आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

यार्सा बेचेर करोडौँ आम्दानी

images
शुक्रबार, साउन १२ २०८०
images
यार्सा बेचेर करोडौँ आम्दानी

व्यापार, खेतीपाती र नोकरीभन्दा महिनादिनभित्र यार्सा टिपेर बढी आम्दानी हुने भएकाले यस मौसममा यहाँका स्थानीय अन्य काम छोडेर यार्सा टिप्न पाटनहरुमा पुग्ने गर्दछन्। यार्सा व्यापारी पाटनमै पुगेर यार्सा संकलकसँग यार्सा खरिद गर्ने भएकाले यार्सा बिक्री गर्न संकलकलाई बजारको समस्या हुँदैन। पाटनमै टिप्ने उतै बेच्ने पैसामात्र घर ल्याउने गर्दछन्।

images
images

मुगु- गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन्। जिल्लाका सोरु, मुगुम कार्मारोंग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा बेचेर गाउँमा करोडौँ रकम भित्र्याएका हुन्।

images
images
images

देशभर आर्थिक मन्दी भइरहँदा मुगालहरुले भने गाउँमा करोडौँ रकम भित्र्याइरहेका छन्। गत जेठ ५ गते मुगुका दुई दर्जनभन्दा बढी पाटनमा यार्सा संकलनका लागि मुगुम कार्मारोंग गाउँपालिकाले प्रवेश अनुमति खुल्ला गरेको थियो।

images
images

यस वर्ष पाटन तथा हिमालमा यार्सा टिप्न जिल्लाका स्थानीयका साथै दैलेख, जाजरकोट, जुम्ला, डोल्पा, कालीकोट, हुम्ला, मनाङ, मुस्ताङ, बाजुराबाट पनि संकलकहरु आएको यार्सा संकलन छोर्तेन लामाले बताए। उनका अनुसार वर्षाको समय भएकाले पानी र हिउँका कारण यार्सा पाइएको थिएन। असार ५ गतेपछि मौसममा सुधार आएकाले पर्याप्त यार्सा पाइएको उनको भनाइ थियो।

images
images

छायाँनाथ रारा नगरपालिका-१२ लुम्सका कम्वर ऐडीले यार्सा टिप्न पाटन गएका भाइबुहारीले मात्र २५ दिनमा यार्सा बेचेर साढे चार लाख रूपैयाँ आम्दानी गरेको बताए। गाउँभरिका यार्सा टिप्न जाने प्रत्येकले दुई लाख रूपैयाँ बढी आम्दानी गरेका भन्दै यस वर्ष लुम्स गाउँमा मात्रै ३० देखि ५० लाख रूपैयाँसम्म रकम भित्रिएको उनले अनुमान गरे।

वडा नं १२ शोभा गाउँका स्थानीय गणेशबहादुर सावतका अनुसार यार्सा बेचेर गाउँमा एक करोड रूपैयाँभन्दा बढी आम्दानी भएको छ। उनका अनुसार मुगालीहरु वर्षभरि खान र वार्षिक आवश्यकताका लागि खर्चको जोहो एक महिना यार्सा टिपेर बेचेको पैसाबाट गर्दै आएका छन्।

व्यापार, खेतीपाती र नोकरीभन्दा महिनादिनभित्र यार्सा टिपेर बढी आम्दानी हुने भएकाले यस मौसममा यहाँका स्थानीय अन्य काम छोडेर यार्सा टिप्न पाटनहरुमा पुग्ने गर्दछन्। यार्सा व्यापारी पाटनमै पुगेर यार्सा संकलकसँग यार्सा खरिद गर्ने भएकाले यार्सा बिक्री गर्न संकलकलाई बजारको समस्या हुँदैन। पाटनमै टिप्ने उतै बेच्ने पैसामात्र घर ल्याउने गर्दछन्।

पाटनमा यार्सा व्यापारीले खाल्वा (ठूलो, राम्रो) यार्सालाई प्रतिबुटी आठ सय र मध्यमलाई प्रतिबुटी चार सय ५० रूपैयाँसम्म दिएका सावतले बताए। उनका अनुसार खाल्वा यार्सा एक केजी पुग्न तीन हजार दुई सय बुटी र मध्यम यार्सा एक केजी पुग्न चार हजारदेखि ४२ सय बुटी आवश्यक पर्दछ।

यार्सा बेचेर मुगुम कार्मारोंग गाउँपालिकाका सबै बस्ती तथा छायाँनाथ रारा नगरपालिकाका केही बस्तीमा सबैभन्दा बढी रकम भित्रिएको यार्सा संकलक बताउँछन्। त्यस्तै, मह गाउँमा मात्रै चार करोड रूपैयाँभन्दा बढी रकम भित्रिएको स्थानीय बताउँछन्।

माग्री, पाँपु, छाइल, चिमात, दाउरा, सेरोग, कार्ति, किम्री, डोल्फु, पुअ, मुगु, ताखा, खारी गाउँमा ५० लाखदेखि एक करोड रूपैयाँसम्म रकम भित्रिएको मुगु गाउँका स्थानीय छोर्तेन लामाले जानकारी दिए। उनका अनुसार मुगु गाउँमा मात्रै रू तीन करोडभन्दा बढी रकम भित्रिएको छ। नगरपालिका भित्रका तल्लेख, झाकोट, बालचौर, रोवा, सोभा, लुम्स, घटटलेख, जिउला, र्‍यांगच्याकाटी, थार्प, लुम, बाम, तिर्प, लह, लापुँ गाउँका स्थानीय पनि यार्सा बेचेर मनग्य आम्दानी गरेका छन्।

मुगुम कार्मारोंगस्थित पुअ गाउँका छेवांग लामाका छोराबुहारीसहित चार जनाले यार्सा बेचेर २१ लाख रूपैयाँ कमाएका छन्। यो सिजनमा एक करोड रूपैयाँभन्दा बढी रकम यार्सा बेचेर गाउँमा भित्र्याएको उनले जानकारी दिए।

'भगवानले हाम्रा लागी हिमालमा यार्सा होइन हिरा उमारी दिएका हुन्। यार्सा नभइदिएको भए घर खर्च चलाउने, बालबच्चाको पढाइलगायत अन्य खर्चको जोहो गर्न गाह्रो हुन्थ्यो। यहाँ काम तथा रोजगारी पाउन गाह्रो छ', किम्री गाउँका कार्मा सेराप लामा भने, 'खेतीपाती राम्रो उब्जनी छैन, वर्षेभरि एक बाली उब्जन्छ, आफूजस्ता गरिबका लागि यार्सागुम्बा बरदान साबित भएको छ।'

प्रत्येक वर्ष परिवारका चारसदस्य यार्सा टिप्न पाटन जाने र छ/सात लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए। कोरोनाकालमा दुई वर्ष यार्सा टिप्न नपाउँदा जीविकोपार्जन गर्न निकै कष्ट भएको तीतो व्यथा उनले सुनाए।

'हिमालको हिरा टिप्न सोचेजस्तो सजिलो कहाँ छ र?', मह गाउँका राप्के तामाङले भने, 'हिउँ/पानीसँग खेल्नुपर्ने, चिसोबाट बेचेर भोक, प्यासको पर्वाह नगरी अग्लाअग्ला हिमाल र पाटनहरुमा यार्सा खोज्दै चहार्नुपर्ने हुन्छ। पाटनमा बिरामी भए मर्नुबाहेक विकल्प रहँदैन। यति सहेर यार्सा पाए पनि कहाँ सुख छ र पाटनमा यार्सा लुटेराहरु बन्दुकसहित पुगेका हुन्छन् तिनीहरुबाट बेचेर यार्सा बिक्री गर्नु र पैसा बोकेर सुरक्षित साथ घर पुग्नु भनेको एउटा ठूलै युद्ध जिते जस्तै हो।'

मुगुका माजिंग थान, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, टाँके, रिमाड, हंगदंग खोला, च्यार्कुलेख, छुमुरु, छुंगडुंग, भावर खोला, असी पाटन, नयाँ वन, टांगवाक, झोवा लेख, वांगरी रमाना, धोवार खोला, च्यांगजी लगाएर दुई दर्जनभन्दा बढी पाटनहरुमा यार्सागुम्बा पाइन्छ। 

प्रत्येक वर्ष यार्सा टिप्न जाँदा हिउँ पहिरामा परेर, लेक लागेर र अन्य बिमारी भएर, लुटेरा संकलकबीच झडप हुँदा ज्यानसम्म गुमाउनुपर्ने अवस्था आउने तामाङले बताए। यस वर्ष मात्रै पाटनमा हिउँपहिरा परेर, नदीमा खसेर र बिरामी परेर पाँचजनाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ।

यार्सा टिप्न पाटन जानेसँगबाट प्रवेश शुल्कबापत गाउँपालिकाले ४५ लाख रूपैयाँसम्म राजस्व उठ्ने गरेको मुगुम कार्मारोंग गाउँपालिकाका अध्यक्ष छिरिंग क्याप्ने लामाले बताए। बर्सेनि पाटनहरुमा कोही न कोही यार्सा संकलनको मृत्यु हुने गरेकाले यस वर्षदेखि मृतकका परिवारका भरणपोषणमा सहयोग गर्ने उद्देश्यले पालिकाले प्रवेशबापत उठ्ने शुल्कबाट यार्सा संकलकको पाँच लाख रूपैयाँ बराबरको ‘यार्सा दुर्घटना बीमा’ गरिदिएको उनले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, साउन १२ २०८००८:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend