शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

क्वार्ज क्रिष्टल’ गोरखामै राख्न पहल गरिदिन प्रधानमन्त्रीसँग माग

images
मंगलबार, साउन ३० २०८०
images
क्वार्ज क्रिष्टल’ गोरखामै राख्न पहल गरिदिन प्रधानमन्त्रीसँग माग

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले गोरखामा भेटिएको क्वार्ज क्रिष्टल गोरखामा नै राख्नका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको उनले बताइन्।

images
images

गोरखा- गोरखा नगरपालिकाले प्रहरीले बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षाका साथ राखिएको टल्कने ढुंगा ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिसरमा राख्ने व्यवस्था मिलाइदिन माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ।

images
images
images

जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेर नगरप्रमुख कृष्णबहादुर रानामगरले प्रधानमन्त्री दाहाललाई टल्कने ढुंगा गोरखा दरबारमा नै राख्नका लागि आवश्यक पहल गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले जानकारी दिइन्।

images
images

'गोरखा नगरपालिका-७, सतिपिपलस्थित चन्द्रबहादुर शाहीको घरबाट गत असार १४ गते बरामद गरिएको टल्कने ढुंगा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरिसकेको छ', ज्ञापनपत्रमा भनिएको छ, 'शाही परिवारले पुर्खौंदेखि कुल देवताका रूपमा पूजा गर्दै आएको अलौकिक शिला गोरखा दरबारमा नै प्रतिस्थापन गर्नु उपयुक्त हुन्छ।'

images
images

प्रधानमन्त्री दाहाललाई बुझाइएको ज्ञापनपत्रमा गोरखा नगर कार्यपालिका बैठक तथा नगरपालिकासहित विभिन्न संघसंस्था र सरोकारवालाको बैठक बसेर टल्कने ढुंगा जिल्ला बाहिर पठाउन नहुने र गोरखा दरबार परिसरमा नै आवश्यक सुरक्षासहित राख्ने निर्णय गरिसकेको उल्लेख गरिएको छ।

गोरखा जिल्लाका आमनागरिक समाज, वुद्धिजीवी, संघसंस्था, राजनैतिक दल तथा सरोकारवाला सबैको मागलाई मध्यनजर गरी जनभावनाअनुसार क्वार्ज क्रिष्टल (अलौकिक शिला) धार्मिक आस्थासँग पनि जोडिएको हुँदा गोरखकाली मन्दिर परिसरमा राख्नका लागि आवश्यक सहयोगका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्रमार्फत अनुरोध गरिएको उपप्रमुख थोकरले जानकारी दिइन्।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले गोरखामा भेटिएको क्वार्ज क्रिष्टल गोरखामा नै राख्नका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको उनले बताइन्। खानी तथा भूगर्भ विभागले बरामद गरिएको क्वार्ज क्रिष्टल खानी तथा भूगर्भ विभागमा पठाउन जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएपछि गोरखा नगरपालिकासहित जिल्लाभित्रका विभिन्न संघसंस्थाले कुनै पनि हालतमा बाहिर पठाउन नहुनेमा जोड दिँदै आएका छन्।

गोरखा नगपालिका गोरखाले बैठक नै बसेर प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल गोरखा दरबार परिसरमा राख्ने निर्णय गरिसकेको छ। शाही परिवारले पनि आफ्नो धार्मिक आस्थाको रूपमा रहेको अलौकिक शिला ‘क्वार्ज क्रिष्टल’ लाई गोरखकाली मन्दिर परिसरभित्रै नै राख्नुपर्ने र आफूहरूले चाहेका बेला समयसमयमा पूजा गर्न पाउनुपर्ने इच्छा व्यक्त गर्दै आएको छ।

गोरखावासीहरूले खानी तथा भूगर्भ विभागमा राखे पनि पनि क्वार्ज क्रिष्टल राज्य कै हुने र गोरखा दरबारमा राखे पनि पनि राज्यकै सम्पत्तिको हुने भएकाले अलौकिक शिला गोरखा दरबारमा राख्नुपर्ने भन्दै यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनलाई थप सहयोग पुग्ने बताउँदै आएका छन्। रासस


प्रकाशित : मंगलबार, साउन ३० २०८०१३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend