आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

अतिक्रमित संरचना हटाएर फराकिलो बनाइँदै नगरका मुकाम

images
मंगलबार, साउन १६ २०८०
images
अतिक्रमित संरचना हटाएर फराकिलो बनाइँदै नगरका मुकाम

बागलुङ र जैमिनी नगरपालिकाले नगरका मुकाम रहेका बजार क्षेत्रको सडक फराकिलो बनाउन लागेका छन्।

images
images

बलेवा- नगरका मुकाम रहेका बजार क्षेत्रको सडक फराकिलो बनाउन बागलुङ र जैमिनी नगरपालिकाले सक्रियता बढाएका छन्। जिल्ला सदरमुकामसमेत रहेको बागलुङ बजारमा नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र रहेका संरचना हटाउन सार्वजनिक सूचना गरेको हो। जैमिनी नगरपालिकाले गत आर्थिक वर्षमै पालिका मुकाम रहेको कुश्मीशेरा बजारका दर्जनौँ कच्ची तथा पक्की संरचना भत्काएको थियो।

images
images
images

बागलुङ नगरपालिकाले पनि सोमबार अन्तिम पटकको सूचना भन्दै साउन मसान्तसम्म सडक मापदण्डमा पर्ने संरचना हटाउन भनेको छ। संरचनाहरु तोकिएको समयमा नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४५ को उपदफा ४ बमोजिम भदौ १ गतेदेखि नगरपालिकाले नै हटाउने उल्लेख गरिएको छ।

images
images

सडक क्षेत्राधिकारभित्र बने/बनाइएका घर, टहरा, पर्खाल, ट्रस, छाना, रेलिङ, अव्यवस्थितरूपमा टिकट काउन्टरलगायत अन्य स-साना व्यवसाय गर्ने ट्यांकीजस्ता संरचनाहरु तथा सडकमा राखिएका निर्माण सामग्रीहरु रड, सिमेन्ट, साइनबोर्ड हटाउन नगरले अनुरोध गर्दै आएको हो।

images
images

सडकमै बनेका संरचनाका कारण पैदल यात्रु र सवारी साधनसमेतलाई असहज भएको, वातावरण तथा नगरको सौन्दर्यमा समेत प्रतिकूल असर पुर्‍याएको सूचनामा उल्लेख छ।

सडक क्षेत्राधिकार भित्रका त्यस्ता संरचना हटाएर सहरी सौन्दर्यकरणलाई दिगोरूपमा व्यवस्थापन गरी सफा, सुन्दर र हराभरा  नगर निर्माणको अभियानमा सहयोग गर्न नगरवासीलाई अनुरोध गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए।

उक्त नगरपालिकाले यसभन्दा अघि ९० दिनको म्याद राखी सूचना प्रकाशन गरे पनि त्यस्ता संरचना नहटाइएपछि अन्तिम पटक भन्दै पुनः सूचना निकालेको हो।

जैमिनी नगरपालिकाले पनि पटकपटक सूचना गरेर सडक मापदण्डमा पर्ने संरचना हटाएको छ। उक्त नगरपालिकाको कुश्मीशेरा बजारका अधिकांश संरचना स्थानीय आफैले हटाएको थियो। 'हाम्रो बजार क्षेत्रका अधिकांश कच्ची तथा पक्की घर मापदण्ड कार्यान्वयनको मारमा परे, केही घर त पुनः प्रयोग गर्न नमिल्ने गरी फालिएका छन्', वडानं १ कुश्मीशेराका अध्यक्ष विष्णु आचार्यले भने, 'पालिका मुकाम भएकाले कुश्मीशेरा बजारबाटै सडक मापदण्ड कायम गराउने काम सुरु भएको हो।'

नगरपालिकाले मुकामको मूल सडक आठ मिटर र भित्री सडक छ मिटर कायम हुनुपर्ने मापदण्ड बनाएको छ। कुश्मीशेरा बजारवासीले आफ्नै सक्रियतामा अधिकांश संरचना हटाएकाले नगरपालिकाले संरचना भत्काउन नपरेको उनले बताए।

बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले साँघुरा सडकका कारण दुर्घटनाको जोखिम बढेको भन्दै पटक-पटक सडकपेटीमा कुनै पनि व्यावसायिक सामग्री नराख्न आग्रहसमेत गर्दै आएका थिए।

कुश्मीशेरा बजारमा कार्यान्वयन भएको नगरको निर्देशन बागलुङ बजारमा भने अटेरी भएपछि पछिल्लो साता नगरपालिकाले सडक नै कब्जा गर्नेगरी राखिएका सामग्री जफतसमेत गरेको थियो। रासस


प्रकाशित : मंगलबार, साउन १६ २०८०१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend