आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

व्यावसायिक भवन तथा सेवा प्रदायकले पार्किङ शुल्क लिए? यो नम्बरमा गर्नुहोस् गुनासो

काठमाडौं महानगरले तोक्यो सम्पर्क अधिकारी

images
सोमबार, साउन १५ २०८०
images
व्यावसायिक भवन तथा सेवा प्रदायकले पार्किङ शुल्क लिए? यो नम्बरमा गर्नुहोस् गुनासो

ऐनमा बहुतले आवासीय वा व्यावसायिक भवनहरुमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङबापतको शुल्क संकलन गर्न निषेध गरिएको छ। सेवाग्राही बाहेक अन्यसँग मात्र पार्किङ शुल्क लिन सकिनेछ। 

images
images

काठमाडौं- व्यवसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल गुनासो गर्न काठमाडौं महानगरपालिकाले सम्पर्क अधिकारीका रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ।

images
images
images

आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाइ गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

images
images

उनले सेवा लिएका ठाउँबाट पार्किङ शुल्क लिए तत्काल ९८५१०५१६१० मा सम्पर्क गर्न अनुरोध समेत गरकेा छन्।

images
images

काठमाडौं महानगरको आर्थिक ऐन २०८० ले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ गरेबापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ। ऐनका व्यवस्था कार्यान्वयन गर्न/ गराउन अनुरोध गर्दै महानगरले सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ।

व्यवस्था कार्यान्वयन गराउन नगर प्रहरीको टोली त्यस्ता ठाउँमा पुगेर जानकारी गराउने गरेका छन्। यति हुँदा पनि कतिपय सेवाग्राहीले शुल्क तिर्नुपरेको गुनासो आइरहेपछि महानगरले सम्पर्क अधिकारीमार्फत गुनासो सुन्ने प्रबन्ध मिलाएको हो। 

ऐनमा बहुतले आवासीय वा व्यावसायिक भवनहरुमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङबापतको शुल्क संकलन गर्न निषेध गरिएको छ। सेवाग्राही वाहेक अन्यसँग मात्र पार्किङ शुल्क लिन सकिनेछ। 

सार्वजनिक सडकहरुमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति दिइने छैन। ऐनले निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरेको छ।

महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्ग (फुटपाथ) बाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्किङ सुविधा उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरिएको छ। यो ऐन जारी भएकाबखत महानगरपालिकाले अवधि तोकेर पार्किङ सुविधा उपलब्ध गराएका स्थानका लागि क्षेत्र तोकेर शुल्क निर्धारण भएको छ। 

यस्ता स्थानमा पार्किङ गराउँदा स्पष्ट रेखांकन गरेर प्रवेश र वहिर्गमन फरक फरक हुने गरी प्रविधि प्रयोग गरेर व्यवस्थापन गर्नु पर्नेछ। क्षेत्र र समयका आधारमा महानगर आफैले वा निजी क्षेत्रको सहयोगमा पार्किङ सञ्चालन व्यवस्थापन हुनेछ।

कुन सवारीसाधनलाई कति पार्किङ शुल्क?

न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौंको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ। यस क्षेत्रमा सवारी साधन पार्किङ गरेबापत २ पांग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रूपैयाँ र प्रतिघण्टा २५ रूपैयाँ कायम गरिएको छ। यसैगरी ४ पांग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रूपैयाँ र प्रतिघण्टा ८० रूपैयाँ कायम गरिएको छ। 

क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रकाका अन्य ठाउँलाई क्षेत्र नम्बर २ मानिएको छ। यी क्षेत्रमा २ पांग्रे सवारी साधन पार्किङ गरेबापत प्रतिघण्टा १५ रूपैयाँ, ४ पांग्रेका लागि ४० रूपैयाँ र ४ पांग्रेभन्दा ठूला सवारीका लागि प्रति घण्टा १०० रूपैयाँ कायम गरिएको छ।

निजी क्षेत्रबाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रुपमा सञ्चालित पार्किङमा २ पांग्रे सवारी साधनमा पहिलो आधा घण्टाका लागि १५ रूपैयाँ, पहिलो १ घण्टाका लागि २५ रूपैयाँ र त्यसपछि हरेक १५ मिनेटका लागि ५ रूपैयाँ थप शुल्क लिन सकिनेछ। यस्तै ४ पांग्रे सवारी साधनका लागि पहिलो आधा घण्टाका लागि ४० रूपैयाँ, पहिलो एक घण्टाका लागि ७५ रूपैयाँ र त्यसपछि प्रत्येक १५ मिनेटका लागि थप १५ रूपैयाँ शुल्क लिन सकिनेछ।

पार्किङ क्षेत्रमा अनिवार्य रुपमा महानगरपालिकाले दिएको स्वीकृत पार्किङ संकेत वा चिन्ह प्रयोग गरेर सूचना पाटी राख्नु पर्नेछ। सूचना पाटीमा पार्किङ दर्ता नम्बर, पार्किङसम्बन्धी विवरण र शुल्क उल्लेख भएको हुनु पर्नेछ। पार्किङ शुल्क उठाउँदा डिजिटल प्रणालीबाट अनिवार्य बिलिंग गर्नु पर्नेछ। यसको विवरण नियमित रुपमा महानगरपालिकामा पेस गर्नु पर्नेछ।

अपांगता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनहरुलाई पार्किङ शुल्क लाग्ने छैन। यस्तै आपतकालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई नि:शुल्क पार्किङको व्यवस्था हुनेछ। 


प्रकाशित : सोमबार, साउन १५ २०८००६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend