शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

बाँध र निकास नहुँदा बर्सेनि डुबानको समस्या, त्रासमै बित्छ बर्सातको रात

images
मंगलबार, साउन २३ २०८०
images
बाँध र निकास नहुँदा बर्सेनि डुबानको समस्या, त्रासमै बित्छ बर्सातको रात

बाढी पसेपछि पीडितलाई राहत बाँड्नेभन्दा यसको दीर्घकालीन समाधानतर्फ लाग्नुपर्ने स्थानीय तथा सरोकारवाला बताउँछन्।

images
images

लुम्बिनी- लुम्बिनी सांस्कृतिक नगरपालिका-२ भरथापुरका भुलई धुनियाको घर खोला तटबाट एकसय मिटरभित्र छ। बर्खाको समयमा दानव खोलाको बाढीले बर्सेनि घर डुबानमा पर्ने हुनाले उनलाई गाउँमा रहेको आश्रयस्थलमा बिताउनुपर्ने बाध्यता छ। 

images
images
images

दानव खोलाको बाढीले जग्गा कटान गर्दै खोला बस्तीतर्फ लम्किँदैछ। हजारौँ बिघा खेतीयोग्य जमिन कटान भएको छ। कैयौँ परिवार विस्थापित भइसकेका छन्।

images
images

'बर्खासँगै हाम्रो दुःखका दिनको सुरुवात हुन्छ, बर्सातको रात त्रासमै बित्छ, बर्खाको मौसम सकिएपछि मात्र सुरक्षित महसुस गर्छौँ', ६५ वर्षीय भुलई धुनियाले भने, 'बाबु-बाजेले भोग्दै आएको त्यो दुःखबाट हाम्रा सन्ततिले कहिले छुटकारा पाउलान्?'

images
images

खोला किनारमा जम्मा दुई किलोमिटर बाँध र तटबन्ध निर्माण भए बाढीको समस्याबाट बस्ती र जग्गाजमिन जोगाउन सकिने सोही गाउँ बस्ने ८५ वर्षीय सोमइ मल्लाहको भनाइ छ। 'धेरै पहिलाको कुरा हो, भरथापुर गाउँ उत्तर-दक्षिण सर्पाकारमा बगेको दानव खोलाको पश्चिमी तटमा थियो। गाउँ घेरेर सर्पाकार बगेको दानवले बाटो सिधा फेरेपछि घर-जग्गा गुमाउँदै हामी पूर्व भयौँ, कटान र डुबान अहिले पनि उस्तै छ, अब कहाँ जाने?', चिन्ता व्यक्त गर्दै उनले भने।

कुल ८८ घरधुरीका भरथापुरवासीको पीडा धुनिया र सोमइ मल्लाहकै जस्तो छ। उनीहरूका लागि दानव खोलाको बाढी र डुबानबाट जोगिन बाढी प्रतिकार्य तथा पुन:लाभ परियोजनाले गाउँमा बनाइदिएको सुरक्षित आश्रयस्थल एकमात्र सहारा बनेको छ। जिल्ला समन्वय समिति रूपन्देहीबाट तीन लाख ५० हजार रूपैयाँ, परियोजनाको तर्फबाट विकास तथा प्रकोप व्यवस्थापन केन्द्र र कारितास नेपालको १४ लाख ६० हजार रूपैयाँ तथा स्थानीयको श्रमदानमा भरथापुरको रामजानकी मन्दिर हातामा २०७४ मा सो आश्रयस्थल निर्माण भएको हो ।

कोटहीमाई गाउँपालिका वडा नं १, २ र ५ को सिमाना दुइमोहान भन्ने ठाउँ दानो र तिनाउ खोलाको संगमस्थल हो। दुवै खोला जोडिएको त्यो ठाउँबाट दानव खोलाको बाढीले बढी नै क्षति गर्ने गरेको स्थानीयवासी बताउँछन्। दानव खोलाबाट हुने कटान र डुबान भरथापुरवासीका लागि नियमित र निकै पुरानो व्यथा बनेको छ। भरथापुर गाउँको पश्चिम किनारामा दानव खोला, उत्तर, पूर्व र दक्षिणतर्फबाट (दानवले वर्षौँ पहिला बाटो फेर्दा छोडेको) छुटनवारा नालाको पानीले घेरेर भरथापुर ‘समुद्र बीचको टापू’ जस्तै देखिन्छ। खोला उर्लेर चारैतिरबाट घेरेपछि खोज-उद्धार गर्नुपर्ने बाध्यता छ।

सदियौँदेखिको भरथापुरबासीकोे बाढी पीडा २०६६ देखि व्यापकरूपमा बढेको र जिल्ला विपद् व्यवस्थापन समिति रूपन्देहीले पनि विपत् पूर्वतयारी प्रतिकार्य योजनामा बाढीको जोखिमपूर्ण गाउँका रूपमा उल्लेख गरे पनि राहत वितरण र उद्धारबाहेक समस्या समाधानको काम हुन नसकेको नमूना एकीकृत विकास परिषद्‌का ज्ञानु पौडेलले बताए।

'बाढीको पीडामा राहतका प्याकेज बोकेर दर्जनौँ संघसंस्थाको ताँती लाग्छ, तर राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्था समेतले राम्ररी चिनेको भरथापुरको बर्सेनि व्यथालाई स्थायी समाधानको उपाय कतैबाट छैन', लुम्बिनी साँस्कृतिक नगरपालिका-२ का पूर्व वडाध्यक्ष रमेश निसादले गुनासो पोख्दै भने, 'हामीलाई राहत होइन, सुरक्षित बासको उपाय चाहियो।'

सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मी पनि भरथापुरमा राहतका प्याकेजभन्दा अग्लो बाँध र तटबन्धको आवश्यकतामा जोड दिन्छन्।

नगरपालिकाले भरथापुरमा कटान र डुबान नियन्त्रणका लागि संघ र प्रदेश सरकारसँग स्थायी समाधानका लागि निरन्तर समन्वय गरिरहेको नगर प्रमुख सजरुद्दीन मुसलमान बताउँछन्। सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले निर्वाचनमा पनि बाढीको समस्या समाधान गर्ने एजेन्डामा प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै भने, 'दानव खोलाको कटान र डुबान नियन्त्रणका लागि खोलामा तटबन्ध र बाँधको योजनालाई कार्यान्वयन गर्न पहल गरिरहेका छौँ।' तत्काल सो क्षेत्रमा बाढीका कारण हुनसक्ने क्षति कम गर्न आवश्यक तयारी थालिने उनको भनाइ छ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेले दानवले बर्सेनि लाखौँको क्षति गर्दै आएकोतर्फ प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताए। रूपन्देहीको दक्षिणी सीमावर्ती क्षेत्रमा दानव-तिनाउ खोलाबाट हुने विपद् न्यूनीकरणका लागि अग्लो बाँध र तटबन्धका साथै अन्य सहायक खोला नालामा सरसफाइ तथा पानी निकासको प्रबन्ध मिलाइने उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, साउन २३ २०८०१२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend