शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

वर्षा हुँदा डुबानको त्रास र नहुँदा कृषि बाली प्रभावित हुने चिन्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २४ २०८०
images
वर्षा हुँदा डुबानको त्रास र नहुँदा कृषि बाली प्रभावित हुने चिन्ता

वर्षासँगै धनगढी-डेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गतको बूढीतोला सडकखण्ड ठाउँठाउँमा भासिएको छ।

images
images

सुदूरपश्चिम- कैलालीको कैलारी गाउँपालिका-५ बिसनपुर गाउँका मानबहादुर चौधरी वर्षा भइरहँदा नजिकैको मोहना नदीले निम्त्याउन सक्ने डुबान र कटानको जोखिमको त्रासमा रातभर जाग्राम बस्छन्।

images
images
images

'वर्षा मौसममा मोहनामा बाढी उर्लिएर आउँदा निम्तिन सक्ने जोखिम न्यूनीकरणका लागि गाउँवासीलाई निरन्तर सूचना दिनुपर्छ, गए राति १० बजेदेखि आफू नसुतेरै नदीको बहाव मापन गर्दै रात काटियो' उनले भने। उनी मोहना नदीको बहाव मापन गर्ने जिम्मेवारी (गेज रिडर)का रूपमा काम गर्दै आएका छन्। राति चेतावनी तहमा पुगेको मोहनाको बाढीको बहाव आज मध्याह्नदेखि घट्दै गएको उनले बताए।

images
images

सोही गाउँका सुरेश चौधरीले वर्षा नभए किसानलाई खेती गर्न समस्या, बढी वर्षा भए डुबान कटानको समस्याले नदी तटीय क्षेत्रका बासिन्दाले हैरानी खेप्नुपरेको बताए। उनले भने, 'बढी वर्षा हुँदा डुबान कटानको त्रास, वर्षा नहुँदा पानीको अभावमा खेतीपाती बिग्रिने पिर।'

images
images

वर्षायाममा जिल्लाको होचो भूभागको बस्तीका घरपरिवारका सदस्य राति नसुतेरै जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनीहरूको अनुभव छ। वर्षाका कारण हुनसक्ने डुबान एवं कटानको त्रासका कारण नदी तटीय क्षेत्र नजिकको होचो भूभागको बस्तीका धेरै परिवार रातमा जाग्राम बसेरै बिताउने गर्छन्।

बिसनपुरका गाउँका मानबहादुरसहितका परिवार नजिकैको मोहना नदीको बाढीको त्रासमा रातमा निदाउँदैनन्। उत्तरबाट दक्षिणतर्फ बग्ने नदीको सतहमा बालुवा, माटो, ढुङ्गा थुप्रिँदा यसको सतह पनि बढेको छ। जसका कारण सामान्य वर्षा हुँदा पनि नदीको बाढी गाउँबस्तीमा पुगेर क्षति हुने गरेको छ।

उनीहरूका अनुसार तीन चार दशक पहिले बस्तीमा बितण्डा मच्चाउने गरी नदीमा एक्कासि यस्तो बाढी आउँथेन। पछिल्ला वर्षमा नदीमा एक्कासि बाढी आउने समस्या बढ्दै जाँदा डुबान र कटानको जोखिम बढ्दै गएको छ।

वर्षासँगै जिल्लाका विभिन्न नदीको बाढी बस्तीमा पसेपछि भजनी, गोदावरी, घोडाघोडी, जोशीपुर र कैलारी क्षेत्रमा गरी झण्डै चार सय ६३ घर र एक पसलमा पानी पसेर क्षति पुगेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।

जिल्लाका विभिन्न ठाउँमा डुबानबाट बिचल्लीमा परेका व्यक्तिको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरेको छ। जिल्लाको गोदावरी नदीमा आएको बाढीले गोदावरीधाम परिसरमा रहेका मठमन्दिरलगायतका धार्मिक संरचनामा क्षति पुर्‍याएको छ। बाढीपछि जोखिममा परेका बटुकलगायतका व्यक्तिलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाको संयुक्त पहलमा उद्धार गरिएको थियो।

वर्षासँगै धनगढी-डेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गतको बूढीतोला सडकखण्ड ठाउँठाउँमा भासिएको छ।

जङ्गे सीमास्तम्भ बग्यो

पश्चिमबाट पूर्वतर्फ हुँदै बग्ने मोहना नदीमा आएको बाढीको कटानबाट धनगढी उपमहानगरपालिका-९ को नेपाल-भारत सीमा क्षेत्र नजिकको ७४८ नम्बरको जङ्गे सीमास्तम्भ बगाएको छ। वडाअध्यक्ष प्रेमबहादुर भण्डारीले नदीले कटान गर्दा गए राति उक्त सीमास्तम्भ बगाएको बताए।

'सीमास्तम्भ वरिपरि दुवै देशका सुरक्षा अधिकारीको समन्वय र सहयोगमा जैविक तटबन्धन गरेका थियौँ, रातिको बाढीले सीमास्तम्भसहित जैविक तटबन्धन बगाएको छ', उनले भने, 'सीमास्तम्भ जोगाउने प्रयासका लागि विगतमा पक्की तटबन्धन निर्माणको पहलस्वरूप उपमहानगरपालिकाका प्रमुखसँग गरिएको आग्रह सफल हुन नसक्दा बाढीले अहिले सीमास्तम्भ बगाएको छ।' रासस


प्रकाशित : बुधबार, साउन २४ २०८००४:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend