मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सवारी आयात ९९ अर्बबाट ६० अर्बमा सीमित, राजस्व ४२ प्रतिशतले घट्यो

सोमबार, साउन ८ २०८०
सवारी आयात ९९ अर्बबाट ६० अर्बमा सीमित, राजस्व ४२ प्रतिशतले घट्यो

आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० सवारी तथा सवारीजन्य पार्टपुर्जाको आयातमा ३९.४० प्रतिशतले गिरावट आएको हो।  

काठमाडौं- गत आर्थिक वर्षमा सवारी तथा सवारीजन्य पार्टपुर्जाको आयातमा उल्लेख्य गिरावट आएको छ। भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा सवारी तथा सवारीजन्य पार्टपुर्जाको आयात ३९.४० प्रतिशतले घटेको हो। 

त्यस्तै सरकारले सवारी आयातबाट गर्ने आम्दानी पनि उल्लेख्य रुपमा घटेको छ। २०७८/७९ को तुलनामा गत आर्थिक वर्षमा सवारी तथा सवारीजन्य पार्टपुर्जाको आयातबाट गर्ने राजस्व आम्दानी ४२ प्रतिशतले घटेको हो। 

आर्थिक वर्ष २०७८/७९ मा ९९ अर्ब ४२ करोड ९५ लाख ५० हजार रूपैयाँ बराबरको सवारी तथा सवारीजन्य पार्टपुर्जा आयात भएको थियो। सोही वर्ष सवारी तथा सवारीजन्य पार्टपुजा आयातबाट राज्यले ९० अर्ब ५ करोड ४७ लाख ५१ हजार रूपैयाँ राजस्व आम्दानी गरेको थियो। 

आर्थिक वर्ष २०७९/८० मा सवारी आयात उल्लेख्य रुपमा घटेको हो। यसको मुख्य कारण विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी आयातमा प्रतिबन्ध लगाएको थियो। 

आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० सवारी तथा सवारीजन्य पार्टपुर्जाको आयातमा ३९.४० प्रतिशतले गिरावट आएको हो। आव २०७९/८० मा ६० अर्ब २४ करोड ४५ लाख ७६ हजार रूपैयाँ बराबरको सवारी तथा सवारीजन्य पार्टपुर्जा आयात भएको थियो। सो वर्ष सवारी तथा सवारीजन्य पार्टपुर्जाको आयातबाट सरकारले ५१ अर्ब ९६ करोड ८५ लाख १५ रूपैयाँ राजस्व आम्दानी गरेको थियो। 

उल्लेखित तथ्यांकमा पेट्रोलियम सवारी, विद्युतीय सवारी, दुई पांग्रे सवारी तथा तिनमा लाग्ने पार्टपुर्जालगायत सबैको तथ्यांक समावेश गरिएको छ। गत आर्थिक वर्षमा विद्युतीय सवारीको आयात उल्लेख्य रुपमा बढेपनि पेट्रोलियम सवारी, मोटरसाइकल तथा स्कुटर, स्पेयर पार्ट सबैको आयात घटेको हो। 


प्रकाशित : सोमबार, साउन ८ २०८०१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend