आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

विद्युतीय व्यापार विधेयकले उपभोक्ता र सेवाप्रदायक दुवैलाई संरक्षण गर्छ : मन्त्री रिजाल

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन १० २०८०
विद्युतीय व्यापार विधेयकले उपभोक्ता र सेवाप्रदायक दुवैलाई संरक्षण गर्छ : मन्त्री रिजाल

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० ले उपभोक्ता र सेवा प्रदायक संस्था दुवैलाई संरक्षण गर्ने बताएका छन्। राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आज बसेको ‘विद्युुतीय व्यापार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल’ सम्बन्धी बैठकमा आपूर्तिमन्त्री रिजालले उक्त विधेयक सेवाप्रदायकमैत्री नभएको गुनासोलाई सम्बोधन गर्दै त्यस विषयमा स्पष्ट पारेका हुन्।

'विधेयक उपभोक्तालाई विश्वसनीय बनाउन केन्द्रित छ। विद्युतीय व्यापारबाट ठगिने र ठग्नेलगायत सबैलाई समेट्ने गरी बनेको छ', आपूर्तिमन्त्री रिजालले भने।  विद्युतीय व्यापार गर्न चाहने सेवा प्रदायकलाई समेट्ने गरी तयार गरिएको विधेयकले साना घरेलु व्यापारीलाई मर्कामा नपर्ने उनले जानकारी दिए। 'विधेयकले सूचीकृत विषयलाई मात्र समेटेको छ। टिकटकबाट व्यापार गरिने विषय यस विधेयकले समेटेको छैन। दण्डित गर्नुपर्ने आवश्यक रहेका समयअनुसार कानुनमा समावेश हुन्छ', उनले भने। 

समितिका सभापति जयन्तीदेवी राईले विद्युतीय व्यापारबाट बढी मात्रामा उपभोक्ता मर्कामा परेकाले उपभोक्तालाई विशेष ध्यान दिनुपर्ने बताउँदै विधेयक तीनै तहबीच समन्वयन र सन्तुलित किसिमको हुनुपर्ने बताइन्। सभापति राईले डिजिटल प्रविधिले माग गरेको विधेयकमाथि सरोकारवाला, उपभोक्ता प्रतिनिधि, विज्ञसहित छलफल गरी समितिले दफाबार, विस्तृत छलफल गर्ने जानकारी दिइन्।

समितिका सदस्य डा विमला राई पौडेलले सहजीकरण र व्यवस्थित गर्न विधेयक आवश्यक रहेको तर बढी नियन्त्रणकारी रहेको बताउँदै कुन किसिमको व्यापारमा लागू हुनेबारे स्पष्ट हुनुपर्नेमा जोड दिइन्। 

समितिका सदस्य सुरेशकुमार आलेमगरले विद्युतीय व्यापार व्यवस्थित र विश्वसनीयसँगै प्रभावकारी र उपलब्धिमूलक हुनुपर्नेमा जोड दिए।

बैठकमा समितिका सदस्यले नियमन र नियन्त्रण गर्न खोजिएको विषयबारे आममानिसलाई स्पष्ट गराउनुपर्ने, सामाजिक सञ्जालका विज्ञापनलाई समेट्नुपर्ने, उपभोक्ताका साथै व्यापारमैत्री हुनुपर्ने, प्रतिस्पर्धात्मक बजारमा राष्ट्रिय अर्थतन्त्रलाई उत्साहित हुने गरी विधेयक आउनुपर्ने, दर्ता प्रक्रिया सहजीकरण गर्नुपर्ने, सबै पक्षको स्वामित्व जोडिनुपर्ने, विद्युतीय व्यापारको परिभाषामा स्पष्ट हुनुपर्ने, अनुचित व्यापार, व्यवसायबारे स्पष्टरुपमा उल्लेख गर्नुपर्नेलगायत विषय छलफलमा उठान गरेका थिए। रासस


प्रकाशित : बुधबार, साउन १० २०८०१३:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend