आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

काठमाडौंमा मेट्रो रेल र पोखरा-रिडी सडक निर्माणबारे मन्त्री ज्वालाले गरे रसियन राजदूतसँग छलफल

सोमबार, भदौ ४ २०८०
काठमाडौंमा मेट्रो रेल र पोखरा-रिडी सडक निर्माणबारे मन्त्री ज्वालाले गरे रसियन राजदूतसँग छलफल

रसियन पक्षले मेट्रो रेल निर्माणका लागि रसियन रेल्वे कम्पनी तयार रहेको बताएका थिए। त्यसका लागि ठोस प्रस्ताव समेत उनीहरुले मागेका छन्। 

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मेट्रो रेल निर्माणका विषयमा रसियन पक्षसँग छलफल गरेका छन्। सोमबार नेपालका लागि रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीसँग मेट्रो रेल, सडक, सुरुङ मार्ग र रेलका विषयमा छलफल भएको मन्त्रालयका सहसचिव अर्जुन थापाले बताए।

रसियन मस्को मेट्रो रेल विश्व प्रख्यात मानिन्छ। रसियाको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेका छन्। भारतका विभिन्न ठाउँमा पनि रसियन मेट्रो रेल नै सञ्चालन हुँदै आएको छ।

मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा मेट्रो रेल र पूर्वपश्चिम रेलका विषयमा छलफल गरेका हुन्। केही समयमै रुसी संसदका अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउँदैछन्। उनको भ्रमणअघि मेट्रो पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका विषयमा छलफल गर्न रसियन टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको थियो।

छलफलमा मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा सञ्चालन गर्नेगरी मेट्रो रेलको प्रस्ताव गरेका थिए। ‘मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्गलगायतका बिषयमा छलफल भयो’ मन्त्रालयका सचिव केशव शर्माले बताए। जवाफमा रसियनपक्षले मेट्रो रेल निर्माणका लागि रसियन रेल्वे कम्पनी तयार रहेको बताएका थिए। त्यसका लागि ठोस प्रस्ताव समेत उनीहरुले मागेका छन्। 

रसियन पक्षले पोखरा-रिडी सडकका बिषयमा पनि चासो देखाएका छन्। उनीहरुको चासोलाई मन्त्रालयले प्राथमिकतामा राखेको सहसचिव थापाले बताए। छलफलका क्रममा मन्त्री ज्वालाले नेपालका सयौँ इन्जिनियरहरुले रुसबाट तालिम र शिक्षा लिएको र उनीहरुको दक्षताले नेपाललाई सहयोग पुगेको बताएका हुन्।


प्रकाशित : सोमबार, भदौ ४ २०८०११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend