आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

नागढुंगा सुरुङ मार्गको सहायक टनेलमा 'ब्रेक थ्रु', मुख्य टनेल ५ सय ६ मिटर खन्न बाँकी

सोमबार, साउन २२ २०८०
नागढुंगा सुरुङ मार्गको सहायक टनेलमा 'ब्रेक थ्रु', मुख्य टनेल ५ सय ६ मिटर खन्न बाँकी

सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो। यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ।

काठमाडौं- नागढुंगा सुरुङ मार्गको सहायक टनेलको 'ब्रेक थ्रु' भएको छ। नेपालको पहिलो सडक सुरुङमार्ग 'नागढुंगा सुरुङमार्ग'को सहायक (रेस्क्यु टनेल)को सोमबार ब्रेक थ्रु भएको हो। 

उक्त ब्रेक थ्रुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासमेत सुरुङमार्ग पुगेका थिए। २०७६ कात्तिक ४ गते शिलान्यास भइ निर्माण थालिएको सुरुङमार्गको रेस्क्यू टनेल छेड्ने काम सकिएको हो। 

मुख्य टनेलको काम भने अझै १८ प्रतिशत बाँकी रहेको आयोजनाले जनाएको छ। २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर खन्न बाँकी रहेको छ। अबको एक वर्षभित्र सवारीसाधन नै चलाउन मिल्ने गरी काम अघि बढाइएको आयोजनाको भनाइ छ। 

सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो। यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ। ९ मिटर चौडाइको मुख्य टनेल र ४ मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेको छ। जसअनुसार सोमबार रेस्क्यु टनेल छेडिएको हो। यसमा सवारीसाधन चलाउन मिल्ने अबनाउन अझै धेरै काम बाँकी रहेको आयोजनाले जनाएको छ। 

कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको हो। थपिएको समयअनुसार २०८१ सालको असोजसम्ममा सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालन ल्याउन सकिने छ। 

नागढुंगा सुरुङमार्ग आयोजनाको अध्ययन सन् २०१४ देखि सुरु भएको थियो। ‘डिटेल’ डिजाइन सन् २०१७ र २०१८ मा सम्पन्न भएको थियो भने सन् २०१९ देखि निर्माण सुरु भएको थियो।

आयोजना निर्माणका लागि २२ अर्ब लाग्ने बताइएको छ। जम्मा खर्चमध्ये १६ अर्ब जापान सरकारको ऋण अनुदानबाट गरिने छ भने बाँकी नेपाल सरकारको लगानी रहनेछ। सन् २०१९ मा निर्माण सुरु भइ ४२ महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो।

कोरोनाका कारण एक वर्ष थप गरी सन् २०२४ अप्रिल २६ सम्म निर्माण सम्पन्न गर्ने गरी समय निर्धारण गरिएको आयोजनाले जनाएको छ।


प्रकाशित : सोमबार, साउन २२ २०८०११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend