आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

तिप्ल्याङ कालीगण्डकीको विद्युत खरिद बिक्री सम्झौता, आईएमई समूहको अगुवाइमा १५२ मेगावाटको आयोजना बन्ने

वित्तीय व्यवस्थाको लागि नबिल बैंकको अगुवाइमा प्रकृया हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १९ २०८०
तिप्ल्याङ कालीगण्डकीको विद्युत खरिद बिक्री सम्झौता, आईएमई समूहको अगुवाइमा १५२ मेगावाटको आयोजना बन्ने

आयोजनाबाट उत्पादन हुने विद्युत प्राधिकरणको निर्माण सम्पन्न भइसकेको कालीगण्डकी करिडोरअन्तर्गत दाना सव स्टेशनमा जोडिने छ।

काठमाडौं- आएमई समूहद्वारा प्रवद्धित तिप्ल्याङ कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिप्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज नेपाल विद्युत् प्राधिकरणमा आयोजित एक कार्यक्रमका बीच उक्त खरिद बिक्री सम्झौतामा हस्ताक्षर गरेका छन्।

अहिले ५८ मेगावाट क्षमताको विद्युत खरिद बिक्री सम्झौता भएको भएता पनि आयोजनाको क्षमता वृद्धि गरी ८६ मेगावाट कायम गर्न विद्युत विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त गरी सकेकोले बाँकि क्षमताको पनि छिटै खरिद बिक्री सम्झौता गरिने छ।

यो आयोजना म्याग्दी जिल्लाको अन्नपूर्ण तथा रघुगंगा  गाउँपालिकामा पर्दछ। यो आयोजनामध्ये कालीगण्डकी जलविद्युत आयोजना र मिस्त्रि खोला २ आयोजनाको क्यास्केडको रुपमा विकास गरिएको हो। आयोजनास्थलमा राजमार्गको पहुँच रहेको छ भने प्रसारण लाइन समेत बनिसकेको अवस्था छ।

प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम ८.४० रूपैयाँ प्रति युनिट र वर्षायाम ४.८० रूपैयाँ प्रतियुनिट र व्यापारिक उत्पादन सुरु मितिबाट वाषिक तीन प्रतिशतका दरले आठ पटकसम्म मूल्य वृद्धि दिइ खरिद गर्ने छ।

आयोजनाबाट उत्पादन हुने विद्युत प्राधिकरणको निर्माण सम्पन्न भइसकेको कालीगण्डकी करिडोरअन्तर्गत दाना सव स्टेशनमा जोडिने छ।

आईएमई समूहबाट प्रवद्धित हाइड्रो सपोर्ट प्रालिबाट ६६.३ मेगावाट क्षमताको माथिल्लो मध्य कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता यस अघि नै सम्पन्न भइसकेको छ । 

यी दुईवटा आयोजनाको  कुल विद्युत क्षमताबाट सुख्खायाममा २९५.४६८ र वर्षायाममा ६३०.८९५ गरि कुल वार्षिक ९२६.३६५ गिगावाट आवर ऊर्जा उत्पादन हुने छ।

उपरोक्त दुवै आयोजनाहरू २०८६ साल असार महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ। 

आयोजनाको कुल लागत ३३ अर्ब १४ करोड रूपैयाँ रहेको छ। आयोजनामा स्वपुँजी लगानी आईएमई समूहलगायतबाट हुनेछ भने वित्तीय व्यवस्थाको लागि नबिल बैंक लिमिटेडको अगुवाइमा प्रकृयामा रहेको छ।  

आयोजनाहरू संचालनमा आए पछि स्थानीय क्षेत्रमा थप पूर्वाधारहरूको विकास हुने, स्थानीयलाई थप रोजगारी प्राप्त भइ स्थानीय सिपमा अभिवृद्दि हुनाका साथै स्थानीय स्तरमा आम्दानी तथा आर्थिक गतिविधिमा समेत वृद्धि हुनेछ ।

स्थानीयलाई सेयर लगानी गर्ने अवसर प्राप्त हुने भएकाले दीर्घकालीन आयश्रोतको माध्यम समेत हुन सक्ने अपेक्षा गरिएको छ। 

साथै राष्टिय एकीकृत ऊर्जा प्रणालीमा थप १५२.३ मेगावाट विद्युत अभिवृद्धि हुनगइ विद्यमान ऊर्जा संकटलाई न्यूनिकरण गर्न, वार्षिक रुपमा विद्युत रोयल्टी तथा कर वापत केन्द्रीय, प्रादेशिक तथा स्थानीय सरकारलाइ प्राप्त हुने ठूलो रकमबाट स्थानीय तथा क्षेत्रीय अर्थतन्त्रमा अभिवृद्धि गर्न सघाउ पुग्ने अपेक्षा छ।


प्रकाशित : मंगलबार, भदौ १९ २०८०१३:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend