आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

प्राधिकरणको नेतृत्वमा ४ हजार मेगावाटका दर्जन आयोजना निर्माणको चरणमा, झन्डै १० खर्ब लागत

मंगलबार, साउन ३० २०८०
प्राधिकरणको नेतृत्वमा ४ हजार मेगावाटका दर्जन आयोजना निर्माणको चरणमा, झन्डै १० खर्ब लागत

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले ३ हजार ९ सय ९ मेगावाट बिजुली उत्पादनका लागि आयोजना अगाडि बढाएको छ। जसका लागि झन्डै १० खर्ब रूपैयाँ लगानी आवश्यक पर्दछ।  

हाल निजी र प्राधिकरणको गरी कुल जडित क्षमता २ हजार ८ सय २२ मेगावाट पुगिसकेको छ। प्राधिकरणले नै आफ्नो नेतृत्वमा  निर्माण गरेर ठूला र साना आयोजनाका काम अगाडि बढाएको छ।

प्राधिकरणले १०६० मेगावाट जडित क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानीका लागि वित्तीय स्रोत जुटाउने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आयोजनास्थलमा कार्यालय तथा कर्मचारी आवासगृह निर्माण अन्तिम चरणमा पुगेको छ। अहिले २ किलोमिटर सुरुङसहित करिब २४ किलोमिटर प्रवेश सडक निर्माण सुरु भएको छ। आयोजनाको निर्माण सुपरीवेक्षणका लागि परामर्शदाता छनौट अन्तिम चरणमा पुगेको छ।

त्यस्तै ४९० मेगावाट जडित क्षमताको अरुण-४ जलविद्युत आयोजना प्राधिकरण र सतलज जलविद्युत निगम, भारतबीच साझेदारीमा निर्माण गर्न समझदारीम पत्रमा हस्ताक्षर गरिएको छ। आयोजनालाई अगाडि बढाउन संयुक्त उपक्रम कम्पनी स्थापना गर्न प्रक्रिया अगाडि बढाइएको छ। 

चैनपुर सेती २१० मेगावाटको आयोजना निर्माण अगाडि बढाउन जग्गा अधिग्रहण लगायतका कार्यहरू भइरहेका छन्।

प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको कम्पनी अगुवाइमा निर्माणाधीन २७० मेगावाटका ४ जलविद्युत् आयोजनाहरूको निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ। १०८० मेगावाटका आयोजना निर्माण हुनेछ। ‍६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको छ भने लगानीका लागि दातृ निकाय एसियाली विकास बैंक लगायतसँग आवश्यक प्रकृया अगाडि बढाइएको छ।

९९ मेगावाटको तामाकोशी पाँचौ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरी निर्माण कार्य सुरु गर्न निर्माण व्यवसायी छनोटका लागि खरिद प्रक्रिया अगाडि बढाइएको छ।

साथै ६० मेगावाट मोदि जलविद्युत आयोजनाको बोलपत्र आव्हान गरि निर्माण प्रकृया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ। उत्तरगंगा, आँधीखोला लगायत सुनकोशी ४ तथा केही पम्प स्टोरेज जलविद्युत आयोजनाहरूको अध्ययन सुरु गरेको प्राधिकरणले जनाएको छ। 

हालसम्म प्रणालीको जडित क्षमता कुल २८२२ मेगावाट पुगेको छ भने आव२०७८/७९ र २०७९/८० मा क्रमशः ७५१ मेगावाट र ६३२.३७ मेगावाट गरी जम्मा १३ सय ८३ मेगावाटका जलविद्युत तथा सौर्य आयोजनाहरूबाट उत्पादन सुरु भएको छ।


प्रकाशित : मंगलबार, साउन ३० २०८००१:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend