आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सुदूरपश्चिममा एक वर्षमा दुईसय ४९ सवारी दुर्घटना, १७७ जनाको मृत्यु

images
आइतबार, साउन ७ २०८०
images
सुदूरपश्चिममा एक वर्षमा दुईसय ४९ सवारी दुर्घटना, १७७ जनाको मृत्यु

दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु, सवारी साधानको चाप बढ्दै जानु, यात्रु र चालकको दुवैको लापरबाही बढ्नु र सडकको अवस्थालगायत रहेको ट्राफिक प्रहरीको भनाइ छ।

images
images

बैतडी- सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा दुई सय ४९ सवारी साधन दुर्घटनामा परेका छन्। आव २०७८/७९ भन्दा आव २०७९/८० मा आधाभन्दा कम दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ।

images
images
images

आर्थिक वर्ष २०७८/७९ मा यहाँ पाँच सय एक सवारी साधन दुर्घटनामा परेकामा गत आवमा घटेर दुई सय ४९ पुगेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा नायब प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। यस्तै आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ५८ सवारी साधन दुर्घटनामा परेका थिए।

images
images

सवारी दुर्घटना कमी भएसँगै अंगभंग र मृत्यु हुनेको संख्या पनि घटेको छ। आव २०७९/८० मा यहाँ दुईसय ४९ सवारी साधन दुर्घटनामा परेर एक सय ७७ जनाको मृत्यु भएको र चार सयजना ६३ घाइते भएका थिए।  

images
images

आव २०७८/७९ मा पाँच सय एक सवारी साधनको दुर्घटनामा एक सय ९६ जनाले ज्यान गुमाएका थिए। आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ५८ सवारी साधनको दुर्घटनामा एकसय ८६ जनाको मृत्यु भएको र सयौँ अंगभंग भएका थिए।

ट्राफिक प्रहरीको सक्रियताले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रहरी नायब उपरीक्षक गिरीको जिकिर थियो। उनले भने, 'ट्राफिक प्रहरी सडकमा बढी खटिएकोले सवारी दुर्घटनामा कमी आएको हो। हामीले गरेको जनचेतनामूलक कार्यक्रम पनि फलदायी भएको छ।'

गत आवमा प्रदेशभरी चार हजार ६३ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका थिए। जुन अघिल्लो वर्षको तुलनामा तीन हजारले बढी रहेको छ। अघिल्लो आवमा एक हजार मात्रै जनचेतनामूलक कार्यक्रम गरिएको थियो। प्रहरी नायब उपरीक्षक गिरीले भन्नुभयो,'हामीले दुर्घटना न्यूनीकरणकै लागि भनेर एक वर्षमा चारहजार बढी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्‍यौँ, त्यसले पनि दुर्घटना कम भएको हामीले महसुस गरेका छौँ।' सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम बस दुर्घटनामा परेका थिए।

सवारी साधनको दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के चेकजाँच, टाइम कार्डदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास गरिरहेको उनको भनाइ थियो। दुर्घटना न्यूनीकरणका लागि विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम र यातायात व्यवसायी र चालकलाई समेत बेलाबेलामा सचेत गराउने कार्य पनि प्रहरीले गरेको छ। प्रहरी नायब उपरीक्षक गिरीले भन‍, 'नियमित जाँचसँगै जनचेतनामूलक सन्देश पनि दिँदै आएका छौँ, प्रदेशभरी विभिन्न सडकखण्डमा सचेतनामूलक होडिङ बोर्ड राखेका छौँं, चालकसँग एक मिनेट कार्यक्रम पनि सञ्चालनमा छ।'

दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु, सवारी साधानको चाप बढ्दै जानु, यात्रु र चालकको दुवैको लापरबाही बढ्नु र सडकको अवस्थालगायत कारण रहेका छन्। दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधार सुधारको खाँचो रहेको उनले बताए।

कारबाहीबाट साढे ६ करोड संकलन 

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा सवारी साधनका चालकलाई गरिएको कारबाहीबाट करिब साढे छ करोड राजस्व संकलन भएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख गिरीका अनुसार आर्थिक वर्ष २०७९/८० मा सवारी साधनका चालकलाई गरिएको कारबाहीबाट छ करोड ४२ लाख १२ हजार राजस्व संकलन भएको हो। सो रकम आर्थिक वर्ष २०७८/७९ भन्दा एक करोडले बढी हो। उक्त आर्थिक वर्ष पाँच करोड ४१ लाख ९४ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

प्रदेशमा गत आवमा १५ हजार नौ सय ६० नयाँ सवारीसाधन दर्ता समेत भएका थिए। सवारीसाधन थपिँदै गए पनि ट्राफिक प्रहरीको उपस्थिति बढी हुनाले राजस्व संकलन बढेको जनाइएको छ।  

सुदूरपश्चिममा एकसय ८८ जनाको दरबन्दी रहेकामा हाल दुई सय ६३ ट्राफिक प्रहरी कार्यरत छन्। प्रदेशभरिका नौ जिल्लामा गरेर ५५ वटा ट्राफिक इकाइ छन्।

यस प्रदेशको कैलाली, कञ्चनपुर र डोटीमा चालु आर्थिक वर्षदेखि ट्राफिक भोइलेन्स रेकर्ड सिस्टम (टीभीआरएस) प्रणाली लागु गरिएको छ। सवारी नियम उल्लंघनका कसुरको जरिवानाबापत रकम बैंकिङ प्रणालीबाट भुक्तानी गर्न यो प्रणाली लागु गरिएको प्रमुख गिरीको भनाइ थियो। उक्त प्रणालीका आधारमा कारबाही कारबाही हुनाका साथै सवारी नियम उल्लंघनको विवरण, सवारी चालक अनुमतिपत्र नवीकरणको विवरण, कारबाहीमा परेको विवरण देशभरबाटै हेर्न सकिने जनाइएको छ। रासस


प्रकाशित : आइतबार, साउन ७ २०८००९:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend