आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

ज्येष्ठ नागरिक भन्छन् - 'भत्ता नै बुढेसकालको सहारा'

images
मंगलबार, साउन ९ २०८०
images
ज्येष्ठ नागरिक भन्छन् - 'भत्ता नै बुढेसकालको सहारा'

राज्यले ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक चार हजार, ६० वर्ष उमेर कटेका दलित ज्येष्ठ नागरिक र कर्णाली प्रदेशकालाई मासिक दुई हजार छ सय ६०, एकल महिला र विधुवालाई मासिक दुई हजार ६६० रूपैयाँ उपलब्ध गराउँदै आएको छ।

images
images

तनहुँ- 'कान्छो छोरा अमृत चितौन बस्छ, सधैँ उतै बस्न जाम आमा भनेर हत्ते गर्‍यो र गएँ पनि,' भानु नगरपालिका-१३ पोखरी छापकी ७२ वर्षीया धनमाया गुरुङले भनिन्, 'तर झलझली गाउँको हावापानी सम्झिएँ, बस्नै सकिन र मेरै भत्ताले पालिन्छु भनेर गाउँ फर्किएँ।' भानु नगरपालिका-१३ को कार्यालयमा ज्येष्ठ नागरिक भत्ता नवीकरण गर्न स्वयं उपस्थित हुने क्रममा धनमायाले दुईवर्ष पहिलेको अनुभव सुनाएकी हुन्।

images
images
images

उनीजस्तै अन्य ज्येष्ठ नागरिकले समेत ज्येष्ठ नागरिक भत्ता आफूहरुको बुढेसकालको दिगो सहारा भएको बताए। छोरासँगै बस्न भनेर दुई वर्ष पहिले भरतपुर गए पनि एक महिना बस्दैमा आत्तिएर गाउँ फर्किएको धनमायाको अनुभव छ। प्रचण्ड गर्मी र पानीको नमिठो स्वादले अत्तिएर गाउँ फर्किएको उनले बताइन्।

images
images

'रातभरी पंखा लगाए पनि बानी नपरेकाले चितवनमा तातो हावाले गर्दा सुत्नै नसकेर खुबै आत्तिएँ,’ धनमायाले भनिन्, 'गाउँमा भने पंखा नै चाहिँदैन। अहिले पनि कम्बल ओडेर सुत्ने गर्छौँ।'

images
images

म्याग्दे गाउँपालिका-६ की ७३ वर्षीया राममाया परियारले आफ्ना तीन छोराले बेवास्ता गरेपछि आफू राज्यले दिने भत्ताकै भरमा एक्लै बस्दै आएको गुनासो गरिन्। उनको श्रीमान् तिलबहादुरको ७५ वर्षको उमेरमा दुई वर्ष पहिले मृत्यु भएको थियो। विवाह भइसकेका तीन छोरीले आफूहरुसँग बस्न भने पनि एक्लै बसेर बाँकी जीवान धानेको परियारले बताइन्।

‘श्रीमान् खसेपछि छोराहरुले वास्ता नै गरेनन्। छोरीहरुले हामी पाल्छौँ भनेर हत्ते गरे पनि बुढाको चिनो घर छाड्न मनले मानेन,’ उनले भनिन्, 'त्यसैले भत्ताकै भरमा धानिँदै आएकी छु।'

आफू र श्रीमती शिरमायालाई ज्येष्ठ नागरिक भत्ताले ठूलो राहत मिलेको म्याग्दे गाउँपालिका-४ का ७६ वर्षीय नरबहादुर थापामगरले बताए। दुई छोराले थर्पु बेँसीमा घर बनाएर बसे पनि आफूहरुले मूल घर नछाडेको उनले बताए। 'भत्ताले गर्दा बुढाबुढीले भनेजस्तो खाएकै छौँ। मन परेको लाएकै छौंँ', उनले भने, 'हामी बुढाबुढीलाई भत्ता नै ठूलो सहारा भएको छ।'

म्याग्दे-४ थर्पुस्थित ज्योति विकास बैंकमा सोमबार भेटिएका नरबहादुर दम्पत्तिले राज्यले भत्ता नदिए जीवन धान्न सास्ती पर्नेसमेत बताए। घरबाट करिब एक घण्टाको बाटो सवारीसाधनमा आउनुपर्दा आफूहरुलाई सास्ती भएको र राज्यले ज्येष्ठ नागरिक र अशक्तलाई घरमै पुगेर रकम दिने व्यवस्था गर्नुपर्नेमा नरबहादुरले जोड दिए।

आफूले पाउँदै आएको भत्ता रकमसमेत घरखर्च र परिवारको औषधि उपचारमा खर्च गर्दै आएको म्याग्दे- २ थुम्कीबाट भत्ता लिन बैंकमा आएकी ७३ वर्षीया जुठी कामीको भनाइ थियो। दुई छोरीको विवाह भइसकेको र एक छोरा ५७ वर्षीय धनसिं रोगी भएको जुठीले बताइन्। 'यो पैसा निकालेपछि भोलि नै छोरालाई लिएर जचाउन पोखरा जाने विचारमा छु,’ उनले भनिन्, 'भत्ता रकम नपाइदो हो त हामी गरिब त्यसै मर्ने थियौंँ। यही रकमले औषधि उपचार पनि गर्न पाइएको छ।'

राज्यले ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक चार हजार, ६० वर्ष उमेर कटेका दलित ज्येष्ठ नागरिक र कर्णाली प्रदेशकालाई मासिक दुई हजार छ सय ६०, एकल महिला र विधुवालाई मासिक दुई हजार ६६०, पूर्ण अपांगता भएकालाई मासिक तीन हजार नौ सय ९०, अतिअशक्त अपांगता भएकालाई दुई हजार एक सय २८, लोपोन्मुख आदिवासी जनजातिलाई मासिक तीन हजार नौ सय ९० र दलित बालबालिकालाई मासिक पाँच सय ३२ रूपैयाँ राज्यले उपलब्ध गराउँदै आएको छ।

प्रत्येक तीन महिनामा राज्यले बैंकमा भत्ता रकम उपलब्ध गराउने गर्दछ। सामाजिक सुरक्षाभत्ता वितरण कार्यविधिअनुसार साउन महिनामा नवीकरण गरिसक्नुपर्ने गरी राज्यले सूचना प्रवाह गरिसकेको स्थानीय पालिकाहरुले जनाए। रासस


प्रकाशित : मंगलबार, साउन ९ २०८०११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend