मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सौर्य ऊर्जाबाट बिजुली निकाल्दै गुठीचौर

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक २७ २०७८
सौर्य ऊर्जाबाट बिजुली निकाल्दै गुठीचौर

सौर्य ऊर्जाका लागि ३ करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको र यसबाट ५० वाटको बिजुली बत्ती बालिने छ।

खलङ्गा- जुम्लाको गुठीचौर गाउँपालिकाले  सौर्य ऊर्जाबाट बिजुली निकाल्ने भएको छ। वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जाबाट बिजुली निकाल्न थालिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए। उनले भने, 'वडाभित्र रहेका झण्डै दुई सय घरधुरीलाई बिजुलीको पहुँचमा ल्याउनका लागि सौर्य ऊर्जाबाट बिजुली बाल्न लागिएको  हो।' 

विगतदेखि नै यो वडा अन्धकार थियो। हुनेखानेले सोलार प्यानल जडान गरेर बिजुली बालिरहेका थिए। विपन्न घरपरिवारले सल्लाको दियालोको भरमा उज्यालो पारेका छन्। अन्धकारमा बस्न बाध्य यहाँका स्थानीयवासीर्ले  निकट भविष्यमै सौर्य ऊर्जाको बत्ती पाउने भएका छन्। योसँगै सल्लाको दियालो बालेर उज्यालो गर्ने युगको अन्त्य हुने छ। कुनै पनि घर बिजुलीविहीन हुने छैनन्, सबै घरधुरीमा बिजुली पुर्‍याउन स्थानीय सरकार लागिपरेको छ। गाउँगाउँमा सडक, घरघरमा बिजुली, एक घर एक धाराको अवधारणा साकार पार्न लागिएकोे अध्यक्ष भण्डारीले बताए।

सौर्य ऊर्जाका लागि ३ करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको र यसबाट ५० वाटको बिजुली बत्ती बालिने छ। गाउँपालिकाका कुनै पनि बस्ती बिजुलीविहीन नहुने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए। वर्षौंदेखिको बिजुली बाल्ने सपना पूरा हुने भएको छ। बिजुली नहुँदा विद्यार्थी र ज्येष्ठ नागरिकलाई सास्ती हुने गरेको थियो।

गुठीचौरमा ‘होमस्टे’ 

यहाँको गुठीचौर गाउँपालिकाभित्र ५३ होमस्टे सञ्चालनमा अएका छन्। सो गाउँपालिका–१ कोल्ते र चोत्रा गाउँमा जुम्ला सदरमुकाम खलङ्गा हुँदै डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई दृाष्टिगत गर्दै स्थानीयवासीले होमस्टे सञ्चालनमा ल्याएका हुन्। होमस्टेमा पर्यटकले सम्मान एवं सत्कार पाएका छन्। यहाँको रैथाने वस्तुको खानाले होमस्टे राम्ररी चलिरहेको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए।

होमस्टेको व्यवस्थापन प्रभावकारी बनाउँदै पर्यटकमैत्री व्यवहारबारे स्थानीयवासीलाई जागरुक बनाउने कार्य भइरहेको छ। अध्यक्ष भण्डारीले भने, 'होमस्टे यहाँका रैथाने वस्तुको प्रवर्द्धन र स्थानीय भाषा संस्कृतिको संरक्षणका लागि स्थापना भएका हुन्। होमस्टेमा आउँदा पर्यटकले आफ्नो घरमा पुगेको जस्तो अनुभूति गरून् भन्ने हेतुले सबै व्यवस्थापन भएको छ।'

गाउँपालिकाले होमस्टे सञ्चालनका लागि सहयोग गर्ने गरेको अध्यक्ष भण्डारीले बताए। होमस्टे व्यवस्थित बनाउनका लागी पालिकाले होमस्टे सञ्चालकलाई आवश्यक सामाग्री प्रदान गरेको गाउँपालिकाको स्टोर शाखाप्रमुख मोतिप्रसाद जैसीले बताए। रासस


प्रकाशित : शनिबार, कात्तिक २७ २०७८०७:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend