आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै

images
बुधबार, साउन १० २०८०
images
अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै

निर्माण कम्पनीले २०७९ पुस २५ गते अस्पताल भवन निर्माण सम्झौता गरेको थियो। १६ करोड ७१ लाख ५८ हजार रुपैयाँको लागतमा निर्माण हुने भवन तीन तलाको हुनेछ।

images
images

कमलामाई- स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन्। संघीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो। 

images
images
images

मरिण गाउँपालिका-७ महेश्वतामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि मंगलबार शिलान्यास गरिएको छ। सांसद लेखनाथ दाहालले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरे। आगामी आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्ममा सक्ने गरी स्काइ विल्डर्स प्रालिले भवन निर्माणको जिम्मा लिएको छ।

images
images

निर्माण कम्पनीले २०७९ पुस २५ गते अस्पताल भवन निर्माण सम्झौता गरेको थियो। १६ करोड ७१ लाख ५८ हजार रुपैयाँको लागतमा निर्माण हुने भवन तीन तलाको हुनेछ। उक्त लागत बजेट संघीय सरकारले उपलब्ध गराएको हो। चार हजार सात सय ४० दशमलव ८४ वर्गमिटर क्षेत्रफलमा अस्पताल निर्माण कार्य अगाडि बढेको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताए। 

images
images

सात वडा रहेको मरिणमा छ सामुदायिक स्वास्थ्य एकाइ, दुई स्वास्थ्यचौकी, एक-एक प्रथामिक स्वास्थ्य केन्द्र र आयुर्वेदिक औषधालय छन्। मरिण-६ छापस्थित पाँच शय्याको अस्पताल भवनबाट १५ शय्याकै स्वास्थ्य सेवा कठिनपूर्वक प्रदान हुँदै आएको थियो। अब १५ शय्याकै अस्पताल भवन निर्माण हुने भएपछि मरिणवासीले स्वास्थ्य सेवा सहजरूपमा पाउने मरिण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले बताए।  

यसैगरी जग्गा विवादका कारण दुई वर्षदेखि १५ शय्याको अस्पताल भवन निर्माणको काम रोकिएको सुनकोशी गाउँपालिकामा अहिले निर्माण प्रक्रिया अगाडि बढेको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश झाले जानकारी दिए। सात वडा रहेको सुनकोशीमा ११ स्वास्थ्य संस्था छन्। अब दुई सामुदायिक स्वास्थ्य एकाइ थप गर्नुका साथै १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरी सेवा विस्तार गरेर स्वास्थ्य सेवा प्रभावकारी बनाउन खोजिएको उनले बताए।   

यसैगरी गोलञ्जोर गाउँपालिकामा पनि यस वर्ष आधारभूत अस्पताल निर्माणका लागि संघीय सरकारबाट बजेट प्राप्त भएपछि कार्यपालिकाको बैठकपछि निर्माण प्रक्रिया अगाडि बढाइने स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र पैकराले जानकारी दिए। 

फिक्कल गाउँपालिका-३ चनौटेमा १० शय्याको अस्पताल भवन निर्माणाधीन छ। दुई वर्षअघि निर्माण सुरु भएको उक्त भवनको ८० प्रतिशत काम सकिएको स्वास्थ्य शाखा प्रमुख लेखनाथ फुँयालले बताए। निर्माणको काम सम्पन्न गर्न यस वर्ष ९० लाख रुपैयाँ बजेट थप भएर आएको उनले सुनाए। छ वडा रहेको फिक्कलमा छ स्वास्थ्यचौकी र १० सामुदायिक स्वास्थ्य एकाइ छन्। हालसम्म उक्त गाउँपालिकामा दक्ष चिकित्सकसहितको अस्पताल नहुँदा बिरामीले भरपर्दो उपचारका लागि अन्यत्र धाउनु परिरहेको छ।

यसैगरी हरिहरपुरगढी गाउँपालिका-२ रतनपुरमा १५ शय्याको आधारभूत अस्पताल निर्माणाधीन छ। सिर्नजी राजदेवी भक्त आरपी जेभीले निर्माणको जिम्मा लिएको छ। आठ वडा रहेको हरिहरपुरगढीमा चार स्वास्थ्यचौकी, पाँच सामुदायिक स्वास्थ्य एकाइ र चार आधारभूत केन्द्र छन्। यी नामका मात्रै स्वास्थ्य संस्था छन्। राम्रो उपचार गर्न बिरामीलाई अस्पताल खोज्दै अन्यत्र जानुपर्ने अवस्था छ। पालिकाले आफ्ना नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दिन १५ शय्याको अस्पताल बनाउन सुरु गरेको छ। 

दुधौली नगरपालिका-५ सिर्थौलीमा १५ शय्याको अस्पताल निर्माणाधीन छ। अस्पताल निर्माणकार्य अन्तिम चरणमा पुगेको स्वास्थ्य शाखा प्रमुख जगदीश मण्डलले बताए। 'अस्पताल भवन निर्माण पूरा गरेर अबको एक महिनाभित्र सञ्चालनमा ल्याउने योजना छ', उनले भने। संघीय सरकारको १६ करोड रुपैयाँ लागतमा अस्पताल निर्माण भइरहेको छ। यहाँ हाल १६ स्वास्थ्य संस्थामार्फत सेवा प्रदान गरिँदै आएको छ। तर भरपर्दो सेवा नहुँदा बिरामीले अन्यत्र धाउनुपर्ने बाध्यता छ।
 
घ्याङलेख गाउँपालिका-३ सोलाभञ्याङमा डिपिआर भएको वर्ष दिन बितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन। जग्गा विवादका कारण रोकिएको निर्माणकार्य चाँडै सुल्झाएर निर्माण अगाडि बढाइने पालिकाले जनाएको छ। पाँच वडा रहेको दुर्गम पालिकामा पाँच स्वास्थ्यचौकी र पाँच सामुदायिक स्वास्थ्य एकाइ छन्। पन्ध्र शय्याको अस्पताल निर्माण भएर प्रभावकारीरूपमा सञ्चालनमा आए सामान्य बिरामी हुँदा पनि सदरमुकाम धाउन नपर्ने स्थानीयवासी बताउँछन्। 

सिन्धुलीकै सबैभन्दा ठूलो सिन्धुली अस्पताल जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकामा छ। यहाँ सात स्वस्थ्यचौकी र नौ आभारभूत स्वास्थ्य केन्द्र छन्। जिल्लामा सञ्चालनमा रहेकै अस्पताल तथा स्वास्थ्य संस्थाले पनि सहजरूपमा गुणस्तरीय सेवा दिन सकेका छैनन्।

सामान्य बिरामी हुँदासमेत अन्य सहरका स्वास्थ्य संस्था तथा अस्पताल धाउनुपरेको स्थानीयवासीको गुनासो छ। सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्था आवश्यकताअनुरुको बजेट, पर्याप्त दक्ष जनशक्ति तथा औषधि र उपकरणको अभावैअभावमा जेलिएका छन्। भवन बनाएर मात्र स्वास्थ्य सेवा उपलब्ध नहुने स्थानीयको गुनासो छ। रासस


प्रकाशित : बुधबार, साउन १० २०८००६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend