काठमाडौं- सिटिजन्स इन्टरनेशनल बैंकले गत वर्ष करिब साढे २ अर्ब रुपैयाँ नाफा गरेको छ। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ५६ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकले १०.४१ प्रतिशत बढी नाफा गरेको हो ।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशत बढेर ५ अर्ब ८५ करोड ७२ लाख ७४ हजार रुपैयाँ गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९९ करोड ३४ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १४ रुपैयाँ १२ पैसा रहेको बैंकको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ४७ पैसा बढेर १५ रुपैयाँ ५९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ।
असार मसान्तसम्ममा १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ११ करोड २० लाख रुपैयाँ सञ्चित छ।
सो अवधिसम्ममा बैंकले १ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।