मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

एक वर्षमा भित्रिए ४ हजार ५० विद्युतीय कार, दोबरले बढ्यो आयात

सोमबार, साउन ८ २०८०
एक वर्षमा भित्रिए ४ हजार ५० विद्युतीय कार, दोबरले बढ्यो आयात

चालु आर्थिक वर्षको बजेट आउनु पूर्वको जेठ महिनामा मात्र ९ सय १५ वटा विद्युतीय कार नेपाल भित्रिएको थियो। 

काठमाडौं- गत आर्थिक वर्ष २०७९/०८० मा ४ हजार ५० वटा विद्युतीय कार नेपाल भित्रिएका छन्। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा विद्युतीय कारको आयात उल्लेख्य रुपमा बढेको हो। 

आर्थिक वर्ष २०७८/७९ मा १८ सय ७ वटा विद्युतीय कार आयात भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा भने २ सय ४९ वटा मात्र विद्युतीय कार आयात भएको भन्सारको तथ्यांक छ। 

गत आर्थिक वर्षमा ११ अर्ब ८४ करोड ८ लाख ९५ हजार रुपैयाँ बराबरका ४ हजार ५० वटा विद्युतीय कार आयात भएका हुन्। उक्त कार आयातबाट सरकारले ३ अर्ब ३० करोड ४४ लाख ८७ हजार रुपैयाँ राजस्व आम्दानी गरेको थियो। 

चालु आर्थिक वर्षको बजेट आउनुपूर्वको जेठ महिनामा मात्र ९ सय १५ वटा विद्युतीय कार नेपाल भित्रिएको थियो। 

सरकारले आर्थिक वर्ष २०७९/८० मा १ सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कारको कर बढाएको थिएन। त्योभन्दा बढी मोटर क्षमता भएका विद्युतीय कारको कर बढाएको थियो।

सरकारले विद्युतीय कारमा कर बढाउँदै छ भन्ने व्यापक भएपछि सवारी आयातकर्ताहरुले जेठ १४ अघि ठूलै संख्यामा विद्युतीय कार ल्याएका थिए। तथापी अघिकांश विद्युतीय कारको एलसी भने चैतमै खोलिसकिएको थियो। 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा किलोवाट क्षमताअनुसारको संख्यामा ११ महिनाको तुलनामा तलमाथि परेको छ। जेठ १५ मा आएको चालु आर्थिक वर्षको बजेटबाट विद्युतीय कारको कर बढ्नुका साथै ५० किलोवाटसम्मको नयाँ ब्रेकडाउन गरिएको थियो। 

त्यसअघि १ सय किलोवाटसम्मको एउटा वर्ग रहेकोमा चालु आर्थिक वर्षको बजेटसँगै शून्यदेखि ५० किलोवाट र ५१ देखि १ सय किलोवाटसम्मको वर्गीकरण थपिएको हो। त्यसैले वर्गीकरणअनुसारको तथ्यांकमा भने बेमेल देखिएको भन्सार विभागले जनाएको छ। 


प्रकाशित : सोमबार, साउन ८ २०८०१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend