काठमाडौं- सरकारले काभ्रेमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने तयारी तीब्रताका साथ अगाडि बढाएको छ। प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण लागि वन तथा वातावरण मन्त्रालय वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरेको छ।
नेपाल पुलिस एकेडेमीले तयार पारेको रिपोर्ट गृह मन्त्रालय मार्फत वन तथा वातावरण मन्त्रालयमा पेस भएको हो। रिपोर्टमा प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि ८७९१.३८ मिलियन अर्थात ८ अर्ब ७९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
सन् १९५६ मा प्रहरी हवल्दारहरूलाई तालिम दिने जिम्मेवारीका साथ केन्द्रीय प्रहरी प्रशिक्षण केन्द्रको रूपमा स्थापना गरिएको संस्थानै सन् १९९३ देखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको रुपमा परिचित छ। मुलुकको सर्वोच्च प्रहरी प्रशिक्षण केन्द्र हो जस्ले देशभित्रका समग्र नेपाल प्रहरीको मानव संशाधन विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रहरी अधिकृतहरूको लागि आधारभूत र विशिस्ट प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्न पूर्ण रूपमा जिम्मेवार रहँदै आएको छ। यो संस्था निरन्तर रूपमा वैज्ञानिक विधिहरू र नविनतम् प्रविधिहरु आत्मसात गरी प्रहरीहरुको संस्थागत विकास कायम गर्न तल्लिन रहेको छ। यसका साथै प्रशासनिक अभ्यासहरूको सुधार, दक्ष प्रशिक्षकहरू र प्रहरी कर्मचारीहरुको व्यसायिक दक्षतामा निखारता ल्याउनको लागि केन्द्रित छ।
यसबाहेक, यसले आपराधिक न्याय प्रणालीमा प्रहरीको भूमिका सुधार गर्ने उद्देश्यका साथ मानव संसाधन विकास पक्षहरूमा ध्यान केन्द्रित गर्दछ। काभ्रे पनौती बजार नजिकै नेपाल प्रहरीका अधिकृतहरुलाई विशिस्ट प्रकार तालिम प्रदान गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण गर्ने प्रस्तावको उद्देश्य रहेको छ।
राष्ट्रिष प्रहरी प्रशिक्षण प्रतिष्ठनको भवन पनौता नगरपालिका ६ नम्बर वडामा निर्माण हुने छ। यसका लागि ४१.८६ हेक्टर क्षेत्रफल आवश्यक छ। आयोजनाको भनव निर्माण १,०९, २१५ वर्ग मिटर रहने छ।
निर्माण हुने प्रत्येक भवनसँग रहने पहुँच मार्ग, आपतकालिन सिँढी, आगलागी साइरन प्रणाली, अपाङमैत्री यात्री मार्ग लगायतका संरचना निर्माण हुने छ। प्रतिष्ठानमा ३२ सय २५ जना प्रहरी जवानहरुको बसोबास र १२५ जना पाहुनालाई सेवा दिने रिपोर्टमा उल्लेख छ। प्रतिष्ठान निर्माणका ३ वर्ष लाग्ने छ।