काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा प्रदेश तथा स्थानीय सरकारको मौज्दातमा पनि ह्रास आएको छ। अघिल्लो आर्थिक वर्षमा संघीय सरकारको सञ्चित कोष घाटामा जाँदा पनि कूल सरकारी मौज्दात २ खर्ब २७ अर्ब रहेको थियो।
आर्थिक वर्ष २०७९/८० को अन्तिमसम्म कूल सरकारी मौज्दात ४५ अर्ब ११ करोड ५७ लाख २२ हजार ७०५ रुपैयाँमा सीमित भएको छ।
संघीय सरकारको राजस्व संकलनमा कमी आउँदा प्रदेश तथा स्थानीय तहमा जाने अनुदानसँगै राजस्व बाँडफाँटमा पनि घटेको थियो। संघीय सरकारले अन्तिम किस्ताको अनुदानमा कटौति गरेको थियो।
संघीय सरकारको अनुदान दिए पनि खर्च नहुँदा प्रदेश र स्थानीय तहको कोषमा गएर रकम थुप्रिने हुँदा अघिल्ला वर्षहरूमा कुल सरकारी मौज्दात उच्च रहँदै आएको थियो। गएको वर्ष भने घटेको छ।
आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारको सञ्चित कोष १ खर्ब ४० अर्बले घाटामा गएको थियो। अघिल्लो वर्ष ५३ अर्बले घाटामा थियो।
२०७९/८० मा मुद्रा प्रचलन १३ अर्ब थपिएको छ। २०७९ को असारमा ६ खर्ब १२ अर्बको मुद्रा प्रचलनमा रहेपनि २०८० को असारसम्म ६ खर्ब २५ अर्ब पुगेको छ।