आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

अब भारतले नेपालबाट ६ सय ३२ मेगावाट विद्युत् किन्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १९ २०८०
अब भारतले नेपालबाट ६ सय ३२ मेगावाट विद्युत् किन्ने

नेपाल विद्युत् प्राधिकरण र एनटीपीसी विद्युत् व्यापार निगमबीच केही समयअघि भएको मध्यमकालीन विद्युत् व्यापार सम्झौताले प्रतियुनिट पाँच दशमलव २५ भारतीय रूपैयाँमा दुई सय मेगावाटसम्म बिजुली खरिद बिक्री गर्ने सम्झौता गरेको छ।

काठमाडौं- नेपालले १ सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ। नेपालले यसअघि ४ सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो। थप चारवटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कुल ६ सय ३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ। 

नेपालले अहिले महेन्द्रनगर-गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट एक सय १० मेगावाट गरी एक सय ८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए। भारतले यो बिजुली हरियाणा राज्यका लागि लैजान लागेको हो।

माथिल्लो चमेलिया र माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको ७० मेगावाट बिजुली महेन्द्रनगर-गड्डाचौकी प्रसारण लाइनबाट भारतमा जानेछ भने सोलुखोला (दूधकोशी) र दोर्दीखोला जलविद्युत् आयोजनाको बिजुली ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट जानेछ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार महेन्द्रनगरबाट जाने बिजुली इन्डियन इनर्जी एक्सचञ्ज (आइईएक्स) मा बिक्री हुनेछ भने ढल्केबर मुजफ्फरपुरबाट जाने बिजुली प्रतियुनिट आठ रूपैयाँ ४० पैसाअर्थात् पाँच दशमलव २५ भारतीय रूपैयाँमा बिक्री हुनेछ। 

आइईएक्समा बिजुली बेच्नका लागि बोलकबोल प्रक्रियाबाट हरेक दिन फरक-फरक दरमा बिजुलीको मूल्य निर्धारण हुने गरेको छ। नेपाल विद्युत् प्राधिकरण र एनटीपीसी विद्युत् व्यापार निगमबीच केही समयअघि भएको मध्यमकालीन विद्युत् व्यापार सम्झौताले प्रतियुनिट पाँच दशमलव २५ भारतीय रूपैयाँमा दुई सय मेगावाटसम्म बिजुली खरिद बिक्री गर्ने सम्झौता गरेको छ।

नेपालले सोलुखोला (दूधकोशी) आयोजनाको ८३ दशमलव ४२ मेगावाट, सुपर मादी हाइड्रोपावरको ४२ दशमललव ६८ मेगावाट, मिस्त्री खोला जलविद्युत् आयोजनाको ४० दशमलव ७४ मेगावाट, दोर्दी खोला जलविद्युत् आयोजनाको २६ दशमलव १९ मेगावाट र अपर चाकु ‘ए’ जलविद्युत् आयोजनाको छ दशमलव ६७ मेगावाट बिजुली भारत पठाउने भने पनि सोलुखोला र सुपरमादीले मात्रै अनुमति पाएका छन्।


प्रकाशित : मंगलबार, भदौ १९ २०८०१३:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend