आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

बेनी-दरबाङ सडकमा सधैँ पहिरो, दीर्घकालीन योजना नहुँदा बर्षेनि सास्ती

images
शनिबार, साउन १३ २०८०
images
बेनी-दरबाङ सडकमा सधैँ पहिरो, दीर्घकालीन योजना नहुँदा बर्षेनि सास्ती

सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको छ। ढुंगा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

images
images

म्याग्दी- बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी-दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ। उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो।

images
images
images

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो। पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन्।

images
images

धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको बेनी नगरपालिका-४ का वडा सदस्य प्रेम श्रीसले बताए। सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको उनले बताए।

images
images

ढुंगा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको श्रीसको भनाइ थियो। 'वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ', उनले भने, 'फापरखेतको पहिरो बेनी-दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ।' उनका अनुसार पहिरोबाट खसेको ढुंगाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन्।

करिब एक सय ५० मिटर सडक पहिरोग्रस्त छ। पाखो र भिरको बीचमा खनिएको सडक मुनि म्याग्दी नदी छ। 'सडक माथिको भिरमा गेगरै गेगर छ। खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन', श्रीसले भने, 'म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ।' उनका अनुसार सडकदेखि करिब दुई सय माथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ।

'पानी पर्दा गाडी चल्दैनन्, पैदलयात्रा गर्न पनि ढुंगा खसिरहने भएकाले जोखिम छ', मंगला गाउँपालिका-१ पूर्णगाउँका बेलबहादुर पाण्डेले भने, 'यही पहिरोका कारण कतिपय बिरामीलाई समयमा अस्पताल पुर्‍याउन सकिएको छैन।'

उनका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कालोपत्रसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी-दरबाङ सडकमा फापरखेतसहित तीन ठूलो पहिरो छन्। मंगला गाउँपालिका-२ को लाम्पाटाको पहिरो पछिल्लो पाँच वर्षयता रोकिएको छ। मालिका गाउँपालिकाको बांगे पहिरोले पनि बेलाबेलामा दुःख दिने गरेको उनले बताए।

पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए। 'फापरखेत, लाम्पाटा र बांगेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ', उनले भने, 'ठूलो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ।'

स्थानीय जीवन खत्रीले फापरखेतको पहिरो नियन्त्रण सम्भव नभएकाले वैकल्पिक मार्ग बनाउनुपर्ने बताए। 'फापरखेतदेखि पखेर जोड्ने सडकमा पुल हालै निर्माण सकिएको छ', उनले भने, 'पखेर र पहिरोभन्दा माथि म्याग्दी नदीमा बेलिब्रिज जडान गरेर वैकल्पिक मार्ग खोल्ने चर्चा सुनेपछि मैले जग्गा पनि दिएको थिए तर काम भएको छैन।'

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले फापरखेतको पहिरोको समस्याका विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए। भूगर्भविद् र प्राविधिकको टोलीमार्फत पहिरो नियन्त्रण गर्ने अथवा वैकल्पिक सडकको अध्ययन गरेर टोलिले दिने सुझावका आधारमा समस्या समाधानको पहल गर्ने उनले बताए। रासस


प्रकाशित : शनिबार, साउन १३ २०८००७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend