मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

रेनोको क्वीड ईभी आउँदै, रेन्ज ३ सय किलोमिटरभन्दा बढी हुने

आइतबार, भदौ ३ २०८०
रेनोको क्वीड ईभी आउँदै, रेन्ज ३ सय किलोमिटरभन्दा बढी हुने

रेनो इन्डियाले भारतमै ब्याट्री उत्पादन गरेर क्वीडमा प्रयोग गर्ने लक्ष्य लिएको छ। भारतमा उत्पादन हुने ईभीमा ९० प्रतिशतसम्म स्थानीय उत्पादन नै प्रयोग गर्ने दाबी कम्पनीको छ। 

काठमाडौं- फ्रेन्च कार उत्पादक कम्पनी रेनोले भारतीय बजारमा सानो आकारको विद्युतीय कार ल्याउने भएको छ। रेनोले २०२४ भित्रै भारतीय बजारमा क्वीड ईभी ल्याउने जनाएको छ। 

रेनोले यसअघि पनि क्वीडको विद्युतीय भर्सन ल्याउने बताएको थियो। अब भने रेनोले २०२४ को मध्यतिरै क्वीड ईभी ल्याउने तय गरेको छ। रेनोले सवारीलाई विद्युतीकरण गर्ने योजनाअनुसार नै भारतीय बजार र वरिपरीका बजारलाई लक्षित गरि क्वीड ईभी ल्याउन लागेको रेनो इन्डियाका प्रबन्ध निर्देशक भेनकटराम मापमलापालेले बताएका छन्। 

२०२४ मा सक्दो चाँडो हुने गरि भारतीय बजारमा रेनो क्वीड ईभी ल्याउने कम्पनीको भनाइ छ। सुरुवाती चरणमा भारतमा हाल बिक्री भइरहेको क्वीडको ५० देखि ६० प्रतिशत ईभीयुक्त बनाउने योजना कम्पनीको छ। रेनो इन्डियाले भारतमै ब्याट्री उत्पादन गरेर क्वीडमा प्रयोग गर्ने लक्ष्य लिएको छ। भारतमा उत्पादन हुने ईभीमा ९० प्रतिशतसम्म स्थानीय उत्पादन नै प्रयोग गर्ने दाबी कम्पनीको छ। 

हाल विश्व बजारमा बिक्री भइरहेको रेनोको क्वीड जस्तै विद्युतीय ह्याचब्याक डासिए स्प्रिङमा २६.८ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ। यो कारले ४४ एचपी पावर र १ सय २५ एनएम टर्क दिन्छ।

डब्लूएलटीपी साइकलअनुसार सो विद्युतीय कारले एक पटकको फुल चार्जमा २ सय ९५ किलोमिटर रेन्ज दिन्छ। भारतमा बन्ने क्वीड ईभीमा पनि यस्तै ब्याट्री तथा पावर उपलब्ध हुने अनुमान गरिएको छ। 

भारतमा सार्वजनिक हुने क्वीड ईभी १० लाख भारुभन्दा कम मूल्यमा आउने अनुमान छ। हाल भारतीयमा बजारमा यो सेगमेन्टमा टाटा टियागो ईभी, सिट्रोन ई सीथ्री तथा एमजी कोमेट उपलब्ध रहेको छन्। अहिलेकै हिसाबमा क्वीडले यी मोडलसँग प्रतिस्पर्धा गर्नुपर्ने छ भने क्वीड ईभी बजारमा आउँदासम्म अन्य प्रतिस्पर्धी ईभी आउने सक्नेछन्। 

रेनो-निसान समीकरणले भारतमा विद्युतीय कार उत्पादनको ठूलो योजना समेत बनाएको छ। अबको २ वर्षमा दुवै कम्पनीले भारतीय बजारका लागि नयाँ विद्युतीय कार मोडल ल्याउने अनुमान धेरैको छ।  


प्रकाशित : आइतबार, भदौ ३ २०८००३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend