आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

भौतिक पूर्वाधार मन्त्रालयको प्रगति ६५ प्रतिशत 

बिहीबार , साउन ३२ २०८०
भौतिक पूर्वाधार मन्त्रालयको प्रगति ६५ प्रतिशत 

गत आवमा २ सय ४३ किलोमिटर नयाँ ट्र्याक निर्माण सकिएको सडक विभागले जनाएको छ। उक्त आर्थिक वर्षमा २ सय २२ वटा पुल निर्माण भएका छन्। 

काठमाडौं- गत आर्थिक वर्षमा सडक विभागमार्फत ८ सय २० किलोमिटर सडक कालोपत्रे भएको छ। आर्थिक वर्ष २०७९/८० मा २ सय ४९ किलोमिटर सडक स्तरोन्नति तथा पुनर्निर्माण भएको छ। 

सरकारले सबैभन्दा बढी बजेट पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नै विनियोजन गरेको थियो। आव २०७९/८० मा पुँजीगततर्फ १ खर्ब ५८ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। उक्त बजेटमध्ये १ खर्ब ३ अर्ब ३ करोड रुपैयाँ मात्रै खर्च गरेको हो।

सबैभन्दा बढी बजेट पाउने भौतिकले गत आवमा पुँजीगततर्फ ६५.०२ प्रतिशत मात्र खर्चिएको छ। सडक विभागले मात्र १ खर्ब २० अर्ब ५८ करोड (डक बोर्ड बाहेक) रुपैयाँ विनियोजन भएको थियो। त्यसमध्ये सडक विभागले गत आवमा ८२ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेको हो। सडक विभागले विनियोजित बजेट मध्ये ६८.३९ प्रतिशत खर्च गरेको थियो। 

गत आवमा २ सय ४३ किलोमिटर नयाँ ट्र्याक निर्माण सकिएको सडक विभागले जनाएको छ। उक्त आर्थिक वर्षमा २ सय २२ वटा पुल निर्माण भएका छन्। 

विभागले गत आवमा ७ सय ६१ किलोमिटर आवधिक मर्मत गर्ने लक्ष्यको थियो। जसमा ५ सय ३८ किलोमिटर सडकको आवधिक मर्मत भएको विभागको तथ्यांकले देखाएको छ।

विकास निर्माणको जिम्मेवारी पाएको सहरी विकास मन्त्रालयको खर्च पनि ६० प्रतिशत कट्न सकेको छैन । सो मन्त्रालयका लागि गत आर्थिक वर्षमा ५६ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ५७.९५ प्रतिशत मात्र खर्च भएको छ। मन्त्रालयले विनियोजित पुँजीगत बजेटमा ३२ अर्ब ६४ करोड रुपैयाँ खर्चिएको हो। स्रोत सहमति आउन ढिला हुँदा केही आयोजनामा खर्च कम देखिएको सहरी विकास मन्त्रालयले जनाएको छ।

प्रदेश र स्थानीय तहमा गएका केही योजना पुनः संघमा फर्काउँदा पछि ती कार्यक्रमलाई पूर्वतयारी गरेर ठेक्का गर्दा ढिलाइ भएकाले पनि विकास खर्च हुन नसकेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साउन ३० र ३१ गते गत आर्थिक वर्षको प्रगति समीक्षा र चालु आर्थिक वर्षको योजना तर्जुमा गोष्ठी आयोजना गरेको थियो। 


प्रकाशित : बिहीबार , साउन ३२ २०८०११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend