आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

बाढीबाट हुने क्षति न्यूनीकरणमा जुटे कञ्चनपुरका स्थानीय तह

images
मंगलबार, साउन ९ २०८०
images
बाढीबाट हुने क्षति न्यूनीकरणमा जुटे कञ्चनपुरका स्थानीय तह

बाढीजन्य प्रकोपबाट बर्सेनि कञ्चनपुरमा झन्डै २० हजार बढी घरधुरी प्रभावित हुने गरेका छन्।

images
images

कञ्चनपुर- बाढीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि कञ्चनपुरका स्थानीय तह पूर्वतयारीमा जुटेका छन्। 

images
images
images

यसका लागि गैरसरकारी संस्थाको समन्वयमा समुदायमा आधारित बाढी पूर्वतयारीका लागि यहाँका स्थानीय तहले कृत्रिम घटना नमूना अभ्यासलगायतका कार्यक्रमलाई अगाडि बढाएका छन्। बाढी आउनुपूर्व अपनाउनुपर्ने सावधानी, बाढी आइसकेपछि अपनाउने क्रियाकलापसँगै बाढीपश्चात गर्नुपर्ने कार्यबारे स्थानीय समुदायलाई जानकारी दिन थालेका हुन्।

images
images

'विसं २०६५ मा ठूलो बाढी आयो, पूर्वसावधानी अपनाउन नसक्दा निकै ठूलो धनजनको क्षति भयो', शुक्लाफाँटा नगरपालिका विपद् शाखाका प्रमुख कृष्णदत्त भट्टले भने, 'यति ठूलो बाढी आउला भनेर कसैले कल्पना गरेकै थिएनन्, विपद् पूर्वजानकारी दिएर नआउने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत पार्ने कार्यमा जुटेका छौँ।'

images
images

पुर्नवास नगरपालिका वातावरण तथा विपद् शाखाका प्रमुख ओमनाथ ढकाल बाढीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि सचेतना अभियान थालिएको जानकारी दिए। 'गत वर्ष बाढी आउँदा नगरपालिकाका वडा नं २, ५ र १० का बासिन्दा निकै प्रभावित भए, बाढीजन्य प्रकोपबाट बच्नका लागि तयारी पुगेको थिएन', उनले भने, 'पूर्वतयारी नहुँदा दोदा नदीको बाढी बस्तीमा पस्दा डुबानको समस्या सिर्जना भयो, जसबाट स्थानीय बासिन्दाले खाद्यान्न, लत्ताकपडा र भौतिक पूर्वाधारमा क्षति बेहोर्नुपर्‍यो।'

विगतको बाढीजन्य प्रकोपबाट पाठ सिक्दै सचेतनासँगै नगरस्तरीय विपद् व्यवस्थापन समितिका कार्यदलका सदस्यलाई बाढी पूर्वतयारीका अभ्यास गराइएको उनको भनाइ छ। उनका अनुसार नगरपालिकाले यसवर्ष बाढीजन्य प्रकोपमा फसेका व्यक्तिको उद्धार गर्न मोटरबोट खरिद गरेको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर र मर्सिकोरको साझेदारीमा सञ्चालित एमरेड परियोजनाले बाढीजन्य प्रकोप न्यूनीकरणको पूर्वतयारीमा स्थानीय तहसँग समन्वय गरी कार्य गरिरहेको छ। विपद् व्यवस्थापनका लागि परियोजनाअन्तर्गत आवश्यक सामग्री उपलब्ध गराइएको छ।

बाढीजन्य प्रकोपबाट स्थानीय बासिन्दाको जीउधनको सुरक्षाका लागि पूर्वसूचना कार्यदल, प्राथमिक उपचार कार्यदल र खोज तथा उद्धार कार्यदलका सदस्यको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम दिने गरिएको परियोजनाका संयोजक महेश घिमिरेले बताए।

बाढीजन्य प्रकोपबाट बर्सेनि हुँदै आएको मानवीय क्षति न्यूनीकरणका लागि समुदायलाई बलियो बनाउन पूर्वतयारी गर्नु आवश्यक रहेको विपद्का क्षेत्रमा लामो समयदेखि क्रियाशील जनक लेखकको भनाइ छ। 'स्थानीयस्तरमा गठन भएका कार्यदलको क्षमता परीक्षण गर्नका लागि नमूना कृत्रिम अभ्यास सकारात्मक छ, यसले बाढीजन्य प्रकोपबाट हुने धनजनको क्षति न्यूनीकरणमा सघाउ पुर्याउँछ', उनले भने, 'कार्यदलका सदस्यको कमी-कमजोरी पत्ता लगाई सक्षम बनाउने कार्यसँगै स्थानीय समुदालाई बाढीजन्य प्रकोपसँग लड्नका लागि सक्षम बनाउँछ।'

उनका अनुसार हालसम्म पुर्नवास नगरपालिकाका नौ र शुक्लाफाँटा नगरपालिकाका दुई गरी ११ समुदायमा बाढी पूर्वतयारीका लागि कृत्रिम घटना नमूना अभ्यासको कार्य गरिएको छ। 

'बाढीजन्य प्रकोपबाट बच्ने उपायबारे जानकार नहुँदा डुबानमा पर्दा मात्रै सुरक्षित स्थानतर्फ जाने गरेका थियौँ', पुर्नवास नगरपालिका पदम परियारले भने, 'नगरपालिकाले थालेको सचेतना अभियानले बाढीजन्य प्रकोपबारे जानकार भएका छौँ, आपत्कालीन सञ्चालन केन्द्रसँग समन्वय गरी बाढीजन्य प्रकोपबारे जानकारी लिन्छौँ, नदीको पानी खतरा तह पार गर्नअघि नै सुरक्षित स्थानमा जाने गरेका छौँ, यसबाट मानवीय क्षति हुन पाएको छैन।'

बाढीजन्य प्रकोपबाट बर्सेनि कञ्चनपुरमा झन्डै २० हजार बढी घरधुरी प्रभावित हुने गरेका छन्। रासस


प्रकाशित : मंगलबार, साउन ९ २०८००६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend