आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

एचआईडीसीएलले ५०० मेगावाटका चार जलविद्युत् आयोजनामा १३ अर्ब रूपैयाँ ऋण लगानी गर्ने

शनिबार, भदौ ९ २०८०
एचआईडीसीएलले ५०० मेगावाटका चार जलविद्युत् आयोजनामा १३ अर्ब रूपैयाँ ऋण लगानी गर्ने

कम्पनीले अपर तमोर, जगदुल्ला, सानिमा जुम र माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा ऋण लगानी गर्न लागेको हो। आयोजनाहरुको प्रस्तावका आधारमा कम्पनीको बोर्डले ऋण लगानी स्वीकृत गरिसकेको छ।

काठमाडौं- हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले चार जलविद्युत् आयोजनामा १३ अर्ब रूपैयाँ ऋण लगानी गर्ने भएको छ।

सार्वजनिक तथा निजी क्षेत्रले निर्माणका लागि अगाडि बढाइरहेका करिब ५०० मेगावाटका ४ जलविद्युत आयोजनाका लागि १३ अर्ब रूपैयाँ ऋण लगानी स्वीकृत गरेको छ।

कम्पनीले अपर तमोर, जगदुल्ला, सानिमा जुम र माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा ऋण लगानी गर्न लागेको हो। आयोजनाहरुको प्रस्तावका आधारमा कम्पनीको बोर्डले ऋण लगानी स्वीकृत गरिसकेको छ।

शुक्रबार एचआईडीसीएलले चार आयोजनालाई ऋण स्वीकृत पत्र प्रदान गरेको छ। ऊर्जा मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुन कुमार गौतमले ऋण स्वीकृत पत्र प्रदान गरेका हुन्।

२८५ मेगावाटको तमोर सानिमा निजी क्षेत्रले प्रवर्द्धन गर्न लागेको सबैभन्दा ठूलो आयोजना हो। तमोर सानिमा इनर्जी प्रालिले प्रवर्द्धन गर्न लागेको आयोजना ५५ अर्ब १५ करोड रूपैयाँ लाग्‍ने अनुमान गरिएको छ।

ऋण स्वीकृत गरिएका आयोजनाहरूमा २८५ मेगावाटको अप्पर तमोर, १०६ मेगावाटको जगदुल्ला, ५६ मेगावाटको सानिमा जुम खोला र ४२ मेगावाटको माथिल्लो मोदी-ए रहेका छन्। यी आयोजनाहरूमा एचआइडिसिएलले क्रमशः ४/४ अर्ब, २ अर्ब र ३ अर्ब रूपैयाँ लगानी स्वीकृत गरेको जनाइएको छ।

एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले सहवित्तीयकरणमा लगानी गर्न चाहने बैंकहरूलाई सहज होस् भनेर कम्पनीले नै पहिलो निर्णय गरेको बताए। ‘यी चार आयोजनामा लगानी गर्न अरू बैंकहरूले तयारी गर्दै गर्दा हामी एक कदम अगाडि बढेका छौँ,’ उनले भने, ‘आफ्नो उद्देश्य अनुसार काम गर्दै कम्पनीले अहिलेसम्म ऋण र स्वपुँजी गरी २७ अर्ब ३९ करोड लगानी स्वीकृत गरिसकेको छ।’

कम्पनीले अहिलेसम्म २३६९.४० मेगावाटका ३१ वटा आयोजनामा लगानी स्वीकृत गरेकोमा १९ वटा (१४६७ मेगावाट) मा २१ अर्ब २१ करोड रूपैयाँ र १२ वटा (९०२.४० मेगावाट) मा ६ अर्ब १८ करोड रूपैयाँ स्वीकृत गरेको छ। ऋण लगानी स्वीकृत भएका १९ आयोजना मध्ये ४ वटा सरकारी छन् भने बाँकी निजी क्षेत्रले अगाडि बढाइरहेका छन्। यस्तै, स्वपुँजी लगानी भएका १२ आयोजनामा ७ सरकारी र ५ निजी आयोजना छन् ।

एचआइडिसिएलले आर्थिक वर्ष २०७९/८० मा मात्र १६ अर्ब ५६ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। यसमध्ये पनि १३ अर्ब रूपैयाँ उल्लिखित ४ आयोजनाका लागि स्वीकृत गरिएको छ। ४ आयोजनामा अप्पर तमोर र जगदुल्ला आंशिकजलाशय (पी-आरओआर) तथा जुम खोला र मोदी-ए नदी प्रवाही (आरओआर) आयोजना हुन्।


प्रकाशित : शनिबार, भदौ ९ २०८००७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend