आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा पहिरोको जोखिम

images
मंगलबार, साउन १६ २०८०
images
बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा पहिरोको जोखिम

कालोपत्र गर्ने लक्ष्यसहित सञ्चालित आयोजनामा भएको ढिलाइले म्याग्दीको उत्तरी क्षेत्रका साथै मुस्ताङका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सास्ती हुने गरेको छ। साँघुरो, जीर्ण, ग्रेड तथा घुम्ती नमिलेको सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ।

images
images

गलेश्वर- राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी-जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी-दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ।

images
images
images

सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट पहिरो खस्ने र सडक तलको जमिन लच्किने समस्याले यी दुई सडकमा यात्रा गर्ने यात्रु र चल्ने सवारीसाधन सधैँ जोखिममा पर्ने गरेका छन्। बाह्र वर्षअघि ट्रयाक खुलेको बेनी-जोमसोम सडक स्तरोन्नतिमा भएको ढिलाइ र कच्ची भूगोलका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण पटक-पटक सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको हो। ७६ किलोमिटर दुरीको सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि लम्बिँदा पनि समस्या उत्पन्न भएको यातायात व्यवसायीको गुनासो छ।

images
images

कालोपत्र गर्ने लक्ष्यसहित सञ्चालित आयोजनामा भएको ढिलाइले म्याग्दीको उत्तरी क्षेत्रका साथै मुस्ताङका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सास्ती हुने गरेको छ। साँघुरो, जीर्ण, ग्रेड तथा घुम्ती नमिलेको सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ। विभिन्न ठाउँमा पहिरो खसेर दैनिक तीन-चारपटक सडक अवरुद्ध हुन्छ। घण्टौँसम्म जाम हुँदा यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन्, ठाउँठाउँमा गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्नुपरेको यात्रुको गुनासो छ।

images
images

सडक विस्तारका क्रममा निस्किएको माटोको व्यवस्थापन नहुँदा कालीगण्डकीमा बाढी आएर तटीय बस्तीमा कटान गरेको छ। दानाको फगाम, गुइँठे र काभ्रेको बस्ती पहिराको जोखिममा परेको छ। बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा सास्ती भएको सवारी चालक टेकबहादुर हर्मेलले बताए। 'जीर्ण र पहिराको जोखिमयुक्त सडकमा गाडी चलाउन जोखिम र सास्ती छ', उनले भने, 'सामान्य अवस्था भए बेनीबाट चार घण्टा लाग्ने सडकमा वर्षामा त दुई दिनसम्म लाग्ने गर्छ।'

म्याग्दीको गलेश्वरबाट मुस्ताङको लेतेसम्मको सडक जोखिमयुक्त भएको यातायात व्यवसायी सुमन श्रेष्ठले जानकारी दिए। 'यात्रु र गाडीको चाप बढे पनि सडकको अवस्था बेहाल छ', उनले भने। विसं २०७४ असारमा चारवटा प्याकेज (भाग) मा विभाजन गरिएको सडक स्तरोन्नतिका लागि विभिन्न कम्पनीले दुई अर्ब ५० करोड रूपैयाँमा ठेक्का लिएका थिए।

गत शुक्रबारदेखि बेनी-जोमसोम सडकका विभिन्न खण्डमा पहिरो गएपछि यात्रु र यातायात व्यवसायीलाई समस्या भएको छ। म्याग्दीको वैंसरीबाट मुस्ताङको लेतेसम्म सात ठाउँमा पहिरो गएकाले यातायातका साधन अवरुद्ध हुने गरेका यातायात व्यवसायीले बताएका छन्।

यसैगरी बेनी-दरवाङ सडकखण्डको अवस्था पनि अत्यन्त दयनीय छ। सडकको ट्रयाक खुलेको १८ वर्ष बितिसक्दा पनि पहिराको समस्या समाधान हुनसकेको छैन। विसं २०६२ मा ट्रयाक खुल्नुअघिको पहिराको समस्या रहेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको सडकखण्ड अहिले सबैभन्दा बढी जोखिमयुक्त बनेको छ।

पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन्। सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको यो सडकखण्डका सवारी चालक वीरबहादुर विकले बताए।

ढुंगा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो। 'वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ', उनले भने, 'फापरखेतको पहिरो बेनी-दरवाङ सडकको दीर्घरोगजस्तो भएको छ।' उनका अनुसार पहिराबाट खसेको ढुंगाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन्।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कालोपत्रसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दुरीको बेनी-दरवाङ सडकमा फापरखेतसहित तीन ठूलो पहिरो छन्। मंगला गाउँपालिका-२ को लाम्पाटाको पहिरो पछिल्लो पाँच वर्षयता रोकिएको छ। मालिका गाउँपालिकाको बांगे पहिराले पनि बेलाबेलामा दुःख दिने गरेको स्थानीयले बताउँछन्।

पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्नेबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए। 'फापरखेत, लाम्पाटा र बांगेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ', उनले भने, 'ठस्लो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ।' रासस


प्रकाशित : मंगलबार, साउन १६ २०८००५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend