सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

हुन्डाईले सार्वजनिक गर्‍यो ‘एन’ ब्रान्डको पहिलो विद्युतीय कार ‘आयोनिक फाइभ एन’

मंगलबार, भदौ १९ २०८०
हुन्डाईले सार्वजनिक गर्‍यो ‘एन’ ब्रान्डको पहिलो विद्युतीय कार ‘आयोनिक फाइभ एन’

आयोनिक फाइभ एनमा ८४ किलोवाट आवरको ब्याट्री प्याक रहेको र यो कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ३.४ सेकेन्टमा तय गर्न सक्छ। 

काठमाडौं- विद्युतीय कार उत्पादनमा आक्रामक कोरियाली कम्पनी हुन्डाईले नयाँ ईभी ब्रान्ड सार्वजनिक गरेको छ। हुन्डाईले सोमबार नयाँ ब्रान्ड नेम ‘एन’मा आधारित पहिलो विद्युतीय कार सार्वजनिक गरेको हो। 

हुन्डाईले आफ्नो आयोनिक फाइभ सिरिजमै नयाँ कार आयोनिक फाइभ एन सार्वजनिक गरेको जनाएको छ। आयोनिक फाइभ एन पहिलो पटक २०२३ जुलाईमा ब्रिटेनमा भएको गुडउड फेस्टिभलमा सार्वजनिक भएको थियो। 

आयोनिक फाइभ एनमा ८४ किलोवाट आवरको ब्याट्री प्याक रहेको र यो कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ३.४ सेकेन्टमा तय गर्न सक्छ। 

नयाँ मोडलले विद्युतीय कार सेगमेन्टमा उच्च दक्षताको मानक स्थापित गर्ने विश्वास हुन्डाईले लिएको छ। यो कारको मूल्य ५८ हजार डलर रहेको छ। आयोनिक फाइभ एनले एक पटकको फुल चार्जमा ३ सय ५० किलोमिटरभन्दा बढी रेन्ज दिनेछ। 

आयोनिक फाइन एन स्ट्यान्डर्ड आयोनिक फाइभ मोडलकै जस्तो विद्युतीय ग्लोबल मोडुलर प्लेटफर्म (ई-जीएमपी)मा आधारित रहेर उत्पादन गरेको हो। ई-जीएमपी हुन्डाई मोटर ग्रुपको विद्युतीय कारमात्र उत्पादन गर्ने प्लेटफर्म हो। 

हुन्डाईको आयोनिक फाइभ र आयोनिक सिक्स यही ई-जीएमपी प्लेटफर्ममै बनेका हुन्। त्यस्तै हुन्डाईले यही प्लेटफर्ममा अर्को वर्ष आयोनिक सेभेन सार्वजनिक गर्ने तयारीमा हुन्डाई मोटर रहेको छ।

हुन्डाई ब्रान्डकोमात्र होइन किया ब्रान्डका विद्युतीय कार पनि ई-जीएमपी प्लेटफर्ममै बन्छ। कियाको ईभी सिक्स र ईभी नाइन एसयूभी सोही प्लेटफर्ममा बनेको हो। त्यस्तै कियाले सानो आकारको विद्युतीय कार ईभी फाइभ पनि उत्पादनको तयारी गरिरहेको छ। 

२०३० बाट हुन्डाईले विश्वभर वार्षिक १० लाख विद्युतीय कार बिक्री गर्ने योजना सार्वजनिक गरेको थियो। हुन्डाईले आफ्नो पहिलो डेडिकेटेड विद्युतीय कार उत्पादन प्लान्ट अमेरिकाको जर्जियामा स्थापना गरेको छ। उक्त प्लान्टबाट वार्षिक ३ लाख विद्युतीय कार उत्पादन क्षमता रहने छ। २०२४ देखि उक्त प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ। 

त्यस्तै हुन्डाईले कोरियामा पनि ईभी डेडिकेटेड प्लान्ट स्थापना गर्ने तयारी गरेको छ। २०२५ देखि सो प्लान्टबाट पनि विद्युतीय कार उत्पादन हुनेछ। हुन्डाईले एन ब्रान्डमा उच्च कार्यदक्षतायुक्त विद्युतीय कार उत्पादन गर्ने जनाएको छ।  


प्रकाशित : मंगलबार, भदौ १९ २०८००४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend