ गाउँपालिका-५ को कैकुखोलादेखि खन्ती जोड्ने १६ किलोमिटर खण्डमा कालोपत्र सकिएको छ', उनले भने, 'कागबेनी-कोरलाखण्डको सातमध्ये २५ किलोमिटर दूरीमा चराङ-छोसेरबाहेक छखण्डमा ग्राभेल गरिएको छ।' 

एक किलोमिटर तीन सय मिटर दूरीको गलेश्वर-राहुुघाटखण्डमा पूरै सडक कालोपत्रे गरिएको छ भने कैकुुखोला-खन्तीखण्डकमा आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको छ। तेह्र किलोमिटर लामो जोमसोम-कागबेनी सडक कालोपत्र गर्न विसं २०७८ मा ठेक्का सम्झौता गरेका ठेकेदार डेढ वर्षपछि काममा फर्किएका योजना प्रमुख प्रजापतिले जानकारी दिए। 

तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको छैटौँ खण्डको चराङ-छोसेर २५ किलोमिटर सडकमा तीन वर्षपछि ठेकेदार काममा फर्किएका छन्। ८५ प्रतिशत भौतिक प्रगति भएको यो खण्डको सडक ११ मिटर फराकिलो बनाएर ग्राभेल गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। 

जोमसोम-कोरला खण्डको अन्य छवटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकेर निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेका योजना प्रमुख प्रजापतिले बताए। 

अठार किलोमिटर दूरीको कागबेनी-ताङ्वे बज्रगुरु खड्गकृष्ण जेभी, ११ किलोमिटर ताङ्वे- चैलेको दिवाडाफे एपेक्स जेभी, ११ किलोमिटर दूरीको चैले-भेनाको कान्छाराम कोशी एण्ड न्यौपाने जेभी र १२ किलोमिटर भेना-झैते सडक कञ्चनजङ्गा लामा बिल्डर्स बिरुवा जेभीले ठेक्का लिएका थिए। 

झैते-चराङ १९ किलोमिटर कञ्चनजङ्गा लामा मोतीदान जेभी र छोसेर-कोरला १४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा रौताहा एपेक्स जेभी कन्ट्रक्सनले लिएका थिए। तेह्र किलोमिटर दूरीको मालढुङ्गा-बेनी खण्डको ४२, तीन किलोमिटर दूरीको बेनी-गलेश्वर खण्डको ८५ प्रतिशत, राहुघाट-नारच्याङ पुल खण्डको ८५ प्रतिशत, नारच्याङपुल-घाँसा खण्डको ६० प्रतिशत प्रगति भएको छ। म्याग्दीको राहुघाटदेखि मुस्ताङको घाँसा खण्डको सडक पहिरोले असर पारको छ। 

योजनामार्फत आठ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण सकिएका छन्। थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ। बाह्र वटा मोटरेबल पुल निर्माणाधीन छन्। थप पाँच ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए। यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ। यस सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ २२ २०८००७:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend